कित्ताकाट खुला : अर्थतन्त्र चलायमान बनाउन कि ‘बिचौलिया’ पोस्न ?

काठमाडौं । सरकारले जग्गाको कित्ताकाट खुला गर्न भू-उपयोग नियमावली संशोधन गरेको छ । साउन ३० को मन्त्रिपरिषद् बैठकले नियमावली संशोधन गरेर कित्ताकाटको बाटो खुला गरिदिएको हो ।

एक वर्षअघि जारी गरेको नियमावली कार्यान्वयन नहुँदै संशोधन गर्नुले भूमिको उपयोग र व्यवस्थित प्रयोग गर्ने कानुनको मर्ममाथि नै प्रहार भएको जानकारहरू धारणा छ ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक एवं अर्थशास्त्री रघुवीर विष्ट भूउपयोग सम्बन्धी कानुनी स्थायित्व कायम गर्न नसक्दा कृषि र मुलुकको उत्पादनसँग प्रत्यक्ष असर पर्ने बताउँछन् ।

‘सरकारले अहिले नियमावली संशोधन गरेर कित्ताकाट खुलाउने निर्णय गरेको छ । यसले कृषि क्षेत्रको जग्गा खण्डीकरणमा थप प्रोत्साहन गर्ने देखिन्छ,’ उनले भने, ‘नीतिगत स्थायित्व नै भएन । कित्ताकाट किन बन्द गरियो किन नियम कार्यान्वयन नहुँदै खुलाइयो त्यतातिर सरकारको ध्यान गएन् ।’

कृषि जमिनको दुरुपयोग, अस्पिष्ट नीतिगत व्यवस्थाले खाद्य क्षेत्रमै असर पार्ने उनले बताए । तर, अन्य नीतिगत कडाइ कायमै रहेकाले सरकारले सोचे अनुसार नहुने उनले बताए ।

आन्तरिक अर्थतन्त्र चलायमान बनाउन भन्दै गत चैतदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री प्रकाशशरण महतले जग्गाको कित्ताकाट खुला गर्नुपर्ने बताउँदै आएका थिए । सरकारले चैतदेखि जग्गाको कित्ताकाट खुलाउने प्रक्र्रिया अघि बढाए पनि यो निर्णय कार्यान्वयन हुन भने ४ महिना लागेको छ ।

व्यवसायीको लबिङपछि गत वैशाख ५ गतेको मन्त्रिपरिषद् बैठकले जग्गाको कित्ताकाट पुरानै अवस्थामा खोल्ने निर्णय गरेको थियो । तत्काल यो निर्णय कार्यान्वयन हुन नसकेपछि सरकारले चालू आर्थिक वर्षको बजेटमा पनि कित्ताकाट खुला गर्ने विषय समेटेको थियो ।

अर्थविद् डा. चन्द्रमणी अधिकारी सरकारले जग्गाको कित्ताकाट खुला गर्नु तत्कालको लागि ठीकै भए पनि दीर्घकालको लागि व्यवस्थित बनाउनुपर्ने धारणा राख्छन् ।

‘संवैधानिक हिसाबले सम्पत्तिको भोगचलन गर्न पाउनु व्यक्तिको हक हो । लामो समयसम्म जग्गाको कित्ताकाट रोकिदाँ अंशबन्डा समेत रोकिएको थियो,’ उनले भने, ‘त्यो हिसाबले तत्कालको लागि कित्ताकाट खुलाउनु ठीकै हो । तर, दीर्घकाललाई व्यविस्थत गर्नुपर्छ ।’

व्यक्तिगत ढंगले कारोबार गर्दा विचौलियाहरू हाबी भएको उनले बताए । अब सरकारले राजस्व प्राप्त गर्नेगरी घरजग्गा कारोबारलाई व्यवस्थित र संस्थागत ढंग रूपमा बनाउनुपर्ने उनको भनाइ छ ।

भूउपयोग नियमावलीले तोकेको अवधिमा स्थानीय तहले जग्गाको वर्गीकरण गर्न सकेनन् । जसको असर कित्ताकाटमा देखियो । सोही कारण सरकारको ध्यान नियमावली कार्यान्वयनभन्दा संशोधनतिर गयो ।

सरकारले नियमावली संशोधन गरेको मितिदेखि एक वर्षभित्र कृषि र गैरकृषि छुट्याए पनि हुने व्यवस्था गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भू-उपयोग ऐन, २०७६ कार्यान्वयन गर्न २०७९ जेठ २३ मा भूउपयोग नियमावली २०७९ जारी गरेको थियो ।

नियमावलीले ६ महिना भित्र स्थानीय तहमा जग्गालाई कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गरिसक्नुपर्ने व्यवस्था गरेको थियो । यसअघि नियमावलीले जग्गाको वर्गीकरण गरेपछि मात्र कित्ताकाट खुला गर्नुपर्ने व्यवस्था गरेको थियो । अर्थविद् अधिकारी भूउपयोग ऐन, नियमावली ठीक ढंगले गए पनि प्राविधिक पक्ष ख्याल नगर्दा स्थानीय तहले जग्गाको वर्गीकरण गर्न नसकेको बताउँछन् ।

उनी भन्छन्, ‘नियमावलीले जग्गाको वर्गीकरणको सन्दर्भमा स्थानीय तहलाई दिने विषयमा प्राविधिक पक्ष हेरिएन् । त्यो अनुसारको प्रविधि, जनशक्ति आवश्यक हुन्छ भन्ने ख्याल नगर्दा उनीहरूले वर्गीकरण गर्न सकेनन् ।’ अब वर्गीकरणको लागि उत्पादन अवस्था, संरचना लगायतका प्राविधिक पक्षहरू हेर्नुपर्ने उनले बताए ।

‘भूमाफिया’लाई सहज

नियमावली संशोधन गरेर सरकारले जग्गा कारोबारीलाई सहज र यसअघिकै बेथिति फर्किने गरी लचिलो व्यवस्था बनाइएको छ । गत वर्ष जारी नियमावलीमा कृषियोग्य जमिनको खण्डीकरण रोक्न नीतिगत कडाइ गरिएको थियो ।

संशोधित नियमावलीमा साविक नापचाँजबाट तयार भएको फिल्डबुकको किसिम, महलमा धनहर खेत तर्फको अब्बल, दोयम, सिम र चाहार र पाखोतर्फ अब्बल, दोयम उल्लेख भएको जग्गा कित्ताकाट गर्न पाइने व्यवस्था गरिएको छ ।यसैगरी, नयाँ नापजाँच भई तयार भएको फिल्डबुकको किसिम महलमा कृषि क्षेत्र उल्लेख भएको जग्गा कित्ताकाट गर्न सकिने नियमावलीमा उल्लेख छ ।

खेतीयोग्य जमिनलाई प्लटिङ गरेर आवासिय रूपमा बिक्री गर्दा उच्च नाफा कमाउन सकिने भएपछि भूमाफियाहरूले वर्गीकरणमा पनि सक्रियता बढाएका थिए । हाल करिब डेढ सय स्थानीय तहले जग्गाको वर्गीकरण गरेको अनुमान छ । भूमाफियाको प्रभावमा कतिपय ति स्थानीय तहहरूले पनि खेतीयोग्य जमिनलाई समेत गैरकृषिमा वर्गीकरण गरेका छन् ।

भूमिको व्यवस्थित उपयोगका लागि ऐन जारी गरिएको भूउपयोग ऐन २०७६ मा उल्लेख छ । नियमावलीले कृषि क्षेत्रको रूपमा तोकिएको जग्गालाई उपत्यकामा ५०० वर्गमिटर, तराई र भित्रिमधेसमा ६७५ वर्गमिटर र अन्य क्षेत्रमा एक हजार वर्गमिटरभन्दा कम क्षेत्रफलको जमिनको कित्ताकाट गर्न नपाइने व्यवस्था गरेको गरेको छ ।

अर्थविद् विष्ट सरकारका नीतिहरूमा एकरुपता नदेखिएको बताउँछन् । ‘नीतिगत अस्पष्टता छ । एउटाले एक प्रकारको नीति लिएको छ अर्कोले अर्को,’ उनले भने ।

होला अर्थतन्त्र चलायमान ?

अर्थतन्त्र चलायमान बनाउन भन्दै निजी क्षेत्रका उद्योगी, व्यवसायीहरूले गत वर्षदेखि जग्गाको कित्ताकाट खुला गर्न सरकारसँग माग राख्नै आएका थिए । कर्जा लगानीमा राष्ट्र बैंकले नीतिगत लचकता अपनाउनु पर्नेमा समेत उनीहरूले लबिङ कायमै राखे ।

सोही धारणा प्रधानमन्त्रीदेखि अर्थमन्त्रीले सार्वजनिक फोरममै राख्दै आएका छन् । अब भने सरकारले नियमावली संशोधन गरेर कित्ताकाट खुला गरेको छ । अर्कोतिर राष्ट्र बैंकले पनि केही नीगित कडाइ हटाएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत आवासीय कर्जाको सीमा २ करोड रुपैयाँ र जोखिमभार घटाएर शत प्रतिशतमा झारेको छ । नेपालको सन्दर्भमा घरजग्गा नै मुख्य सम्पत्तिको रूपमा हेरिएकाले त्यसको कारोबार बढ्दा अर्थतन्त्रको केही हिस्सा चलायमान हुने अधिकारीले बताए । ‘घरजग्गा कारोबारले सबै अर्थतन्त्र चलायमान हुन्छ भन्ने होइन,’ उनले भने, ‘कारोबार बढ्दा मान्छेको हातमा केहीन केही पैसा आउँछ ।’

विष्ट घरजग्गा कारोबार बढेर मात्रै अर्थतन्त्र चलायमान नहुने बताउँछन् । ‘सरकारको ध्यान राजस्व उठाउनमै केन्द्रित छ । कारोबार बढ्दा राजस्व बढ्छ । तर, समग्र अर्थतन्त्र चलायमान हुन्छ भन्ने होइन,’ उनले भने ।

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमला सरकारको भूउपोग नियमावली संशोधनले घरजग्गा व्यवसायमा सकारात्मक असर पर्ने बताउँछन् ।
‘हाम्रा मागहरू सबै सम्बोधन भएका छैनन् । तर, सरकारले जुन निर्णय गरेको छ । यसले अर्थतन्त्रमा राम्रै प्रभाव पर्छ,’ उनले भने, ‘कारोबार बढ्दा सरकारको आम्दानी पनि बढ्छ र अर्थतन्त्रको केही हिस्सा यसले पनि चलायमान बनाउन सहयोग पुर्याउँछ ।’

बैंक तथा वित्तीय क्षेत्रले प्रवाह गरेको कर्जा अप्रत्यक्ष रूपमा घरजग्गामा गएको नेपाल राष्ट्र बैंकका अधिकारीहरूले बताउने गरेका छन् । सोही कारण राष्ट्र बैंकले गत वर्ष घरजग्गामा प्रवाह गरिने कर्जा लगानीमा जोखिमभार बढाएर १५० प्रतिशत कायम गरेको थियो भने धितो मूल्यांकन पनि उपत्यकामा २५ र बाहिर ४० प्रतिशतभन्दा बढी गर्न नपाउने व्यवस्था गरेको छ ।

कोभिडपछि नियामकले दिएको पुनरकर्जा, चालू पूँजी कर्जा लगायतका सुविधाहरूले बजारमा अधिक तरलता प्रवाह गरेको र त्यो रकम घरजग्गामा गएको धेरैको आकलन छ । सोही कारण प्रणालीमा तरलता अभाव लगायतका समस्याहरू वित्तीय क्षेत्रमा देखिए ।

त्यसपछि राष्ट्र बैंकले लगाएको नीतिगत अंकूशका कारण घरजग्गा कारोबारमा मन्दी आएको छ । घरजग्गाको मूल्य वृद्धि हुन सकेको छैन । कित्ताकाट र कारोबार चलायमान बनाएर घरजग्गामा गरेको लगानी उठाउने दाउमा अहिले भूमाफियाहरू छन् ।

बजेट अभावले महाकाली पुल निर्माण प्रभावित, गत वर्षकै २२ करोड भुक्तानी बाँकी Read Previous

बजेट अभावले महाकाली पुल निर्माण प्रभावित, गत वर्षकै २२ करोड भुक्तानी बाँकी

कर नबुझाउने १९ व्यवसायीको बैंक खाता र सम्पति रोक्का Read Next

कर नबुझाउने १९ व्यवसायीको बैंक खाता र सम्पति रोक्का