काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । अघिल्ला दुई दिन लगातार दोहोरो अंकले घटेको नेप्से आज झण्डै १४ अंकले बढेको हो । समग्रमा यससाता नेप्से ७४ अंकले बढेको छ ।
बिहीबार नेप्से परिसूचक १३.९५ अंकले बढेर २७४८.७८ बिन्दुमा पुगेको छ । आज ३२१ कम्पनीको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता सेयर किनबेच भएको छ ।
आज सूचकसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा करोबार रकम २ अर्ब ४१ करोड रुपैयाँले बढेर १० अर्ब ३२ करोड रुपैयाँ पुगेको छ ।
आज कारोबारमा आएका १३ वटा समूह मध्ये ७ वटाको परिसूचक बढेको छ भने ६ वटाको घटेको छ । हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक १.३४ प्रतिशतले बढेको छ भने उत्पादनमूलक समूह ०.३ प्रतिशतले घटेको छ ।
आज जानकी फाइनान्सको सर्वाधिक ३५ करोड २४ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको ३१ करोड ६ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १५९ कम्पनीको सेयर मूल्य बढेको छ भने ७९ कम्पनीको मूल्य घटेको छ ।
दोहोरो अंकले बढेको बजारमा आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
आज रावा इनर्जीका सेयरधनीले सर्वाधिक ९.१२ प्रतिशत गुमाएका छन् ।