रेसुंगा विमानस्थलमा १ महिनादेखि हवाई उडान ठप्प

गुल्मीको रेसुङ्गा नगरपालिका-१० स्थित रेसुंगा विमानस्थल ।

गुल्मी । गुल्मीको रेसुंगा विमानस्थलमा एक महिनादेखि हवाई उडान प्रभावित बनेको छ । वर्षाको समयमा पानी परिरहने र बाक्लो कुहिरो लाग्ने भएकाले असार दोस्रो सातादेखि उडान अवरुद्ध बनेको रेसुंगा विमानस्थलका प्रमुख सुमन थापाले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समयमा साताको तीनपटक नियमित उडान गर्दै आएको नेपाल एयरलाइन्सले असार १४ गतेपछि उडान गर्न सकेको छैन । रेसुंगा‐काठमाडौं र काठमाडौं‐रेसुंगाका लागि टिकट काटेका यात्री दैनिक विमानस्थल पुगेर फर्किने गरेको बताउँछन् ।

मौसममा सुधार नआउँदासम्म नियमित उडानमा समस्या हुने भएकाले यात्रीको सुरक्षालाई ध्यान दिँदै उडान रोकिएको प्रमुख थापाले बताए। गुल्मीको रेसुंगा विमानस्थल निगमको १८ सिट क्षमताको ट्विनअटर जहाजले उडान गर्दै आइरहेको छ । काठमाडौंबाट बिहान ६ः३० बजे र रेसुंगा विमानस्थलबाट बिहान ७ः३० बजे नियमित उडान तालिका छ ।

सोही तालिका अनुसार निगमले काठमाडौंबाट रेसुंगा लागि रु ७ हजार ५०० र रेसुङ्गाबाट काठमाडौंका लागि रु ७ हजार ३०० भाडादर निर्धारण गरेको छ । जिल्लामा गत वर्षदेखि व्यावसायिक रुपमा हवाई उडान सुरु गरिएको थियो ।

रेसुंगा विमानस्थलमा दिउँसोको समयमा अत्यधिक हावा चल्ने भएकाले प्राविधिक दृष्टिकोणले बिहान ११ बजेसम्म मात्र उडान भर्न उपयुक्त मानिन्छ । पछिल्लो समयमा हवाई उडान सुरु भएसँगै जिल्लामा आउने आन्तरिक एवं बाह्य पर्यटकको सङ्ख्यामा समेत वृद्धि हुँदै गएको छ ।

रेसुंगा विमानस्थलबाट काठमाडौंका लागि एक वर्षमा १२५ उडान भइसकेका विमानस्थल कार्यालयले जनाएको छ । उक्त विमानस्थल सदरमुकाम तम्घासबाट ५ किलोमिटरको दूरीमा पर्दछ । रासस

दाङमा ८७७ वटा व्यावसायिक फर्म बन्द Read Previous

दाङमा ८७७ वटा व्यावसायिक फर्म बन्द

मौद्रिक नीतिको कमाल : नेप्सेमा शतकको छलाङ, यी २१ कम्पनीको मूल्यमा सर्किट Read Next

मौद्रिक नीतिको कमाल : नेप्सेमा शतकको छलाङ, यी २१ कम्पनीको मूल्यमा सर्किट