शिवम् सिमेन्ट ५.३४ करोड घाटामा, बिक्री बढ्दा पनि किन गयो नोक्सानीमा ?

काठमाडौं । शिवम् सिमेन्ट नोक्सानीमा गएको छ । कम्पनीले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार ५ करोड ३४ लाख रुपैयाँ नोक्सानीमा गएको हो ।

कम्पनीले गत वर्ष सोही अवधिमा २७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको बिक्री आम्दानी बढे पनि अन्य आम्दानी घट्दा र खर्च बढ्दा नोक्सानीमा गएको हो ।

समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ६.०६ प्रतिशतले बढेर १ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । कम्पनीको अन्य आम्दानी भने ९३.२२ प्रतिशतले घटेर २ करोड १२ लाखमा सीमित भएको छ ।

कम्पनीले अन्य आम्दानी बापत गत वर्ष होङ्शी सिमेन्टबाट ३१ करोड ३४ लाख रुपैयाँ लाभांश पाएको थियो । यस वर्ष होङ्शीले लाभांश नदिएकाले अन्य आम्दानी घटेको हो ।

यस अवधिमा कम्पनीको कुल खर्च ७.९३ प्रतिशतले बढेर १ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । हाल ४ अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सेयर प्रिमियममा ९५ करोड ६२ लाख र जगेडा कोषमा ३ अर्ब ६६ करोड रुपैयाँ संचित छ ।

नोक्सानीमा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २४.९८ रुपैयाँबाट घटेर ४.८६ रुपैयाँ ऋणात्मक भएके छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०५.०५ रुपैयाँ छ ।

उन्नति सहकार्य लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन Read Previous

उन्नति सहकार्य लघुवित्तको एफपीओ भर्ने आज अन्तिम दिन

युनिलिभरको नाफामा उछाल, प्रतिसेयर आम्दानी नै २२२२ रुपैयाँ Read Next

युनिलिभरको नाफामा उछाल, प्रतिसेयर आम्दानी नै २२२२ रुपैयाँ