तातोपानी नाका पुग्ने सडक एक साता भित्रै संचालनमा आउने

काठमाडौं । चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी पुग्ने अरनिको राजमार्ग एक साता भित्रै संचालनमा ल्याउने गरी मर्मतको काम भइरहेको छ ।

अरनिको राजमार्ग अन्तर्गत कोदारीमा गएको पहिरो पन्छाइएको छ । शनिबार साँझबाट गाडी आवतजावत गर्न सक्नेगरी पहिरो हटाइएको हो । उक्त सडक खण्डमा अब बगाएको एउटा पुल हाल्नु पर्ने काम बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार फिल्डमा अहिले काम चलिरहेको छ । यही साताबाट नाका सुचारु गर्न सरोकारवाला निकायहरू लागिपरेका छन् ।

कोदारीको पहिरो हटेसँगै बीचमा रोकिएर बसेका सवारीसाधनको आवत जावत सुरू भएको छ । अब पुल निर्माणको काम सुरू भएको हो । अहिले खोलामा ड्राइभर्सन निर्माण गर्न ७ वटा ट्रिप्परसँगै जनशक्ति परिचालन गरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

तातोपानी भन्सार कार्यालयका प्रवक्ता सूर्यप्रसाद काफ्लेका अनुसार फलफूल, ड्राइफूड, लसुन लगायतका सामान भन्सार पास भएर आइसकेका छन् । यी सामानहरू बोकाएर ल्याइएको हो । नबिग्रने सामानहरू मात्रै अड्केर बसेका छन् ।

‘यदि कुनै ठूलो बाधा आएन भने कम्तीमा ४/५ दिनमा पूर्णरुपमा नाकाबाट गाडीको आवतजावत सुरू हुनेछ । धेरै सामानहरू बोकाएर भए पनि ल्याइएको कारण बाटो सुचारु हुनासाथ नेपाल आउने क्रममा रहेका विद्युतीय साधनहरू पनि आउने छन्,’ प्रवक्ता काफ्लेले भने ।

चाडपर्वमा बिक्री गर्न नेपाल आइरहेका विद्युतीय गाडी विगत २२ दिनदेखि चीनतर्फ नै रोकिएका छन् । असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले पहिरो जाने र पुलसमेत बगाउँदा नाकाबाट आवत जावत ठप्प भएको हो ।

 

पूँजी परिचालन र लगानी वृद्धिका लागि आवश्यक प्रक्रिया अघि बढाउँदै अर्थ मन्त्रालय Read Previous

पूँजी परिचालन र लगानी वृद्धिका लागि आवश्यक प्रक्रिया अघि बढाउँदै अर्थ मन्त्रालय

नेप्सेमा उच्च अंकको गिरावट, परिसूचक २७०० बिन्दु तल झर्यो Read Next

नेप्सेमा उच्च अंकको गिरावट, परिसूचक २७०० बिन्दु तल झर्यो