काठमाडौं । घरजग्गा व्यवसाय तराईमा माैलाउँदै गएकाे छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागकाे तथ्यांकअनुसार तराई इलाका घरजग्गा किनबेचकाे केन्द्र बनेकाे हाे ।
सरकारले गत साउनदेखि भूउपयाेग नियमावली संशोधन गरेयता घरजग्गा व्यवसायमा सुधार हुँदै गएकाे छ । जसअनुसार तराईका सहर र सहरउन्मुख क्षेत्रहरू काराेबार र किनबेचका लागि मानिसकाे राेजाइमा परेका हुन् ।
कित्ताकाट र घरजग्गा किनबेच सबैभन्दा धेरै तराई क्षेत्रमा मौलाएको छ । देशका मुख्य सहर र प्रदेश राजधानीहरुमा मानिसको बसोबास बाक्लो छ । पहाडबाट तराईतिर बसाँइसराई गर्नेक्रम बढ्दो छ । सोही कारण यी क्षेत्रहरुमा घरजग्गाको कारोबारका लागि हटस्पट बनेको हो ।
एकातिर खेतीयोग्य जमिन टुक्राएर घडेरीको रुपमा बिक्री भइरहेको छ भने अर्कोतिर उच्च मागका कारण जग्गाको मूल्य पनि सोही अनुसार वृद्धि भइरहेको छ ।
भूमाफियाको सक्रियताका कारण खेतीयोग्य जमिन समेत प्लटिङ गरेर टुक्राइएको र त्यसले जग्गाको मूल्यमा व्यापक वृद्धि भइरहेको अर्थशास्त्रीहरु बताउँछन् ।
घरजग्गा व्यवसायीहरू भने उपत्यकामा जग्गाको मूल्य महंगाे हुनुका साथै ठाउँ नपाइने भएपछि मानिस तराईतिर आकर्षित हुन थालेकाे बताउँछन् ।
यी ठाउँहरूमा पूर्वाधार संरचनाकाे पनि पहाडकाे तुलनामा राम्रो विकास भएकाे र सेवासुविधा लगायत अवसरहरू बढ्दै गएका कारण घरजग्गा किनबेचका लागि सबैकाे राेजाइमा परिरहेकाे उनीहरूकाे भनाइ छ ।
यी हुन् सबैभन्दा धेरै किनबेच हुने ठाउँ
चालु आर्थिक वर्षको चार महिनामा सबैभन्दा धेरै घरजग्गा किनबेच मोरङमा ९ हजार २५३ भएको छ । कित्ताकाट भने सर्वाधिक झापामा २० हजार ७४६ भएको छ । मोरङमा कात्तिकसम्म १९ हजार ६०९ कित्ताकाट भएको विभागले जनाएको छ ।
सुनसरीमा ८ हजार १५८ कित्ताकाट घरजग्गा कारोबार हुँदा १६ हजार २१९ कित्ताकाट भएको छ । कात्तिकसम्म काठमाडौंका विभिन्न मालपोत कार्यालयबाट ७ हजार ७० घरजग्गा किनबेच हुँदा १४ हजार ७३७ कित्ताकाट भएको छ ।
यसैगरी, सिरहा, धनुषा, दाङ, सप्तरी, सर्लाही, रौतहट, चितवन, बारा, महोत्तरी, बाँके, कैलाली, पर्सा कास्की, भक्तपुर, ललितपुर र रुपन्देही लगायतका जिल्लाहरुमा सबैभन्दा धेरै घरजग्गा किनबेच र कित्ताकाट भएको विभागको तथ्यांकले देखाउँछ ।