काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरी नक्कली ऋण लिनेलाई ४ वर्षसम्म कैद सजाय तोकिएको छ ।
विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले जग्गा कीर्ते गरी नक्कली ऋण लिने दुई जनालाई ४÷४ वर्ष कैद सजाय सुनाएको हो ।
विशेष अदालतले उविन्दराज शाक्य र रेशमबहादुर सिलवाललाई ४/४ वर्ष कैद सजायको फैसला गरेको हो । त्यस्तै, सोही घटनामा संलग्न मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई २/२ वर्ष कैद फैसला भएको छ ।
त्यसैगरी, ईश्वर पोखरेल, रामप्रसाद अधिकारी, शोभा शाक्य र कुशन प्रधानलाई १/१ वर्ष कैद हुने भएको छ । उनीहरू सबैलाई गरेर कुल ५३ करोड २० लाख रुपैयाँ जरिवाना तोकिएको छ ।
उनीहरूले गायक अमात्यको जग्गाको नक्कली लालजूर्जा बनाएर कुमारी बैंकको बारा शाखाबाट १९ करोड रुपैयाँ ऋण प्रवाह भएको भेटिएको थियो । सोही प्रकरणमा उनीहरू माथि मुद्दा दायर भएको थियो ।