१६ करोडमा सडक निर्माणको ठेक्का लिएका निर्माण व्यावसायी सम्पर्कविहीन

त्रिशूली । सडक निर्माणको जिम्मेवारी लिएर निर्माण व्यवसायी सम्पर्कमा नआएपछि पूर्वाधार विकास कार्यालय नुवाकोटले खोजी थालेको छ ।

जिल्लाको शिवपुरी गाउँपालिका-४ स्थित आइतरामपाटी-पुणीभञ्याङ हुँदै सिक्रे मैदान, तलाखु, छाप सडक स्तरोन्नतिको जिम्मा लिएको केबीएनएस-केबीके जेभीलाई कार्य क्षेत्रमा फर्किएर काम सुरु गर्न कार्यालयले खोजी थालेको हो ।

निर्माणको सम्झौता र सडक शिलान्यास गरेर अहिलेको काम गर्नुपर्ने मुख्य समयमा निर्माण व्यवसायी सम्पर्कमा नआएपछि कार्यतालिका अनुसार काम अघि बढाउन पत्राचारमार्फत खोजी थालिएको कार्यालय प्रमुख सुजन थापाले जानकारी दिए ।

उनका अनुसार गत जेठ १७ मा भएको सम्झौता र कात्तिक ६ मा भएको सडक शिलान्यासपश्चात पनि काम नभएपछि निर्माण व्यवसायीलाई कार्यक्षेत्रमा फर्केर कामलाई शीघ्र अघि बढाउन पत्राचार गरिएको छ ।

‘गत आर्थिक वर्षको बहुवर्षीय ठेक्काअनुसार दुई वर्षभित्र सडक स्तरोन्नतिसहित कालोपत्र गर्न ठेक्का लगाइएको हो,’ उनले भने, ‘सम्झौता पश्चात ६ महिनासम्म काम अघि बढाउन निर्माण व्यवसायीले चासो नदिएपछि पुनः दबाब दिने उद्देश्यले गत कात्तिक ६ मा पूर्वअर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशशरण महतमार्फत शिलान्यास गरेर काम गर्न निर्देशन दिए पनि व्यवसायीले अटेर गरेका छन् ।’

२० वर्षअघि ट्रयाक खोलिएको उक्त सडकको करिब ६ किलोमिटर स्तरोन्नतिसहित कालोपत्र गर्न १६ करोड ३० लाख रुपैयाँमा केबीएनएस–केबीके जेभीले ठेक्का लिएको थियो ।

निर्माणको जिम्मा लगाउने समयमा भएको सहमतिअनुसार काम नभएपछि योजना कार्यान्वयनका लागि बजेटको स्रोत सुनिश्चितता गर्ने बागमती प्रदेश सरकारको तर्फबाट मुख्यमन्त्री बहादुरसिंह लामाले निर्माण सुरु गर्न ढिलो नगर्न पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिएका छन् । सोपश्चात कार्यालयले निर्माण व्यावसायीलाई कार्यक्षेत्रमा फर्कन खोजी थालेको हो ।रासस

दोलालघाटमा मोटरबोट संचालन गरिँदै, परीक्षण सफल Read Previous

दोलालघाटमा मोटरबोट संचालन गरिँदै, परीक्षण सफल

१५ अर्ब खर्चेर रातभरी यसरी हुँदैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम Read Next

१५ अर्ब खर्चेर रातभरी यसरी हुँदैछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा काम