काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आज (कात्तिक २९ गते)देखि बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ । गत असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार नेपालले ४० मेगावाट बिजुली बंगलादेश पठाउने भएको हो ।
भारतबाट बंगलादेश बिजुली पठाउन स्वीकृति आएसँगै आजदेखि बंगलादेशलाई बिजुली पठाइने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार २५ मेगावाटको त्रिशूली र २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् बङ्गलादेश निर्यात गरिने छ ।
बंगलादेशले भारतको प्रसारण लाइन हुँदै बिजुली लैजाने छ । प्राधिकरणले भारतीय कम्पनी एनभीभीएनलाई बिजुली उपलब्ध गराउने छ । सोही कम्पनीले नेपाली बिजुली बङ्गलादेश पुर्याउने छ ।
नेपाल र भारतबीचको पहिलो अन्तर देशीयढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारणलाइन हुँदै बङ्गलादेश निर्यात हुनेछ । ढल्केबरबाट मुजफ्फरपुरसम्मको प्रसारणलाइनको प्राविधिक चुहावट प्राधिकरणले नै बेहोर्ने छ । मुजफ्फरपुरबाट भारतको प्रसारणलाइनमार्फत बहरामपुर (भारत)-भेरमारा (बङ्गलादेश) ४०० केभी प्रसारण लाइन हुँदै बङ्गलादेश विद्युत् पुग्नेछ ।
नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बंगलादेशलाई बिजुली बिक्री गर्ने सम्झौतामा छ । सोहीअनुसार नेपालले यस वर्ष शुक्रबार (एक दिन) मात्रै बंगलादेशलाई बिजुली बेच्दैछ । त्यसपछि बंगलादेशलाई बिजुली बेच्न अर्को वर्ष अर्थात् सन् २०२५ को जुन १५ सम्म कुर्नुपनेर्छ ।
प्राधिकरणले बंगलादेशलाई प्रतियुनिट ६.४ अमेरिकी सेन्ट (करिब पौने ९ रुपैयाँ) बिजुली बिक्री गर्नेछ ।बंगलादेश पुग्दा प्रतियुनिट लागत ७.६ अमेरिकी सेन्ट पुग्नेछ ।
यससँगै नेपालले तेस्रो मुलुकमा पहिलोपटक विद्युत् निर्यात गर्ने भएको हो । नेपालले ३ वर्षदेखि भारतलाई बिजुली बेच्दै आएको छ । वर्षायाममा प्राधिकरणले दैनिक ९०० मेगावाट बढी बिजुली भारत निर्यात गरेको थियो ।
बङ्गलादेश सरकारले सन् २०४० सम्म नेपालबाट ९ हजार मेगावाट बिजुली लैजाने यसअघि नै घोषणा गरिसकेको छ । नेपाल र भारतबीच पनि १० वर्षमा १० हजार बिजुली निर्यात गर्नेसम्बन्धी दीर्घकालीन सम्झौता भइसकेको छ ।