काठमाडौं । दशैं अघिको अन्तिम कारोबार दिन बुधबार सेयर बजार झिनो अंकले बढेको छ । मंगलबार २७ अंकले घटेको नेप्से आज झण्डै ५ अंकले बढेको हो । समग्रमा यससाता नेप्से ७१ अंकले बढेको छ ।
आज नेप्से परिसूचक ४.९५ अंकले बढेर २६६८.१७ बिन्दुमा पुगेको छ । आज २९४ कम्पनीको ८३ लाख १२ हजार ६८५ कित्ता सेयर किनबेच भएको छ ।
सूचकमा झिनो सुधार आए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ८३ करोड घटर ३ अर्ब ७६ करोड रुपैयँँमा सीमित भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको परिसूचक बढेको छ भने ४ को घटेको छ । उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै १.०५ प्रतिशतले बढेको छ भने व्यापार समूह ०.७८ प्रतिशतले घटेको छ ।
आज नेपाल फाइनान्सको सर्वाधिक २२ करोड १ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, सानिमा बैंकको १८ करोड ९८ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये १३० कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको मूल्य घटेको छ ।
बढ्दो बजारमा आज मिड सोलु हाइड्रोपावरको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् । त्यस्तै, अपर स्याङ्गे हाइड्रोपावरको ९.९३ प्रतिशत, राप्ती हाइड्रो ९.६५ प्रतिशत, अपर सोलु हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर र सामुदायिक लघुवित्तको सेयर मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज थ्रीस्टार हाइड्रोपावरका सेयरधनीले भने ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।