हनुमन्ते करिडोरको काम छिटो सक्न विकास समितिको निर्देशन

काठमाडौं । हनुमन्ते खोलामा निर्माण भइरहेको हनुमन्ते करिडोरको सङ्घीय संसद् विकास तथा प्रविधि समितिले स्थलगत अनुगमन गरेको छ ।

 

समितिका सभापति कल्याणी खड्काको नेतृत्वको टोलीले बुधबार बालकुमारीदेखि जडीबुटी हुँदै राधेराधेसम्मको हनुमन्ते नदी किनारामा निर्माण भइरहेको करिडोरको स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो ।

 

अनुगमन निरीक्षणमा सभापति खड्काले जडीबुटी-कोटेश्वरको सवारी जामको हल गर्न पनि हनुमन्ते करिडोर निर्माण कार्य छिटो र छरितो ढङ्गले सम्पन्न गर्न सबै लाग्नुपर्ने बताए। विकास निर्माणका कार्यमा जुनसुकै ठाउँमा पनि समस्या आउनसक्ने भएकाले समस्यालाई वार्ता र छलफलका माध्यमबाट समस्या समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।

 

करिडोरको दायाँबायाँ निर्माण गरिने सडकको चौडाइ जतिसक्दो ठूलो बनाउनुपर्नेमा जोड दिँदै उनले एक छिनको समस्याले गर्दा भविष्यलाई नै असर पर्ने गरी काम गर्नु नहुनेमा जोड दिए । स्थानीय तहले करिडोर निर्माणमा उत्पन्न गरेको समस्यालाई समितिले विशेष पहल गरी समाधानको उपाय निकाल्ने उल्लेख गर्दै उनले सार्वजनिक जग्गा व्यक्तिको नाममा लगिएका सम्पूर्ण जग्गा पुनःसार्वजनिक नै बनाउन समितिले विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

 

सांसद महेश बस्नेतले करिडोर निर्माणलाई तीव्रता दिइ कोटेश्वर-जडीबुटीको जामलाई न्यूनीकरण गर्न हनुमन्ते तथा मनोहरा नदीको करिडोर सम्पन्न गर्नु अपरिहार्य रहेको बताए । सांसद बस्नेतले करिडोर अरनिको राजमार्गको वैकल्पिक मार्गका रुपमा प्रयोगमा आउने बताउँदै करिडोरसँग जोड्न रिङ रोडसमेत तीव्र गतिका साथ निर्माण भइरहेको जानकारी गराए ।

 

मध्यपुरथिमि नगरपालिका र सूर्यविनायक नगरपालिकाले जग्गा एकीकरण आयोजनाका माध्यमबाट समस्या समाधानको बाटोमा अघि बढेको जानकारी गराउँदै करिडोरको दायाँबाँया २०-२० मिटरको सडक भए पनि ११-११ मिटर सडक र बाँकी ९-९ मिटरमा हरियाली बनाउने लक्ष्य रहेको समितिको टोलीलाई सांसद बस्नेतले जानकारी गराए ।

 

वाग्मती आयोजनाका प्रतिनिधि लीलाप्रसाद ढकालले सम्बन्धित निकायसँगको छलफल र सहयोगमा ढललगायतका कार्य गरिरहेको जानकारी गराए । उनले हनुमन्ते नदीको करिडोर निर्माणमा जनप्रतिनिधिले लिखितरुपमा रोक्न निर्देशन दिएकाले निर्माण कार्यमा कठिनाइ हुँदै आएको टोलीलाई जानकारी गराए।

 

करिडोर निर्माणको पहिलो चरणको काम सकिएपछि दोस्रो चरणअन्तर्गत एक अर्ब ९९ करोडको लागतमा निर्माण कार्य भइरहेको छ । एकतर्फी करिब आठ किलोमिटर तथा दुईतर्फी गरी करिब १६ किलोमिटर करिडोर निर्माण गरिनेछ ।

 

उक्त करिडोरमा हनुमन्ते नदीको पानी बग्ने भाग २० मिटर तथा दायाँबाँया करिडोर २०-२० मिटर गरी कूल ६० मिटर चौडाको करिडोर निर्माण हुने भएको छ भने सडकको बीच भागमा नौ मिटरको हरियाली निर्माण गरिने छ ।रासस

खाद्य बालीको सट्टा सुन्तलाखेती गर्ने कृषकले अनुदान पाउने Read Previous

खाद्य बालीको सट्टा सुन्तलाखेती गर्ने कृषकले अनुदान पाउने

बैंकिङ क्षेत्रमा कुनैपनि किसिमको हड्ताल नगर्न अदालतको आदेश Read Next

बैंकिङ क्षेत्रमा कुनैपनि किसिमको हड्ताल नगर्न अदालतको आदेश