कात्तिकमा घरजग्गा कारोबार १० प्रतिशत बढ्यो, राजस्वमा भने उच्च गिरावट

काठमाडौं । कात्तिकमा घरजग्गा कारोबारमा झिनो सुधार देखिएको छ । असोजको तुलनमा कात्तिकमा घरजग्गा किनबेच ९.७८ प्रतिशतले बढेको हो ।

भूमि व्यवस्थापन विभागका अनुसार चालु आर्थिक वर्षको चौथो महिना कात्तिकमा देशभर कुल ३३ हजार ५१४ वटा घरजग्गाको लिखत पारित (किनबेच) भएको छ । असोजको तुलनामा कात्तिकमा घरजग्गा किनबेच २ हजार ९८७ वटाले बढेको हो ।

त्यस्तै, गत वर्ष कात्तिकको तुलनामा चालु आवको कात्तिकमा घरजग्गा कारोबार २८.६७ प्रतिशतले बढेको छ । गत कात्तिकमा २६ हजार ४६ वटा लिखत पारित भएको थियो । यस वर्ष सोभन्दा ७ हजार ४६८ वटा धेरै घरजग्गा किन्बेच भएको हो ।

यद्यपि, कात्तिकमा घरजग्गा किनबेचमा झिनो सुधार आए पनि लयमा भने आउन सकेको छैन । अहिले घरजग्गा कारोबारको सिजन भए पनि आर्थिक शिथिलताका कारण किनबेच बढ्न नसकेको व्यवसायीहरू बताउँछन् ।

चालु वर्ष महिनै पिच्छे घरजग्गा कारोबार घट्दै गएकोमा कात्तिकमा भने बढेको हो । चालु आवको साउनमा कुल ४३ हजार ८३५, भदौमा ३२ हजार ७९८ र असोजमा ३० हजार ५२७ वटा घरजग्गा किनबेच भएको थियो ।

२०७९ जेठमा सरकारले भू–उपयोग नियमावली लागू गरेदेखि लगातार ओरालो लागेको घरजग्ग कारोबारले अझै गति लिन नसकेको हो । घरजग्गा कारोबारमा सुधार ल्याउन सरकार र नेपाल राष्ट्र बैंकले एकपछि अर्को खुकुलो नीति ल्याए पनि कारोबार भने बढ्न सकेको छैन ।
सरकारले २०८० साउन अन्तिममा भूउपयोग नियमावली संशोधन गरेर यथास्थितिमै कित्ताकाट खुलाएको थियो । सो बेला १ वर्षभित्र जग्गा वर्गीकरण गरिसक्न समय सीमा तोकिएको थियो । थपिएको समयमा वर्गीकरण नसकिँदा २०८१ असारदेखि फेरि कित्ताकाट रोकिएको थियो । कित्ताकाट नै रोकिएपछि सरकारले २०८१ भदौ २६ गते जग्ग वर्गीकरण गर्ने समय २०८२ असारसम्म थप्दै फेरि कित्ताकाट खुलाएको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले व्यक्तिगत घर कर्जाको सीमा बढाएर २ करोड पुर्याएको छ भने रियल स्टेट कम्पनीलाई दिइने कर्जाको भार १०० प्रतिशतमा झारेको थियो । त्यस्तै, रियल ई–स्टेट कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको थियो ।

त्यस्तै, राष्ट्र बैंकले २०८०असोजमा घरजग्गा धितो कर्जाको सीमा पनि बढाएको थियो । ५० लाख रुपैयाँसम्म व्यक्तिगत आवसीय कर्जा प्रवाह गर्दा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको थियो । त्यसअघि लोन टु भ्यालु रेसियो काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत थियो ।

त्यसैगरी, काठमाडौं उपत्यका भित्र रियल ई९स्टेट कर्जाको धितो संरक्षणमा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको थियो । साथै, नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीररियोजनाहरूलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था गरेको थियो । त्यससअघि यस्तो सीमा ४० प्रतिशत थियो । त्यस्तै, २०८१ जेठमा ऋण भुक्तानी आम्दानी अनुपात ५० प्रतिशतबाट बढाएर ७० प्रतिशत पुर्याएको छ ।

पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा सहजै कर्जा पाइने अवस्था छ भने ब्याजदर समेत घट्दो क्रममा छ । अहिले बैंकहरूको औसत बेसरेट नै ८ प्रतिशतमा झरिसकेको छ । बैंकहरूले एकल अंकको ब्याजदरमै घरकर्जाका स्कीम ल्याउन थालेका छन् । यद्यपि, अपेक्षित रुपमा भने बढ्न सकेको छैन ।

राजस्व भने घट्यो

असोजको तुलनामा कात्तिकमा घरजग्गा किनबेच बढे पनि राजस्व संकलनमा भने उच्च गिरावट आएको छ । असोजको तुलनामा कात्तिकमा राजस्व संकलन ३९ करोड रुपैयाँ घटेर २ अर्ब ७० करोडमा सीमित भएको छ । असोजमा ३ अर्ब ९ करोड रुपैयाँ राजस्व उठेको थियो ।
चालु आवको साउनमा सबैभन्दा धेरै ३ अर्ब ८३ करोड राजस्व उठेको थियो । त्यस्तै, भदौमा ३ अर्ब ९ करोड रुपैयाँ राजस्व उठेको थियो ।

यी जिल्लामा भयो धेरै कारोबार

विगतका महिनाहरूमा जस्तै कात्तिकमा पनि तराईका जिल्लाहरूमै धेरै घरजग्ग किनबेच भएको छ । कात्तिकमा मालपोत कार्यालय इनरुवा, सुनसरीबाट सबैभन्दा धेरै १ हजार २४६ वटा लिखत पारित भएको छ ।

त्यस्तै, मालपोत कार्यालय मोरङबाट १ हजार ११२, जनकपुरधामबाट १ हजार २४, राजविराजबाट १ हजार २२, भद्रपुरबाट ९९८ वटा घरजग्गा किनबेच भएको छ ।

काठमाडौं उपत्यकामा मालपोत कार्यालय भक्तपुरबाट सर्वाधिक ६६७ वटा घरजग्गा किनबेच भएको छ । त्यस्तै, मालपोत कार्यालय लगनखेलबाट ५३६, कलंकीबाट ४१४, चाबहिलबाट ३३१, साँखुबाट २८३, मनमैजुबाट २०७, डिल्लीबजारबाट १४६ र टोखाबाट १०६ वटा लिखत पारित भएको छ ।

ऊर्जा मन्त्रालयले कार्यान्वयनमा ल्यायो 'कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि' Read Previous

ऊर्जा मन्त्रालयले कार्यान्वयनमा ल्यायो 'कन्टिन्जेन्सी रकम खर्च गर्नेसम्बन्धी कार्यविधि'

सयपत्री हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने Read Next

सयपत्री हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने