जग्गाको कित्ताकाट ५ वर्ष यताकै कम, यस कारण घट्यो

काठमाडौं । गत आर्थिक वर्ष २०७९/८० मा जग्गाको कित्ताकाटमा व्यापक गिरावट आएको छ । सरकारको नीतिगत कडाइ, अर्थतन्त्रमा आएको संकुचन, घरजग्गाका कर्जा लगानीका कडाइ लगायत कारणले जग्गाको कित्ताकाटमा ठूलो गिरावट भएको हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार अघिल्लो वर्षको तुलनामा गत आर्थिक वर्षमा जग्गाको कित्ताकाट ६०.६४ प्रतिशतले घटेको छ । गत वर्षमा २ लाख ८५ हजार ४३० कित्तालाई टुक्र्याएर ६ लाख ३७ हजार ८१८ टुक्रा बनाइएको विभागको तथ्यांक छ । यो पछिल्लो ५ वर्ष यताकै कम हो ।

आव २०७८/७९ मा देशभर ६ लाख ९४ हजार २१३ कित्ता जमिनलाई टुक्र्याएर १६ लाख १३ हजार २९२ टुक्रा बनाइएको थियो । त्यसैगरी, आर्थिक वर्ष २०७५/७६ मा जमिनलाई कित्ताकाट गरी ८ लाख, २०७६/७७ मा १० लाख र ७७/७८ मा १२ लाख टुक्रा पारिएको थियो ।

सरकारले २०७९ जेठ २३ गते भूउपयोग नियमावली जारी गर्दै कित्ताकाटमा अंकुश लगाएको थियो । भूउपयोग नियमावलीले हरेक स्थानीय तहले आफ्नो क्षेत्रभित्रको जग्गा कृषि र गैरकृषि वर्गीकरण नगरेसम्म कित्ताकाट गर्न नहुने व्यवस्था गरेको थियो । सो अनुसार स्थानीय तहले जग्गाको वर्गीकरण गर्न नसक्दा कित्ताकाट बढ्न नसकेको हो ।

नियमावली अनुसार २०७९ मंसिर २३ भित्रै स्थानीय तहले भूउपयोग परिषद् मार्फत जग्गालाई कृषि र गैरकृषि गरी वर्गीकरण गरिसक्नु पर्ने भए पनि हालसम्म करिब १६१ स्थानीय तहले मात्रै कृषि र गैरकृषि जमिन छुट्याएका छन् ।

स्थानीय तहले कृषि र गैरकृषि सहित जग्गालाई विभिन्न क्षेत्रमा वर्गीकरण गर्नुपर्ने व्यवस्था गरेको छ । तर, नियमावली कार्यान्वयन गरेर जग्गाको वर्गीकरण गर्नुको सट्टा सरकारले पनि कित्ताकाट खुलाउन नियम नै संशोधन गर्नेदेखि अन्य उपकरणहरू खोजिरहेको थियो ।

गत वैशाखमा मन्त्रिपरिषद्ले कित्ताकाट खुला गर्ने निर्णय गरेको थियो भने बजेट मार्फत पनिखुला गरिने व्यवस्था गरेको छ । यद्यपि, अहिलेसम्म कित्ताकाट खुला हुने निर्णय कार्यान्वयन भने भएको छैन ।

जग्गाको वर्गीकरण गरेका स्थानीयमा भने कित्ताकाट खुला हुँदै गएको छ । वर्गीकरण गर्ने स्थानीय तहको संख्या बढ्नु, वित्तीय प्रणालीमा तरलता सहज भएर सस्तो ब्याजदरमा ऋण पाइनु जस्ता कारणले कित्ताकाट बढेको मालपोतका अधिकारी र व्यवसायीहरू बताउँछन् ।

यस्तै, घरजग्गा व्यवसायमा कर्जा लगानीमा नेपाल राष्ट्र बैंकको, महँगो ब्याजदर, अर्थतन्त्रमा आएको संकुचनका कारण घरजग्गाको माग घट्दा कित्ताकाटमा पनि कमी आएको हो ।

गत वर्ष कुन महिना कति भयो कित्ताकाट ?

गत वर्षमा सबैभन्दा धेरै कित्ताकाट जेठमा भएको छ भने न्यून साउनमा भएको छ । साउनमा ८ हजार जमिनलाई कित्ताकाट गरेर १५ हजार बनाइएको विभागले जनाएको छ ।

जेठमा ४७ हजार ५९९ कित्ता जग्गा टुक्र्याएर १ लाख ८ हजार टुक्रा बनाइएकाे थियो । भदौमा १० हजार ९२२ कित्ताकाट गरी २१ हजार ८७७ टुक्रा, असोजमा ९ हजार ४२६ जमिनलाई १९ हजार १७८ टुक्रा र कात्तिकमा १० हजार ५४४ जमिनलाई २२ हजार ३६५ टुक्रा पारिएको विभागको तथ्यांक छ ।

त्यस्तै, मंसिरमा १३ हजार २२१ वटा जग्गालाई कित्ताकाट गरी ३० हजार ८२७ टुक्रा, पुसमा २१ हजार ७८४ जग्गालाई टुक्रयाएर ४९ हजार १०४ टुक्रा पारिएको थियो ।

माघमा २४ हजार ५६९ कित्तालाई ५४ हजार ७७८, फागुनमा २७ हजार ३१ कित्ता जमिन टुक्र्याएर ६० हजार ३६१, चैतमा ३७ हजार ९९७ कित्ता जमिन टुक्राएर ८५ हजार ९७ टुक्रा बनाइएको थियो । वैशाखमा ३१ हजारको कित्ताकाट भएर ७० हजार कायम भएको थियो ।

विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी Read Previous

विदेश भ्रमणमा जानेले ५ प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी

सिटिजन्स बैंकका ग्राहकले विभिन्न संस्थामा २५ प्रतिशतसम्म छुट पाउने Read Next

सिटिजन्स बैंकका ग्राहकले विभिन्न संस्थामा २५ प्रतिशतसम्म छुट पाउने