काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूले धमाधम गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट लाभांश घोषणा गर्न थालेका छन् ।
नयाँ आर्थिक वर्ष लागेको ६ महिना भित्र गत वर्षको वार्षिक साधरण सभा गर्नुपर्ने कानुनी व्यवस्था छ । सो अनुसार कम्पनीहरूले पुसभित्रै साधरणसभा गरी लाभांश पारित गर्न धमाधम घोषणा गर्न थालेका हुन् ।
नेप्सेमा सूचीकृत २७० कम्पनी (डिबेन्चर र म्युचुअल फण्ड बाहेक) मध्ये हालसम्म ३ दर्जन कम्पनीले लाभांश घोषणा गरेका छन् । आधादर्जन बढी कम्पनीले भने लाभांश नदिने घोषणा गरेका छन् ।
हालसम्म ७ वाणिज्य बैंक, १ विकास बैंक, ८ लघुवित्त, ११ हाइड्रोपावर, २ लगानी कम्पनी, २ जीवन बीमा कम्पनी, २ उत्पादनमूलक कम्पनी, २ होटलले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेकामध्ये अधिकांश कम्पनीले बोनस सेयरलाई प्राथमिकता दिएका छन् ।
गत वर्षको नाफाबाट लाभांश घोषणा गरेकामध्ये २० कम्पनीले साधरण सभाको मिति तोकी बुकक्लोज समेत गरिकसकेका छन् । तीमध्ये १ दर्जनले साधरण सभा समेत सम्पन्न गरिसकेका छन् । अझै १५ कम्पनीको भने बुकक्लोज हुन बाँकी छ ।
बिन्ध्यावासिनी हाइड्रोपावर, फर्स्ट माइक्रोफाइनान्स, नबिल बैंक, प्राइम कमर्शियल बैंक, नेसनल लघुवित्त, सपोर्ट लघुवित्त, आरएसडीसी लघुवित्त, ग्लोबल आइएमई बैंक, फरवार्ड माइक्रोफाइनान्स, सुपर माइ हाइड्रोपावर, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सोल्टी होटल्स, मन्दाकिनी हाइड्रोपावर, सानिमा बैंक, सगरमाथा जलविद्युत्को बुकक्लोज हुन बाँकी छ । अझै यी कम्पनीको सेयर किन्दा प्रस्तावित लाभांश पाइन्छ ।
