खुकुलो नीतिले बढ्यो कित्ताकाट, भदौमा यी ठाउँमा पारियो धेरै टुक्रा

काठमाडौं । सरकारले खुकुलो नीति लिएसँगै भदौमा जग्गाको कित्ताकाट बढेको छ । सरकारले साउन अन्तिम साता यथास्थितिमै कित्ताकाट खुलाएसँगै भदौमा कित्ताकाट बढेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार भदौमा ३६ हजार २८० कित्ता जमिनलाई खण्डीकरण गरी ८० हजार ३१७ टुक्रा पारिएको छ । यो अघिल्लो महिना साउनको तुलनामा ३ हजार २४९ बढी हो । गत साउनमा देशभरका मालपोत कार्यालयबाट ३५ हजार २९१ कित्ता जमिन कित्ताकाट गरेर ७७ हजार ६८ टुक्रा बनाइएको विभागले जनाएको छ ।

गत वर्षको तुलनामा भने चालु वर्षको भदौमा कित्ताकाट चार गुणाले बढेको छ । आर्थिक वर्ष २०७९/८० को भदौमा १० हजार ७५२ कित्ता जग्गालाई २१ हजार ५३० टुक्रा पारिएकोमा चालु वर्षको भदौमा ८० हजार बढी टुक्रा पारिएको हो ।

सरकारले घरजग्गा कारोबारमा मन्दी आउँदा समग्र अर्थतन्त्रमै संकुचन आएको भन्दै यथास्थितिमै कित्ताकाट खुलाएको थियो । २०७९ जेठमा भू उपयोग नियमावली लागू गर्दै हरेक स्थानीय तहले आफ्नो क्षेत्रको कृषि र गैरकृषि जमिन वर्गीकरण नगरी कित्ताकाट गर्न नपाउने व्यवस्था गरेको थियो । तर, १ वर्षमै आफ्नो नीतिबाट पछि हट्दै सरकारले साउन अन्तिमसाता भूउपयोग नियमावली संशोधन गरेर यथास्थितिमै कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो ।

जमिनको कित्ताकाट खुला गर्न गरिएको सोही नीतिगत सहजताले भदौमा कित्ताकाट बढेको हो । घरजग्गा व्यवसायीले लामो समयदेखि कित्ताकाट खुकुलो बनाउन माग गर्दै आएका थिए ।

भदौमा कित्ताकाट बढे पनि घरजग्गा किनबेच भने घटेको विभागको तथ्यांक छ । भदौमा देशभरका मालपोत कार्यालयबाट ३५ हजार ६८६ किनबेच (लिखत पारित) भएको छ । जबकि साउनमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच भएको थियो ।

सरकार र नेपाल राष्ट्र बैंकले घरजग्गा व्यवसायमा खुकुलो नीति लिए पनि बैंकको ब्याज महँगो हुनु, घरजग्गा कारोबारका लागि अफसिजन हुँदा लगायत कारणले कारोबार घटेको व्यवसायीहरू बताउँछन् । अर्थतन्त्र चलायमान हुँदै गए क्रमशः घरजग्गा कारोबार पनि बढ्दै जाने उनीहरूको अपेक्षा छ ।

यी हुन सर्वाधिक कित्ताकाट भएका ठाउँ

भदौमा सर्वाधिक कित्ताकाट उपत्यका र तराईका जिल्लामा भएको छ । विभागको तथ्यांक अनुसार भूमि सुधार तथा मालपोत कार्यालय झापाको भद्रपुरबाट सर्वाधिक कित्ताकाट भएको छ । यस कार्यालयबाट १ हजार ९५८ कित्ताकाट गरेर ४ हजार ३१६ टुक्रा पारिएको छ ।

त्यसैगरी, सुनसरीको इनरुवा मालपोत कार्यालयबाट १ हजार ७४८ जमिनको कित्ताकाट गरेर ४ हजार २३, बाँकेको नेपालगञ्ज मालपोत कार्यालयबाट १ हजार १०५ कित्ता जमिनलाई २ हजार १६१ टुक्रा पारिएको छ ।

यस्तै, कैलालीको धनगढीमा १०७२ बाट १९७६, मोरङको बेलवारी कार्यालयबाट १०९० जमिनको कित्ताकाट गरेर २६४८ टुक्रा बनाइएको छ । पर्साबाट ९६६ लाई १९९९, मालपोत कार्यालय सप्तरीको राजविराजबाट ८३० लाई १९३९, जनकपुर कार्यालयबाट ९३२ लाई कित्ताकाट गरेर २१७९ टुक्रा बनाइएको छ ।

उपत्यकामा ललितपुरको लगनखेलबाट ७३९ लाई १४९३, भक्तपुर मालपोत कार्यालयबाट ६७१ लाई १६०५, काठमाडौंको डिल्लीबजारबाट ११६ लाई १७४, कलंकीबाट ४५० लाई १०९७ र साँखु मालपोत कार्यालयबाट ४२३ कित्ता जमिनलाई कित्ताकाट गरेर १०५६ कित्ता बनाइएको विभागले जनाएको छ ।

यसैगरी, उपत्यकाका चाबहिल मनमैजु, गोटीखेल कार्यालय सहित देशभरका विभिन्न मालपोत कार्यालयबाट जमिनको कित्ताकाट भएको छ भने धेरै जसो तराई क्षेत्र र सहरउन्मुख ठाउँहरू मानिसको रोजाइमा परेको देखिन्छ ।

 

रसुवागढी नाकाबाट बढ्दै व्यापार, उठ्यो लक्ष्यभन्दा पाँच गुणा धेरै राजस्व Read Previous

रसुवागढी नाकाबाट बढ्दै व्यापार, उठ्यो लक्ष्यभन्दा पाँच गुणा धेरै राजस्व

स्थापनको ८ वर्षसम्म संचालनमा आएन नौबस्ता औद्योगिक क्षेत्र Read Next

स्थापनको ८ वर्षसम्म संचालनमा आएन नौबस्ता औद्योगिक क्षेत्र