नीतिगत लचकताले पनि घरजग्गा कारोबारमा आएन सुधार, किनबेच लगातार घट्दै

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो महिना (भदौ)मा घरजग्गा कारोबारमा गिरावट आएको छ । सरकारले अर्थतन्त्र चालयमान बनाउन भन्दै कित्ताकाट खुकुलो बनाए पनि कारोबार भने झन् घटेको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार भदौमा ३५ हजार ६८६ घरजग्गा किनबेच (लिखत पारित)भएको छ । यो साउनको तुलनामा ३ हजार ५७७ वटाले कम हो । साउनमा देशभरका मालपोत कार्यालयहरूबाट कुल ३९ हजार २६३ घरजग्गा किनबेच भएको थियो ।

त्यस्तै, असारको तुलनामा भदौमा घरजग्गा किनबेच १३ हजारले घटेको छ ।असारमा देशभरका मालपोत कार्यालयहरुबाट ४८ हजार ७७१ लिखत पारित भएको थियो।

घरजग्गा व्यवसायमा गिरावट आएसँगै सरकारले त्यसवापत प्राप्त गर्ने राजस्व समेत प्रभावित हुँदै आएको छ । सरकारले २०७९ जेठमा भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएपछि ओरालो लागेको घरजग्गा व्यवसायले अझै गति लिन सकेको छैन ।

घरजग्गा कारोबार सुस्त हुँदा समग्र अर्थतन्त्र नै मन्दीमो गएको भन्दै सरकारले गत साउन अन्तिम साता भूउपयोग नियमावली संशोधन गरेर यथास्थितिमै कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो ।

त्यस्तै, नेपाल राष्ट्र बैंकले पनि घरजग्गा कारोबारमा सुधार ल्याउन व्यक्तिगत घर कर्जाको सीमा बढाएर २ करोड पुर्याएको छ भने रियल स्टेट कम्पनीलाई दिइने कर्जाको भार १०० प्रतिशतमा झारेको छ । तर, सरकार र राष्ट्र बैंकले घरजग्गा कारोबार उकास्न नीतिगत प्रयास गरे पनि कारोबार भने झन् घटेको हो ।

घरजग्गा व्यवसायमा नीतिगत लचकता अपनाइए पनि समग्र अर्थतन्त्र चलायमान हुन नसक्दा कारोबार बढ्न नसकेको व्यवसायीहरू बताउँछन् । साथै, अहिले बैंकको ब्याजदर महँगो रहेको र घरजग्गा किनबेचको अफसिजन समेत भएकाले कारोबारमा सुधार आउन नसकेको उनीहरूको भनाइ छ ।

राजस्व भने बढ्यो

चालु आवको भदौमा घरजग्गाको किनबेच घटे पनि राजस्व भने बढेको छ । मुख्य सहरी र तराईका क्षेत्रहरूमा किनबेच बढ्दा राजस्व संकलन पनि बढेको हो ।

विभागका अनुसार साउनकाे तुलनामा भदौमा राजस्व संकलन १३ करोड ५५ लाख रुपैयाँले बढेकाे छ । घरजग्गा कारोबार वापत साउनमा सरकारले कुल २ अर्ब ५१ करोड रुपैयाँ राजस्व संकलन भएकाेमा भदौमा ३ अर्ब ६ करोड रुपैयाँ पुगेको छ ।

भदाैमा यी ठाउँमा भयाे धेरै किनबेच

विभागका अनुसार भदौमा सर्वाधिक घरजग्गा किनबेच तराईका जिल्लाहरूमा भएको छ । सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सर्वाधिक १ हजार ८७१ वटा घरजग्गा किनबेच भएको छ ।

त्यस्तै, धनुषाको जनकपुर मालपोत कार्यालयबाट १ हजार ४०९, झापाको भद्रपुरबाट १ हजार ३९९, मोरङको बेलवारीबाट १ हजार ३२१, बाँकेको नेपालगञ्ज मालपोत कार्यालयबाट १ हजार ११८ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

त्यसैगरी, सप्तरीको राजविराज मालपोत कार्यालय १०८८, पर्साबाट ८७०, ललितपुरको लगनखेल र भक्तपुरबाट ८४०/८४०, महोत्तरीको जलेश्वर मालपोत कार्यालयबाट ७९७ र सर्लाहीको मलंगवा मालपोत कार्यालयबाट ७८२ घरजग्गा किनबेच भएका छन् ।

ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने सरकारको तयारी Read Previous

ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रुपमा विकास गर्ने सरकारको तयारी

पशुपति क्षेत्रभित्रको पार्किङको ठेक्का सम्झौता रद्द Read Next

पशुपति क्षेत्रभित्रको पार्किङको ठेक्का सम्झौता रद्द