कात्तिकमा ९ महिना यताकै कम कित्ताकाट, यी ठाउँमा भयो धेरै

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिकमा जग्गाको कित्ताकाटमा भारी गिरावट आएको छ । गत साउनदेखि लगातार बढिरहेको कित्ताकाट कात्तिकमा भने सुस्ताएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार कात्तिकमा ३० हजार कित्ता जमिनको कित्ताकाट गरी ७० हजार टुक्रा बनाइएको छ । यो ९ महिना यताकै कम हो भने असोजको तुलनामा ३४ प्रतिशतले कम हो ।

असोजमा देशभरका मालपोत कार्यालयबाट ४७ हजार कित्ता जमिनको कित्ताकाटपछि १ लाख ६ हजार टुक्रा पारिएको थियो । पछिल्लो एक महिनामा ३६ हजारले जमिनको कित्ताकाट घटेको तथ्यांकले देखाउँछ ।

गत वर्षको कात्तिकको तुलनामा भने यो महिना जग्गाको कित्ताकाट ४७ हजारले बढेको छ । २०७९ को कात्तिकमा २२ हजार कित्ताकाट भएको थियो । कात्तिकमा समग्र घरजग्गा व्यवसायमा गिरावट आएका कारण कित्ताकाट घटेको हो । दशैंतिहार लगायत चाडपर्व भएकाले आधा महिना मात्रै कारोबार हुँदा व्यवसायमा सुस्तता देखिएको व्यवसायीहरू बताउँछन् । विभागका अनुसार यो महिना जग्गाको कारोबार ३५ प्रतिशत र राजस्व संकलन पनि आधाले घटेको छ । सरकार र नेपाल राष्ट्र बैंकले चालु आवदेखि घरजग्गा व्यवसायलाई टेवा पुग्नेगरी खुकुलो नीति लिएका छन् ।

सरकारले गत जेठमै भूउपयोग नियमावली संशोधन गरेर कित्ताकाट खुलाउने बताएको थियो । तर, सो निर्णय कार्यान्वयन भने साउन मसान्तमा आएर भएको थियो । सरकारले घरजग्गा कारोबारमा आएको सुस्तताले आर्थिक मन्दीलाई सहयोग पुर्याएको भन्दै गत साउनमा भूउपयोग नियमावली २०७९ संशोधन गरेर यथास्थितिमै कित्ताकाट खुलाएको थियो ।

भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७९ जेठमा भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएसँगै त्यसपछिको एक वर्ष कित्ताकाट र कारोबारमा शिथिलता देखिएको थियो ।

पछिल्लो समय बैंकिङ प्रणालीमा थुप्रिएको तरलता र घट्दो ब्याजदरका कारण घरजग्गा व्यवसायमा सुधार हुने व्यवसायीहरू बताउँछन् । अफ सिजन भएकाले अहिले कारोबार घटे पनि सन्तोषजनक रहेको उनीहरूको भनाइ छ ।

कुन महिना कति कित्ताकाट ?

विभागका अनुसार भालु आवमा सबैभन्दा धेरै असोजमा जग्गाको कित्ताकाट भएको छ । सबैभन्दा न्यून भने यही कात्तिकमा कित्ताकाट भएको तथ्यांकले देखाउँछ ।

असोजमा देशभरका मालपोत कार्यालयबाट ४७ हजार जमिनलाई कित्ताकाट गरेर १ लाख ६ हजार टुक्रा पारिएको छ । भदौमा ३६ हजार २८० कित्ता जमिनलाई खण्डीकरण गरी ८० हजार ३१७ टुक्रा पारिएको थियो । त्यस्तै, साउनमा ३५ हजार कित्ता जमिनको कित्ताकाट गरेर ७७ हजार बनाइएको विभागले जनाएको छ ।

यी हुन सर्वाधिक कित्ताकाट भएका ठाउँ

कात्तिकमा सर्वाधिक कित्ताकाट उपत्यका र तराईका जिल्लामा भएको छ । विभागको तथ्यांक अनुसार भूमि सुधार तथा मालपोत कार्यालय झापाको भद्रपुर र दमक मालपोत कार्यालयबाट सबैधन्दा धेरै कित्ताकाट भएको छ ।

कात्तिकमा भद्रपुर मालपोत कार्यालयबाट १२९९ कित्ता जमिलानलाई २८७७ र दमक कार्यालयबाट ४९२ कित्तालाई १२२३ टुक्रा पारिएको छ ।

सुनसरीको इनरुवा मालपोत कार्यालयबाट १ हजार ५० जमिनको कित्ताकाट गरेर २ हजार ५३, मोरङको बेलवारी मालपोत कार्यालयबाट ७१२ कित्ता जमिनको कित्ताकाट गरेर २ हजार ३० टुक्रा, रङगेली मालपोतबाट २३३ लाई ४७३ टुक्रा बनाइएको छ ।

बाँकेको नेपालगञ्ज मालपोत कार्यालयबाट ५३८ कित्ता जमिनलाई १ हजार १५३ टुक्रा, कैलालीको धनगढीमा ९८५ बाट १९८२, पर्साबाट ९०३ लाई १७९५, मालपोत कार्यालय सप्तरीको राजविराजबाट ११२९ कित्तालाई २९०७ टुक्रा बनाइएको छ ।

उपत्यकामा ललितपुरको लगनखेलबाट ६१९ लाई ११३५, भक्तपुर मालपोत कार्यालयबाट ४०९० कित्तालाई ९४०, काठमाडौंको डिल्लीबजारबाट ६१ कित्तालाई ९६, कलंकीबाट ३७६ कित्तालाई ८१२ र साँखु मालपोत कार्यालयबाट १५३ कित्ता जमिनलाई ४२४ टुक्रा पारिएको विभागको तथ्यांक छ ।

 

भूकम्प प्रभावितसहित १९ जिल्लामा टेलिकमको नमूना सेवा Read Previous

भूकम्प प्रभावितसहित १९ जिल्लामा टेलिकमको नमूना सेवा

४० करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक Read Next

४० करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक