मंसिर ९ गतेदेखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने

काठमाडौं । सरकारले मंसिर ९ गतेदेखि सशुल्क रूपमा धरहरा सञ्चालन गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति (गठन) आदेश बमोजिम हाललाई अनुसूचीमा प्रस्ताव गरेबमोजिमको शुल्क लिई मंसिर ९ गतेदेखि धरहरा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिए ।

धरहरा प्रवेश गर्दा लाग्ने शुल्कमा १० वर्ष मुनिका बालबालिका निःशुल्क गरिएको छ । त्यस्तै, विद्यार्थी र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई आधा छुट दिने निर्णय भएको उनले बताए ।

सरकारले गत असोज ३ गते संविधान दिवसको अवसर पारेर सर्वसाधरणका लागि धरहरा खुला गरेको थियो । दैनिक ६०० जनालाई निःशुल्क प्रवेश दिँदै आएको छ ।

त्यस्तै, बैठकले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगमा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र चेम्वर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवाललाई सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको छ ।

त्यसैगरी, स्वीट्जरल्याण्ड सरकारबाट सुरक्षित आप्रवासन चौथो चरण कार्यक्रमका लागि प्राप्त हुने करिब १ अर्ब ७६ करोड ९७ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिको सिफारिसका लागि गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको संयोजकत्वमा सिफारिस समिति गठन गर्ने निर्णय भएको छ ।

लगानी गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह Read Previous

लगानी गर्न उद्योगी व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली Read Next

राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली