काठमाडौं । एशियाली शहर हङकङ विश्वकै सबैभन्दा महँगो सहर बनेको छ । युरोपेली र अमेरिकी सहरहरूलाई पछि पार्दै हङकङ सन् २०२४ मा विश्वकै महँगो सहर बनेको हो ।
मर्सरको २०२४ को कस्ट अफ लिभिङ रिपोर्ट अनुसार यस वर्ष हङकङ संसारकै महँगो सहर बनेको हो । हङकङसँगै अर्को एसियाली मुलुक सिंगापुर पनि सर्वाधिक महँगो सहरको शीर्ष स्थानमा परेको छ ।
महँगो आवास बजार, यातायात, सामान र सेवाहरूको उच्च लागत लगायत कारणले हङकङ र सिंगापुर विश्वकै महँगो सहर बनेका हुन् ।
यी सहरमा बस्न मानिसले आफ्नो आम्दानीको ठूलो हिस्सा घरघाडामा खर्च गर्नुपरिरहेका छ । मुद्रास्फीति र विनिमयदरको उतरचढावले अन्तर्राष्ट्रिय श्रमिकहरूको भुक्तानी र बचतमा प्रत्यक्ष असर पारिरहेको प्रतिवेदनमा उल्लेख छ ।
मर्सरले विश्वका २२६ बढी सहरहरूमा यातायात, खाना, लत्ताकपडा, घरायसी सामान र मनोरञ्जन लगायत २०० भन्दा बढी वस्तुहरूको तुलनात्मक अध्ययन गरी लागतका आधारमा महँगा सहरहरूको सूची सार्वजनिक गरेको हो ।
यी हुन् विश्वका महँगा सहरहरू
हङकङपछि अर्को एशियाली सहर सिंगापुर विश्वकै महँगो सहरको दोस्रो स्थानमा परेको छ । सिंगापुर गत वर्ष पनि विश्वकै महँगो सहर बनेको थियो ।

यस्तै, स्वीट्जरल्याण्डको जुरिच विश्वकै तेस्रो सहर बनेको छ । विश्वका शीर्ष १० महँगा सहरमध्ये स्वीट्जरल्याण्डका मात्रै चार सहर रहेका छन् । महँगा सहरको सूचीमा जुरिचपछि जेनेभा, बासेल र बर्न क्रमशः शीर्ष ६ मा रहेका छन् ।
अमेरिकी सहर न्यूयोर्क विश्वका महँगा सहरको सूचीमा सातौं स्थानमा परेको छ । त्यसैगरी, लण्डन, नाउसा र लस एन्जलस विश्वका १० महँगा सहरको सूचीमा अटाएका छन् ।
दुबई अन्तर्राष्ट्रिय कर्मचारीहरूका लागि मध्यपूर्वको सबैभन्दा महँगो सहर बनेको छ । गत वर्षको तुलनामा ३ स्थान माथि उक्लिँदै दुबई विश्वकै १५ औं महँगो सहर बनेको छ । यसैगरी, मध्यपूर्वका तेल अबीब १६ औं, आबुधाबी ४३ औं, रियाद ९० औं महँगा सरहका रहेका छन् ।
हङकङ र सिङ्गापुर बाहेक एसियाका अन्य महँगो सहरहरूमा सांघाई २३ औं, बेइजिङ औं र दक्षिण कोरियाको सियोल ३२ औं स्थानमा पर्छन् । भारतको सबैभन्दा महँगो सहर मुम्बई विश्वका महँगा सहरको सूचीमा १३६ औं स्थानमा छ
विश्वभर बढ्दो आर्थिक र भूराजनीतिक अस्थिरता, स्थानीय द्वन्द्व र आपतकालिन अवस्थाहरूले ठूला सहरमा आवास, उपयोगिताहरू, स्थानीय करहरू र शिक्षा जस्ता क्षेत्रमा मानिसहरूको थप खर्चहरू बढाएको प्रतिवेदनमा उल्लेख छ ।