काठमाडौं । काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले मंगलबार १ वर्ष पूरा गर्यो । प्रधानमन्त्री दाहालले राष्ट्रको नाममा सम्बोधन गर्दै यस अवधिमा सरकारले अपेक्षित काम गर्न नसके पछि असफल नै भने नरहेको बताए ।
उनले सरकारको पहलले संकटको डिलमा पुगेको अर्थतन्त्रमा अहिले सुधार आएको बताए । उनले सडक, रेल, सुरुङ, जलमार्गजस्ता पूर्वाधार निर्माण र विकासमा पनि सरकारले उपलब्धि हासिल गरेको बताए । यद्यपि, राष्ट्रिय गौरवका आयोजनासहित ठूला आयोजनाले अपेक्षित प्रगति हासिल गर्न नसकेको बताए ।यस्तो छ उनको नेतृत्वको सरकारले पूर्वाधार क्षेत्रमा १ वर्षमा गरेका काम ।
पछिल्लो १ वर्षको अवधिमा सडक विभागअन्तर्गत मात्रै कूल ८३१ किमी कालोपत्र सडक निर्माण भएको छ । यस्तै, ६२६ किमी ग्राभेल सडक, २८६ किमी नयाँ ‘ट्र्याक’ र २२९ वटा पुल निर्माण सम्पन्न भएको छ । यस अवधिमा कूल २३३ किमी सडक कालोपत्रस्तरमा पुनर्निर्माण तथा स्तरोन्नति भएको छ । यस अवधिमा जम्मा ५७७ किमी सडकको आवधिक मर्मतसम्भार कार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ ।
कर्णाली कोरिडोर (खुलालु–सिमकोट–हिल्सा सडक, २६९ किमी) सडकअन्तर्गत चेनेज–सलिसल्ला, कर्णाली नदीमाथि बेलिब्रिज निर्माण सम्पन्न भएको छ । हाल चेनेज–स्यालतडीसम्म सवारी साधन सञ्चालन भएको छ । चालु आवको अन्त्यसम्म चेनेज–सिमकोटसम्म सवारी साधन सञ्चालन हुने सम्भावना रहेको मन्त्रालयले जनाएको छ ।
बुटवल–गोरुसिङ्गे–चनौटा सडक स्तरोन्नति काम जारी छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरुसिङ्गे–चनौटा सडकखण्डको सुपर्भिजन परामर्शदाताको ठेक्का सम्झौता सम्पन्न भएको र निर्माण व्यवसायी छनोट गर्न यही पुस ५ मा बोलपत्र आह्वान गरिएको छ । लौकही–कांकरभिट्टा सडक खण्ड (९५ किमी) चार लेनमा स्तरोन्नति गर्नका ठेक्का सम्झौता भएको छ ।
गएको एक वर्षमा मध्यपहाडी लोकमार्गको १२७ किलोमिटर कालोपत्र सडक निर्माण भएको छ । अघिल्लो वर्ष कूल १ हजार २८७ किमी बनेकामा यो वर्ष २२७ किमी थप भएर १ हजार ४१२ किलोमिटर निर्माण भएको छ । हुलाकी लोकमार्ग कालोपत्र सडक निर्माणतर्फ पनि सरकार गठन पछिको एक वर्ष १४४ किलोमिटर सकड निर्माण थप भएको छ ।
गत वर्ष ९१० किमी सडक निर्माण भएकामा यो अवधिमा थपिएर १ हजार ५४ किमी निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ । कोशी कोरिडोर क्षेत्रमा १७ किमी ग्राभेल सडक निर्माण भएको छ । गत वर्ष ५७ किमी सडक निर्माण भएको मा अहिले ७४ किलोमिटर निर्माण सम्पन्न भएको छ ।
कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) तर्फ गएको एक वर्षमा ६६ किलोमिटर कालोपत्र सडक थप गरिएको छ । गएको वर्ष ११७ किमी निर्माण भएकामा यस वर्ष १८३ किलोमिटर निर्माण सम्पन्न भएको छ । कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोराला) खण्डतर्फ २९ बाट ३५ किलोमिटर निर्माण सम्पन्न भएको छ ।
गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी कालोपत्र सडक २९ बाट ३६ किलोमिटर पुगेको छ । कर्णाली कोरिडोरको ट्र्याक निर्माण यो वर्ष ५.५ किमी थप भई २६५.५ किमी निर्माण भएको छ । मदन भण्डारी लोकमार्गमा १८.५ किलोमिटर कालोपत्र सडक थप भई कूल २८१ किलोमिटर सम्पन्न भएको छ ।
नारायणघाट–बुटवल सडक योजना (दुई लेन)मा उल्लेख्य प्रगति भई यो सरकारको अवधिमा ३२.५ किमी कालोपत्र सडक निर्माण भएको छ । गत वर्षको पुसमा दुई किलोमिटर मात्रै सम्पन्न भएको थियो । मुग्लिन पोखरा सडक योजना (दुई लेन) मा १२ किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । गत वर्षको यो अवधिमा कालोपत्र सुरु नै भएको थिएन ।
यस अवधिमा ५ किलोमिटर बढी सुरुङ खनिएको छ भने दाङ, अर्घाखाँची र मनाङमा सुरुङमार्ग निर्माणको सम्भाव्यता अध्ययनको चरणमा रहेको छ । रेलमार्ग, राष्ट्रिय गौरव र रुपान्तरणकारी आयोजनाहरुको काम तीव्र रुपमा अघि बढाइएको छ । यस्तै, सरकारले प्रणालीगत र नीतिगत सुधारका धेरै प्रयास भौतिक पूर्वाधार र यातायातका क्षेत्रमा गरेको छ ।
रेलमार्ग
मेची महाकाली विद्युतीय रेलमार्गको बर्दिवास–चोचा खण्डमा सरकार गठनको एक वर्षको अवधिमा थप ८ किमी ट्रयाक–बेड निर्माण भई हालसम्म ६२ किमी ‘ट्र्याक–बेड’ निर्माण सम्पन्न भएको । यस्तै थप पाँचवटा रेल पुल निर्माण भई हालसम्म १२ वटा रेल पुल निर्माण सम्पन्न भएको छ ।
जयनगर–जनकपुर–बर्दिबास रेलमार्ग सञ्चालन भइरहेको छ । सो खण्डको ६९ किमीमध्ये जयनगर–जनकपुर–कुर्था ३५ किमी र विजलपुरासम्म थप १७ किमीसमेत गरी कूल ५२ किमी खण्डमा निर्माण कार्य सम्पन्न भई रेल सेवा सञ्चालनमा रहेको छ । बथनाहा–विराटनगर रेलमार्ग १८ किमीमध्ये १० किमी रेलमार्ग निर्माण सम्पन्न भएको र नेपाल कस्टम यार्डसम्म कार्गो रेल सेवा सञ्चालनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।
सुरुङ मार्गको ‘ब्रेक थ्रू’
यस अवधिमा थप १ हजार ५८१ मिटरसहित हालसम्म जम्मा ५ हजार ३८१ मिटर सुरुङ खन्ने कार्य सम्पन्न भएको छ । नागढुङ्गा–नौबिसे सुरुङ्गमार्गअन्तर्गत श्रावण २२ मा आपत्कालीन सुरुङको ब्रेक थ्रु भएको थियो । मुख्य सुरुङ मार्गको पनि जोडिने क्रममा रहेको छ ।
थप तीनवटा (दाङ, अर्घाखाँची र मनाङ) जिल्लामा नयाँ सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन अन्तिम चरणमा पुगेको छ । सिद्धबाबा सुरुङ मार्गको निर्माण कार्य सुरु भई हाल दक्षिण विन्दुमा क्यानोपीको र उत्तर विन्दुमा स्लोप स्टेपलाइजेसनको काम जारी छ ।
सिग्नेचर पुल निर्माण
नारायणी नदीमा सिग्नेचर पुल निर्माणको लागि ठेक्का सम्झौता भएको छ । तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि विश्व बैङ्कको ऋण सहयोगमा पूर्व दक्षिण एसियाको यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमको सुरुआत गरिएको छ । पृथ्वी राजमार्गको सेती नदीमा सिग्नेचर पुल निर्माण कार्य र मादी नदी पुल निर्माण कार्यको थालनी भएको छ । ग्वार्कोमा ‘फ्लाइओभर’ निर्माण कार्य जारी रहेको छ ।