लयमा फर्कियो घरजग्गा कारोबार, जेठमा १५ महिना यताकै धेरै किनबेच

काठमाडौं । घरजग्गा कारोबार लयमा फर्किन थालेको छ । सरकारको नीतिगत अस्थिरता, तरलता अभाव, महँगो ब्याजदर, आर्थिक संकुचन लगात कारणले गत वर्षको जेठदेखि सुस्ताएको घरजग्गा कारोबार चालु वर्षको जेठमा भने लयमा फर्किएको छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार चालु आवको जेठमा ५५ हजार ६९ वटा घरजग्गाको लिखत पारित (किनबेच) भएको छ । यो पछिल्लो १५ महिना यताकै धेरै हो । यसअघि २०७८ चैतमा एक महिनामै ७० हजार ८२९ बढी घरजग्गा किनबेच भएको थियो । त्यसयता कुनै पनि एक महिनामा ५५ हजार बढी घरजग्गा किनबेच हुन सकेको थिएन ।

सरकारले २०७९ जेठदेखि भूउपयोग नियमावली लागू गर्दै कित्ताकाटमा कडाइ गरेको थियो । त्यसयता सुस्ताएको घरजग्गा कारोबार ब्याजदर वृद्धि, कर्जामा कडाइले झनै प्रभावित हुँदै आएको थियो । यद्यपि, चालु आवको कात्तिकदेखि भने क्रमशः बढ्दै गएको थियो भने वैशाखमा घटेको थियो । फेरि जेठमा घरजग्गा कारोबार ह्वात्तै बढेको हो ।

वैशाखको तुलनामा जेठमा १२ हजार ६०८ वटा बढी घरजग्गा किनबेच भएको छ । पछिल्ला महिनाहरूमा बैंकिङ प्रणालीमा भएको तरलता सहज, घट्दो ब्याजदर, कित्ताकाट खुला लगायत कारणले घरजग्गा कारोबार लयमा आउन थालेको हो ।

माघ यता बैंकिङ प्रणालीमा लगानी योग्य रकमको अभाव छैन भने वैशाखदेखि ब्याजदर समेत घट्दो क्रममा छ । पछिल्लो समय बैंकहरूले कर्जा लगानी बढाउन घरजग्गामा आकर्षक स्कीम समेत ल्याइरहेका छन् ।

त्यस्तै, सरकारले वैशाखमा यथास्थितिमै जग्गाको कित्ताकाट खोल्ने निर्णय गरेको थियो । यद्यपि, त्यो निर्णय कार्यन्वयनमा आउन सकेको थिएन । तर, बजेट मार्फत फेरि यथास्थिितिमै कित्ताकाट खुलाइएपछि कारोबार समेत केही बढ्न सहयोग पुगेको हो ।

कुन महिना कति किनबेच ?

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेठमा चालु वर्षकै धेरै ५५ हजार ६९ घरजग्गाको लिखत पारित भएको छ । त्यस्तै, वैशाखमा ४२ हजार ४१६, चैतमा ४९ हजार १५०, फागुनमा ४० हजार ७३४, माघमा ४१ हजार ८६, पुसमा ३८ हजार ८७१, मंसिरमा २९ हजार १८४ घरजग्गा किनबेच भएको थियो ।

त्यसैगरी, चालु आवको असोजमा सबैभन्दा कम २५ हजार ७८९ घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ । त्यस्तै, कात्तिकमा २७ हजार ९३९, साउनमा ३३ हजार ८३४, भदौमा ३४ हजार ७२० घरजग्गा किनबेच भएको थियो ।

राजस्वमा पनि सुधार

जेठमा घरजग्गा कारोबार बढेसँगै राजस्वमा पनि सुधार भएको छ । वैशाखको तुलनामा राजस्व ७ करोड बढेर जेठमा ३ अर्ब ७५ करोड रुपैयाँ संकलन भएको छ ।

घरजग्गा कारोबार वापत प्राप्त हुने राजस्व संकलन चैतमा वर्षकै सर्वाधिक भएको थियो । सरकारले चैतमा ४ अर्ब ५० करोड ९४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।

फागुनमा ३ अर्ब ५६ करोड, माघमा ३ अर्ब ७५ करोड, पुसमा ३ अर्ब ७१ करोड रुपैयाँ, मंसिरमा २ अर्ब ६५ करोड रुपैयाँ, कात्तिकमा ३ अर्ब, असोजमा २ अर्ब ५६ करोड, भदौमा ३ अर्ब ५६ करोड र साउनमा २ अर्ब ७४ करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

आजदेखि उपत्यका बाहिर जाने गाडीको टिकट काट्न गोंगबु जानुपर्ने, बाहिरका काउण्टर हटाइए Read Previous

आजदेखि उपत्यका बाहिर जाने गाडीको टिकट काट्न गोंगबु जानुपर्ने, बाहिरका काउण्टर हटाइए

संचालनमा आयो १३२ केभीए नयाँ खिम्ती सबस्टेशन, ३ जिल्लामा विद्युत् आपूर्ति सहज हुँदै Read Next

संचालनमा आयो १३२ केभीए नयाँ खिम्ती सबस्टेशन, ३ जिल्लामा विद्युत् आपूर्ति सहज हुँदै