विश्व बैंकको ७२ अर्ब लगानीमा ५ आयोजना अघि बढाइँदै, तयारी फास्ट ट्रयाकमा

काठमाडौं । विश्व बैंकको सहयोगमा नेपालमा सञ्चालन गरिने करिब ७२ अर्ब रुपैयाँ बराबरका ५ वटा आयोजनाको तयारी फास्ट ट्रयाकमा गरिने भएको छ ।

अर्थ मन्त्रालयमा बसेको बैठकले पूर्व पश्चिम राजमार्गको बागमती–पथलैया खण्ड विस्तार, तेस्रो पुल तथा सुधार तथा सम्भार, विद्युत वितरण प्रणाली आधुनिकीकरण तथा सुधारको आयोजनाको पूर्व तयारी छिटो सम्पन्न गर्ने निर्णय गरेको हो ।

यसैगरी, तेस्रो चरणको रानीजमरा कुलरिया सिंचाइ र पहुँच तथा उत्थानशिलताको लागि डिजिटल सेवा रुपान्तरण सम्बन्धी आयोजनाको तयारी पनि फास्ट ट्रयाकमा गर्ने निर्णय भएको छ ।

विश्व बैंकको सहुलियतपूर्ण ऋण लगानीमा सञ्चालित हुने आयोजनाहरूको सम्बन्धित मन्त्रालयले सरोकारवालासँग छलफल गरी पूर्व तयारी गर्नेछन् भने आवशयकता अनुसार अर्थ मन्त्रालयले सहजीकरण गर्नेछ ।

बैठकले सन् २०२५ को फेब्रुअरीसम्ममा आयोजनासँग सम्बन्धित सबै विषयको टुङ्गो लगाइ पूर्व तयारीका काम सक्ने निर्णय भएको छ । तयारी पूरा भएपछि सन् २०२५ को मार्चमा बस्ने विश्व बैंकको बोर्ड बैठकमा ती आयोजनाका प्रस्तावहरू पेश गरिने योजना छ ।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आयोजनाहरूको पूर्व तयारीमा विशेष ध्यान दिन र आयोजनाहरू स्वीकृत भएपछि कार्यान्वयनमा तदारुकताका साथ लाग्न निर्देशन दिए । उनले नेपालले आफ्नो आवश्यकता अनुसार सहयोग लिने र अधिकतम प्रतिफल दिने ठाउँमा लगानी गर्ने बताए।

बैठकमा अर्थ मन्त्रालय, भौतिक तथा यातायात मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधि र सम्बद्ध पदाधिकारीहरूको उपस्थिति थियो ।

नेप्सेमा झिनो गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट Read Previous

नेप्सेमा झिनो गिरावट, यी कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

अब बैंकमा गएर केवाइसी भर्न नपर्ने, अनलाइनबाटै विवरण लिने Read Next

अब बैंकमा गएर केवाइसी भर्न नपर्ने, अनलाइनबाटै विवरण लिने