सर्ने भयो आयल निगमको सिनामंगल डिपो

काठमाडौं । त्रिभुवन अन्तर्राट्रिय विमानस्थल परिसरमा (सिनामंगलतर्फ) रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो स्थानान्तरण गरिने भएको छ । उक्त डिपोले हवाई जोखिम बढेको भन्दै निगमले स्थानान्तरण गर्न लागेको हो ।

निगमले अत्याधुनिक प्रविधि सहितको डिपो निर्माणका लागि विस्तृत संभाव्यता अध्ययन (डीपीआर) गर्न बुधबार नेपाल इञ्जिनियरिङ संस्थान, पुल्चोकसँग सम्झौता गरेको हो ।

मन्त्रिपरिषद्ले गत साउनमै निगमको डिपो स्थानान्तरण गर्ने निर्णय गरेको थियो । सोही अनुसार निगमले डीपीआर बनाउन इञ्जिनियरिङ संस्थानलाई जिम्मा दिएको हो । संस्थाले १ करोड ९८ लाख रुपैयाँमा डीपीआरको जिम्मा पाएको हो ।

नयाँ डिपो नागरिक उड्डयन प्राधिकरण (क्यान) को ५० रोपनी जग्गामा बन्ने छ । विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको गल्फ कोर्श नजिकै गुह्येश्वरीमा डिपो स्थानान्तरण गरिने छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को मापदण्ड अुनसार डिपो स्तरोन्नति गर्नुपर्ने भएकाले पनि अन्यत्र सार्न लागिएको हो । त्यस्तै, स्थानीयले समेत लामो समयदेखि डिपो स्थानान्तरणको माग गर्दै आएका थिए ।

तीन वर्षभित्रमा डिपो निर्माण कार्य सम्पन्न गरिने निगमको योजना छ।

पुटिनद्वारा नयाँ आणविक सिद्धान्तमा हस्ताक्षर, आणविक हतियार प्रयोगको बाटो खुल्यो Read Previous

पुटिनद्वारा नयाँ आणविक सिद्धान्तमा हस्ताक्षर, आणविक हतियार प्रयोगको बाटो खुल्यो

२४ घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन Read Next

२४ घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्सलाई पर्यटनमन्त्रीको निर्देशन