काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएकाे छ । अघिल्ला दुई दिनमा १०५ अंकले घटेको नेप्से आज २५ अंकले फर्केको हो ।
मंगलबार नेप्से परिसूचक २५.८८ अंकले बढेर २६६५.८१ बिन्दुमा पुगेको छ । आज ३१४ कम्पनीको १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयर किनबेच भएको छ ।
आज सूचकमा सुधार आए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ७३ करोड रुपैयाँले घटेर ५ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ३.०३ प्रतिशतले बढेको छ ।
आज गुडविल फाइनान्सको सर्वाधिक १७ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, कुमारी बैंकको १३ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १९९ कम्पनीको सेयर मूल्य बढेको छ भने ४० कम्पनीको मूल्य घटेको छ ।
आज रावा इनर्जीका सेयरधनीले सर्वाधिक ८.८६ प्रतिशत कमाएका छन् । त्यस्तै, मनकामना इन्जिनीयरिङको ७.८२ प्रतिशत, थ्रीस्टार हाइड्रोपावर, महुली लघुवित्त र मैलुङखोला जलविद्युत्को सेयर मूल्य ६ प्रतिशतले बढेको छ ।
विन नेपाल लघुवित्तका सेयरधनीले भने सर्वाधिक ४.७५ प्रतिशत गुमाएका छन् ।