लयमा फर्किँदै घरजग्गा कारोबार, फागुनमा १० महिना यताकै धेरै किनबेच

काठमाडौं । नीतिगत लचकतासँगै घरजग्गा कारोबारमा क्रमशः सुधार आउन थालेको छ । विगत डेढ वर्षदेखि सुस्ताएको घरजग्गा कारोबार पछिल्ला महिनाहरूमा लयमा आउन थालेको हो ।

सरकार र नेपाल राष्ट्र बैंकले लिएको नीतिगत लचकतापछि घरजग्गा व्यवसाय चलायमान हुन थालेको हो । सरकारले गत साउनदेखि कित्ताकाटमा खुकुलो बनाएको छ । त्यस्तै, नेपाल राष्ट्र बैंकले घरजग्गा क्षेत्रमा कर्जा लगानीमा लगाएको अंकुश हटाउँदै लगेको छ । जसकारण यो क्षेत्रमा क्रमशः सुधार आउन थालेको हो ।

चालु आर्थिक वर्षको मंसिरदेखि घरजग्गा किनबेच महिनैपिच्छे बढिरहेको हो । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुन महिनामा मा देशभरका मालपोत कार्यालयबाट कुल ५० हजार ९९८ वटा घरजग्गा किनबेच (लिखत पारित) भएको छ ।

यो २०८० जेठ यताकै सबैभन्दा धेरै हो । यसअघि माघ महिनामा सर्वाधिक ४९ हजार २६३ वटा घरजग्ग किनबेच भएको थियो । माघको तुलनामा फागुनमा १ हजार ७०८ वटा धेरै घरजग्गा किनबेच भएको विभागको तथ्यांकले देखाएको छ ।

चालु आवको ८ महिनामा कुल ३ लाख ३८ हजार २०४ वटा घरजग्गा किनबेच भएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा २४.२६ प्रतिशत अर्थात् ६६ हजार ४७ प्रतिशत धेरै हो ।

चालु आवको साउनमा ४९ हजार २६३, भदौमा ३५ हजार ६८६, असोजमा ३९ हजार ७९३, कात्तिकमा २६ हजार ४६, मंसिरमा ४१ हजार ८५१ र पुसमा ४५ हजार २७७ वटा घरजग्गाको किनबेच भएको छ ।

सरकारी नीतिगत सहजता, घरजग्गा कर्जा लगानीमा लचकता, बैंकिङ प्रणालीमा अधिक तरलता, घट्दो ब्याजदर, अर्थतन्त्रमा क्रमशः देखिन थालेको सुधार लगायत कारणले माघमा घरजग्गा कारोबारमा उल्लेख्य सुधार आएको हो ।

सरकारले २०७९ जेठमा सरकारले भूउपयोग नियमावली लागू गरे यता घरजग्गा कारोबारमा चरम मन्दी आएको थियो । घरजग्गा कारोबार घट्दा समग्र अर्थतन्त्र नै मन्दीमा गएको भन्दै पछिल्लो समय सरकारले नीतिगत लचकता अपनाएको छ ।

सरकारले गत साउन अन्तिममा भूउपयोग नियमावली संशोधन गरेर यथास्थितिमै कित्ताकाट खुलाएको थियो । सरकारको सो निर्णयपछि अहिले कित्ताकाट सहज भएको छ ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले पनि घरजग्गा क्षेत्रमा कर्जा लगानीमा लचकता अपनाएको छ । राष्ट्र बैंकले मौद्रिक नीति मार्फत व्यक्तिगत घर कर्जाको सीमा बढाएर २ करोड पुर्याएको छ भने रियल स्टेट कम्पनीलाई दिइने कर्जाको भार १०० प्रतिशतमा झारेको थियो । त्यस्तै, पहिलो त्रैमासिम समीक्षा मार्फत रिय ई–स्टेट कर्जाको जोखिमभार १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारेको छ ।

त्यस्तै, राष्ट्र बैंकले गत असोजमा घरजग्गा धितो कर्जाको सीमा पनि बढाएको थियो । ५० लाख रुपैयाँसम्म व्यक्तिगत आवसीय कर्जा प्रवाह गर्दा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको थियो । त्यसअघि लोन टु भ्यालु रेसियो काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यका बाहिर ४० प्रतिशत थियो ।

त्यसैगरी, काठमाडौं उपत्यका भित्र रियल ई-स्टेट कर्जाको धितो संरक्षणमा ‘लोन टु भ्यालु रेसियो’ ५० प्रतिशत पुर्याएको थियो । साथै, नेपाल सरकारबाट स्वीकृति प्राप्त घर निर्माण व्यवसाय कम्पनीरपरियोजनाहरूलाई आवासीय घर निर्माणको लागि प्रदान गरिने कर्जाको हकमा यस्तो अनुपात बढीमा ६० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था गरेको थियो । त्यससअघि यस्तो सीमा ४० प्रतिशत थियो ।

यस्तै, पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता हुँदा सहजै कर्जा पाइने अवस्था छ भने ब्याजदर समेत घट्दो क्रममा छ । अहिले बैंकहरूको औसत बेसरेट एकल अंकमा झरिसकेको छ । नीतिगत कडाइ र आर्थिक मन्दीका पछिल्लो समय घरजग्गा किनबेच गर्न नसकेकाहरू अहिले बैंकबाट ऋण लिएर किन्न थालेको छन् । जसले घरजग्गा कारोबार चलायमान बनाउँदै लगेको छ । पछिल्ला महिनाहरूमा क्रमशः आर्थिक गतिविधिहरू चलायमान हुन थालेकाले पनि कारोबारमा सुधार देखिएको हो ।

राजस्व भने घट्यो

माघको तुलनामा फागुनमा घरजग्गा किनबेच बढे पनि राजस्व भने घटेको छ । विभागका अनुसार माघको तुलनामा फागुनमा घरजग्गा कारोबार बापत प्राप्त हुने राजस्व १२ करोड रुपैयाँले घटेको छ ।

माघमा घरजग्गा कारोबारबाट ३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन भएकोमा फागुनमा ३ अर्ब ५९ करोड रुपैयाँमा सीमित भएको छ । चालु आवको ८ महिनामा घरजग्गा कारोबारबाट कुल २५ अर्ब ९४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

घरजग्गा कारोबार बापत सरकारले साउनमा २ अर्ब ९१ करोड, भदौमा ३ अर्ब ६ करोड, असोजमा ४ अर्ब ४३ करोड ५४ लाख, कात्तिकमा २ अर्ब १६ करोड ३८ लाख, मंसिरमा २ अर्ब ८६ करोड र पुसमा ३ अर्ब २० करोड रुपैयाँ राजस्व पाएको छ ।

यी ठाउँमा भयो धेरै किनबेच

फागुन महिनामा पनि विगतमा जस्तै तराईका जिल्लाहरूमा धेरै घरजग्गा किनबेच भएको छ । यस महिना मालपोत कार्यालयब इनरुवाबाट सबैभन्दा धरै २ हजार ६ वटा लिखत पारित भएको छ।

त्यस्तै, मालपोत कार्यालय जनकपुरधामबाट १ हजार ९९७, भद्रपुरबाट १ हजार ८५०, बेलबारीबाट १ हजार ६४३, राजविराजबाट १ हजार ३६५, जलेश्वरबाट १ हजार २८४, मलंगवाबाट १ हजार ११४, सिराहाबाट १ हजार ८६ र तौलीहवाबाट १ हजार ३५ वटा घरजग्गा किनबेच भएका छन् ।

काठमाडौं उपत्यकामा मालपोत कार्यालय भक्तपुरबाट सबैभन्दा धेरै ९७१ वटा घरजग्गा किनबेच भएका छन् । त्यस्तै, मालपोत कार्यालय लगनखेलबाट ९३१, कलंकीबट ७०७, चाबहिलबाट ४५१, साँखुबाट ४०२, मनमैजुबाट ३१५, डिल्लीबजारबाट २११, टोखाबाट १९१ लिखत पारित भएको विभागको तथ्यांक छ ।

 

तनहुँबाट हुने 'लाइसेन्स'को लिखित र ट्रायल बन्द Read Previous

तनहुँबाट हुने 'लाइसेन्स'को लिखित र ट्रायल बन्द

सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन Read Next

सुन जाँचबुझ आयोगका सिफारिस कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन