अब घरको नक्सा २ चरणमा स्वीकृत हुने, ५ तलाभन्दा अग्लाको भू-प्राविधिक अनुसन्धान अनिवार्य

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले २०८१ वैशाख १ गतेदेखि भवनको नक्सा २ चरणमा स्वीकृत गर्ने भएको छ । सुरक्षित भवन निर्माणका लागि प्लिन्थ लेभलसम्मको एक चरणमा र यसभन्दा माथिल्लो भागको अर्को चरणमा नक्सा स्वीकृत गर्ने भएको हो ।

सरकारी, अर्धसरकारी, बैङ्क तथा वित्तीय संस्था, शैक्षिक संस्था, स्वास्थ्य भवन, संयुक्त भवन, व्यापारिक भवन निर्माण गर्दा अनिवार्य रुपमा आकस्मिक विपद व्यवस्थापन योजना पेश गर्नु पर्नेछ ।

महानगरपालिकाको सहरी व्यवस्थापन विभागले वडा सचिव र वडाका इञ्जिनियरका लागि आयोजना गरेको ‘भवन निर्माण मापदण्ड २०८० तथा भवन संहिता सम्बन्धी’ अभिमुखीकरण कार्यक्रममा यस सम्बन्धी जानकारी दिइएको हो ।

प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले सहरलाई चाहिने खाली जमिन अभाव हुँदै गएको बताए । ‘वडाको सेवा प्रवाहका सवल पक्ष, दुर्वल पक्ष, सम्भावना र चुनौतीका विषयमा वडामै बसेर काम गर्ने जनप्रतिनिधि र कर्मचारी धेरै थाहा छ । धेरै समस्या वडा तहबाटै समाधान हुन्छन् । कुनै समस्या महानगरबाट समाधान गर्नु पर्ने अवस्था रह्यो भने नीति, योजना, कार्यक्रम तथा सहजीकरणका सबै कोणबाट काम गर्न म प्रतिवद्ध छु,’ उनले भने ।

उनले, जीवन र धनको सुरक्षाका लागि बनाइने भवन सुरक्षित हुनु पर्ने पहिलो सर्त भएको बताए । ‘भवन संहिता पालना गर्ने गराउने क्रममा नागरिकलाई, आफूले निर्माण गरेको भवनभित्र आपतका समयमा पनि बस्न सक्ने गरी बनाउन प्रोत्साहित गर्नु पर्छ । सजग र सचेत बनाउनु पर्छ । यो हाम्रै जिम्मेवारी हो,’ उनले भने ।

महानगरपालिकाले ‘भवन निर्माण मापदण्ड २०८०’, ‘भवन निर्माण सम्बन्धी कार्यविधि २०७५ को पहिलो संशोधन २०८०’ जारी गरेको छ । भवन व्यवस्था समितिका संयोजक हीरालाल तण्डुकारले भने, ‘सहरमा सिर्जना हुने नयाँ प्रकारका विपतको सामना गर्न समय समयमा मापदण्ड परिमार्जन तथा संशोधन गर्ने गरिएको छ । यसरी परिवर्तन भएका व्यवस्थाका बारेमा आफू जानकार हुनुपर्छ । यसैअनुरुप सेवाग्राहीलाई थाहा दिनुपर्छ ।’ वित्त समितिका संयोजक ईश्वरमान डंगोलले, अहिलेसम्म गरिएका कामले दिएका नतिजाको अध्ययन र सहरी विकासको आवश्यकतालाई अध्ययन गरेर नयाँ योजना बनाउनु पर्नेमा जोड दिए ।

सहरी व्यवस्थापन विभागका प्रमुख अर्चना शाक्य श्रेष्ठका अनुसार, भवन र सडक सञ्जाललगायत पूर्वाधार सम्बन्धित विवरण अद्यावधिक गर्ने र घर नम्बर वितरण गर्ने योजनाबमोजिम काम भइरहेको छ ।

कार्यक्रममा सहरी व्यवस्थापन विभागका वरिष्ठ इञ्जिनियर जीवन रेग्मीले भवन मापदण्ड र संहितामा भएका व्यवस्थाका विषयमा कार्यपत्र प्रस्तुत गर्दै भित्री सहरी क्षेत्रमा १ तला र वाहिरी वडामा २ तला बेसमेन्ट बनाउन सकिने बताए ।

१७ मिटर (अधिकतम ५ तला) भन्दा अग्ला वा १० हजार स्क्वायरफिटभन्दा धेरै क्षेत्रफल भएका भवन बनाउँदा अनिवार्य भूप्राविधिक अनुसन्धान (जिओ टेक्निकल इन्भेष्टिगेसन) गर्नुपर्ने व्यवस्था गरिएको रेग्मीको भनाइ छ ।

गत वर्ष लाभांश दिएका यी २४ कम्पनीले गरे बोनस सेयर सूचीकृत Read Previous

गत वर्ष लाभांश दिएका यी २४ कम्पनीले गरे बोनस सेयर सूचीकृत

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन Read Next

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन