काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा घरजग्गा कारोबार सुस्ताएको छ । गत पुसदेखि विस्तारै चलायमान हुँदै गएको घरजग्गा कारोबार साउनमा ह्वात्तै घटेको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चालु आवको साउनमा ३९ हजार २६३ वटा घरजग्गा किनबेच (लिखित पारित) भएको छ । यो पछिल्लो ७ महिना अर्थात् गत माघ यताकै कम हो । गत माघ यता हरेक महिना ४० हजार बढी घरजग्गा किनबेच हुँदै आएको थियो भने जेठमा सर्वाधिक ५५ हजार वटा लिखत पारित भएको थियो ।
असारको तुलनामा साउनमा घरजग्गा कारोबार ९ हजार ५०८ वटाले घटेको हो। असारमा देशभरका मालपोत कार्यालयहरुबाट ४८ हजार ७७१ घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ ।
सरकारले २०७९ जेठमा भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएपछि मन्दीतर्फ गएको घरजग्गा व्यवसाय पछिल्ला महिनाहरुमा क्रमशः सुधार आइरहेको थियो । तर, साउनमा भने ह्वात्तै घटेको हो ।
साउनमा घरजग्गा कारोबारमा गिरावट आउनुमा कित्ताकाट खुकुलो नहुनु, अफसिजन, मलमास, महँगो ब्याजदर लगायत कारण रहेको व्यवसायीहरु बताउँछन् ।
भू-नियमावली अनुसार गत मंसिरसम्म सबै स्थानीय तहले कृषि र गैर कृषि क्षेत्र छुट्याई कित्ताकाट खुलाउनुपर्ने व्यवस्था गरेको भए पनि हालसम्म करिब २०० पालिकाले मात्र कित्ताकाट खुलाएका छन् । कित्ताकाट नखुल्दा टुक्रा जग्गाको अभावमा कारोबार झनै सुस्ताएको व्यवसायीको भनाइ छ ।
यद्यपि, सरकारले हालै यतास्थितिमै जग्गाको कित्ताकाट खुलाएको छ । जग्गाको कित्ताकाट खुलेसँगै अब आगामी महिनाहरुमा घरजग्गा कारोबारमा क्रमशः सुधार आउने व्यवसायीको अपेक्षा छ ।
राजस्वमा भारी गिरावट
कारोबार ह्वात्तै घटेसँगै साउनमा घरजग्गा कारोबारबाट प्राप्त हुने राजस्वमा पनि भारी गिरावट आएको छ । असारको तुलनामा साउनमा राजस्व १ अर्ब ३६ करोड रुपैयाँले घटेको छ।
गत असारमा घरजग्गा किनबेचबाट सरकारले ४ अर्ब २७ करोड रुपैयाँ राजस्व उठाएकोमा साउनमा घटेर २ अर्ब ९१ करोड रुपैयाँमा सीमित भएको छ ।
गत वर्षको साउनको तुलनामा भने चालु वर्षमा राजस्व र कारोबार दुवैमा झिनो सुधार देखिएको छ । गत वर्षको साउनमा घरजग्गा कारोबारबाट २ अर्ब ७४ करोड राजस्व संकलन भएको थियो । गत आव २०७९/८० सरकारले घरजग्गा कारोबारबापत कुल ४१ अर्ब ७८ करोड रुपैयाँ राजस्व प्राप्त गरेको थियो ।