काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको ६ वर्षमा कोषमा आबद्ध हुनेको संख्या झण्डै १८ लाख पुगेको छ ।
सामाजिक सुरक्षा कोषमा हालसम्म १९ हजार ७६९ रोजगारदाता र १७ लाख ९७ हजार बढी योगदानकर्ता आबद्ध भएका हुन् ।
२०७५ मंसिर ११ गतेदेखि शुभारम्भ भएको कोषमा हालसम्म ६८ अर्ब ६८ करोड रुपैयाँ संकलन भएको छ । यस अवधिमा ११ अर्ब ६२ करोड दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।
कोषले सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार तथ्यांक सार्वजनिक गर्दै औपचारिकतर्फ ५ लाख ४३ हजार ४९१ जना श्रमिक सूचीकृत भएको उल्लेख गरेको छ । यस्तै, वैदेशिक रोजगारीतर्फ १२ लाख ५३ हजार ६१५, अनौपचारिक क्षेत्रका ३०७ र स्वरोजगार क्षेत्रका २२७ जना आबद्ध भएको कोषले जनाएको छ ।
हालसम्म कोषमा ६८ अर्ब ६८ करोड रुपैयाँ योगदान रकम संकलन भएको छ । औषधी उपचार, स्वास्थ्य तथा मातृत्व तथा आश्रित परिवार सुरक्षा योजनामा ४ अर्ब १४ करोड रुपैयाँ संकलन भएको छ । वृद्ध अवस्था सुरक्षा योजनामा ५५ अर्ब ५७ करोड रुपैयाँ जम्मा भएको छ भने अतिरिक्त योगदानमा १ अर्ब १७ करोड जम्मा भएको छ ।
कोषले श्रमिकका लागि औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजना सञ्चालन गरिरहेको छ । कोषले संचालन गरेका विभिन्न सुविधा योजनाअन्तर्गत हालसम्म १ लाख ८० हजार ९२२ श्रमिकलाई ११ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजना अन्तर्गत कोषले १ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरेको छ ।
यसैगरी दुर्घटना तथा अशक्तता सुरक्षा योजना बापत कोषले १५ करोड २० लाख रुपैयाँ, आश्रित परिवार सुरक्षा योजना वापत १८ करोड ५५ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, वृद्ध अवस्था सुरक्षा योजना बापत कोषले ९ अर्ब ८० करोड रुपैयाँ भुक्तानी गरेको छ ।
सामाजिक सुरक्षा सुविधा लागि रोजगारदाताले २० र श्रमिकको पारिश्रमिकबाट ११ प्रतिशत गरी कुल ३१ प्रतिशत रकम मासिक रुपमा कोषका जम्मा गर्नुपर्नेछ ।