गण्डकी प्रदेशमामा कृषि भूमि ७.७ प्रतिशतले घट्यो

काठमाडौं । गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैङ्कले गरेको १ अध्ययनमा पाइएको छ । केन्द्रीय बैङ्कले सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०/८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब ७.७ प्रतिशतले घटेको उल्लेख छ ।

अध्ययनअनुसार सो प्रदेशमा  ४ लाख ३७ हजार ९७२ हेक्टर मात्रै कृषि बालीले ढाकेको क्षेत्र रहेको उल्लेख छ । त्यसमा तरकारीखेतीले ढाकेको क्षेत्रफल भने २.०७ प्रतिशतले वृद्धि भएको छ । अत्याधुनिक खेती प्रणालीका कारण उत्पादनमा केही बढोत्तरी भएको अध्ययनले देखाएको छ ।

त्यस्तै, मसला, फलफूलखेती र खाद्य, नगदे तथा अन्य बालीले ढाकेको क्षेत्रफल क्रमशः ०.४१ प्रतिशत, ८.२३ प्रतिशत र ८.३८ प्रतिशतले कमी आएको छ ।

प्रमुख कृषि बालीको उत्पादनमा भने ४.७७ प्रतिशतले वृद्धि भएको उक्त अध्ययनमा उल्लेख छ । खाद्य तथा अन्य बालीको उत्पादनमा ४.७१ प्रतिशत, तरकारी उत्पादनमा ५.४४ प्रतिशत, फलफूल उत्पादनमा ३.८० प्रतिशत र मसला उत्पादनमा ४.५२ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा वर्षमा पशुजन्य उत्पादनतर्फ दूधको उत्पादन ३.३८ प्रतिशत, अण्डाको उत्पादन १५.२९ प्रतिशत र मासुको उत्पादन १ प्रतिशतले ह्रास आएको छभने माछाको उत्पादनमा ४.९९ प्रतिशतले वृद्धि भएको छ ।

वनजन्य उत्पादनतर्फ काठको उत्पादनमा २६.१९ प्रतिशतले वृद्धि भएको छ भने दाउरा उत्पादनमा ३.१४ प्रतिशतले कमी आएको छ । सो प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाहरुले कृषि, वन र माछापालन क्षेत्रमा रु २८ अर्ब ४० करोड कर्जा लगानी गरेका छन् । यो रकम यस प्रदेशमा प्रवाहित कुल कर्जाको ८.१४ प्रतिशत रहेको छ ।

त्यस्तै, अध्ययनमा समेटिएका उद्योगको औसत उत्पादन क्षमता उपयोग ३९.२ प्रतिशत रहेको छ । गत आर्थिक वर्षमा यस्तो अनुपात ४२.४ प्रतिशत रहेको थियो । सिमेन्ट, औषधि, बिस्कुट, प्रशोधित दूध, तोरीको तेल र चुरोटको उत्पादनमा वृद्धि भएको छभने इँटा, चकलेट, चाउचाउ, ड्राई सिरप औषधि, वियर, ट्याब्लेट औषधि, तरल औषधि र क्याप्सुल औषधिको उत्पादनमा कमी भएको छ ।

बैङ्क तथा वित्तीय संस्थाहरुले गण्डकी प्रदेशमा प्रवाहित कुल कर्जाको ८.८८ प्रतिशत अर्थात् रु ३१ अर्ब १ करोड कर्जा औद्योगिक क्षेत्रतर्फ प्रवाह गरेका छन् । सो प्रदेशमा पर्यटक आगमनको सङ्ख्या ६.१ प्रतिशतले वृद्धि भई ५५ हजार १४९ रहेको छ । त्यस्तै होटलको शय्या सङ्ख्या बिक्री २४.३ प्रतिशतले वृद्धि भई ७३ हजार १२६ रहको छभने होटलहरुको अकुपेन्सी ३०.७३ प्रतिशत छ । जुन गत वर्ष २४.६१ प्रतिशत थियो ।

आन्तरिक तथा बाह्य पयर्टनमा व्यापक सुधार आएकाले सेवा क्षेत्रमा तदनुरुपको सकारात्मक प्रभाव देखिएको हो । प्रदेशमा  २१ हवाई कम्पनीमार्फत उडान भई ११ हजार ४८५ पटक उडान भएको छभने हवाई कम्पनीको सिट उपयोग क्षमता ७७.८५ प्रतिशत रहेको छ । गत वर्षको हवाई कम्पनीको सिट उपयोग क्षमता ७४.५४ प्रतिशत थियो ।

सो प्रदेशमा उच्च शिक्षाका लागि विदेश जाने प्रवृत्ति हाबी भएको, बसाइँसराईलगायत कारणले विद्यार्थी र शिक्षकको सङ्ख्यामा क्रमशः ३.४० प्रतिशत र ४.१६ प्रतिशतले कमी आएको छ । साथै, विद्यार्थी सङ्ख्यामा आएको कमीले गर्दा क्याम्पसहरु गाभिन गई क्याम्पसको सङ्ख्यामा समेत २.८२ प्रतिशतले कमी आएको छ ।

समीक्षा वर्षमा बैङ्क तथा वित्तीय संस्थाहरुको निक्षेप परिचालन १२.५ प्रतिशतले वृद्धि भई रु ५ ५ खर्ब ३४ अर्ब ४० करोड पुगेको छ । कुल कर्जा प्रवाह भने १.७  प्रतिशतले ह्रास भई रु ३  खर्ब ४९ अर्ब ७ करोड पुगेको छ । पर्यटन क्षेत्रमा प्रवाहित कर्जा रकम गत वर्षभन्दा ९.९० प्रतिशतले वृद्धि भई रु २३ अर्ब ७६ करोड पुगेको छ ।

राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली Read Previous

राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली

१३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत्को लगानी जुट्यो, निर्माण सुरू Read Next

१३५ मेगावाटको मनाङ मर्स्याङ्दी जलविद्युत्को लगानी जुट्यो, निर्माण सुरू