सङ्कटग्रस्त क्षेत्रका ७१ स्थानीय तहलाई ४३ करोड विनियोजन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्कटग्रस्त क्षेत्रका ७१ स्थानीय तहमा ४३ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिएका छन् ।बुधबार वर्तमान सरकारको १०० दिनको उपलब्धि सार्वजनिक गर्दै उनले यस्ताे जानकारी दिएका हुन् ।

 

उनले विपद्बाट प्रभावित परिवारलाई तत्काल उद्धार, राहत, अत्यावश्यक भौतिक पूर्वाधार र सेवाको सञ्चालनलाई प्राथमिकतामा राखेर काम अघि बढाइएको बताए ।

‘वर्तमान सरकार बनेको केही दिनअघि सिमलतालस्थित त्रिशूली नदीमा बस खस्दा तीर्थयात्री बेपत्ता भएको दुःखद घटनाबाट शोकमा थियौँ । त्यसको केही दिनपछि सौर्य विमान दुर्घटना, नुवाकोटमा हेलिकप्टर दुर्घटना र भारतीय पर्यटक बस दुर्घटना भयो,’ प्रधानमन्त्री ओलीले भने, ‘मुलुक गत असोज १० गतेदेखि १३ गतेसम्म अकल्पनीय बाढी पहिरोको चपेटामा पर्यो । यसै अवधिमा देशभर ७ हजार १३५ वटा विभिन्न प्रकारका विपद्जन्य दुर्घटना भए । प्राकृतिक विपत्तिले धनजनको ठूलो क्षति गर्यो । कृषिबाली, पशुचौपाया एवं सडक, पुल, खानेपानी, सञ्चार, विद्यालय, विद्युत्लगायत भौतिक संरचनामा ठूलो नोक्सानी पुग्यो ।’

पीडित परिवारको राहत, घाइतेको उद्धार र निःशुल्क उपचार, मृतकको परिवारलाई आर्थिक सहयोग र प्रभावित नागरिकको सुरक्षित पुनःस्थापनामा सरकार केन्द्रित भएको प्रधानमन्त्री ओलीको भनाइ थियो ।

‘बाढी पहिरोका कारण मृत्यु भएका ३९१ जनाका परिवारले दुई लाखका दरले राहत रकम पाएका छन् । बाढी पहिरोबाट प्रभावित २ हजार ५५५ परिवारलाई ४ करोड ५० लाख रुपैयाँ तत्काल प्रदान गरिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘प्रारम्भिक क्षतिको आकलन गरी अस्थायी बासस्थानको प्रबन्ध गर्ने कामलाई प्राथमिकतामा राख्यौँ । हामी अहिले बाढीपहिरोले क्षति पुर्याएका भौतिक संरचनाको निर्माणका कार्ययोजनासहित काम गरिरहेका छौँ । सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएका जिल्लाको खानेपानी, विद्युत्, सडक, सञ्चारलगायत अत्यावश्यक सेवा पन्ध्र दिनभित्र सञ्चालनमा ल्याउन जिल्ला विपद् व्यवस्थापन कोषमार्फत रकम उपलब्ध गराइसकेका छौँ ।’

सिजनमा पनि आएनन् पोखरामा पर्यटक, अकुपेन्सी घट्दा व्यवसायी चिन्तित Read Previous

सिजनमा पनि आएनन् पोखरामा पर्यटक, अकुपेन्सी घट्दा व्यवसायी चिन्तित

यस्ता छन् प्रधानमन्त्रीले सार्वजनिक गरेका सरकारका १०० दिनका उपलब्धिहरू (पूर्णपाठ) Read Next

यस्ता छन् प्रधानमन्त्रीले सार्वजनिक गरेका सरकारका १०० दिनका उपलब्धिहरू (पूर्णपाठ)