काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत दुई कम्पनीको लाभांश पाउने आज अन्तिम दिन रहेको छ । युनिलिभर नेपाल र सिटिजन्स बैंक इन्टरनेशनलको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन रहेको हो ।
साधरण सभा तथा लाभांश प्रयोजनका लागि दुवै कम्पनीले असोज २८ गते बुकक्लोज तोकेका छन् । २४ गतेदेखि २७ गतेसम्म दशैं बिदाका कारण नेप्से बन्द हुने भएकाले आजसम्म कायम रहने सेयरधनीले मात्रै दुवै कम्पनीको प्रस्तावित लाभांश पाउने छन् ।
युनिलिभरले गत आवको मुनाफाबाट १७१४ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले कात्तिक १२ गते ३१ औं वार्षिक साधरण सभा बोलाएको छ । द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा अपराह्न साढे ४ बजे सुरु हुनेछ ।
त्यसैगरी, सिटिजन्स बैंकले गत वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त लाभांश पारित गर्न बैंकले कात्तिक १२ गते, अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा १८ औँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकको सभा बिहान ९ बजे सुरु हुनेछ ।