फेरि मैलाउँदै जग्गाको कित्ताकाट, फागुनमा ९ महिना यताकै धेरै

काठमाडौं । गत असारदेखि सुस्ताएको जमिनको कित्ताकाट (खण्डीकरण) फेरि मौलाउन थालेको छ । सरकारको कडाइका कारण सुस्ताएको कित्ताकाट चालु आर्थिक वर्षको कात्तिकदेखि लगातार उकालो लागेको हो ।

चालु आवको फागुनमा ९ महिना यताकै धेरै कित्ताकाट भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार फागुनमा २७ हजार ३१ कित्ता जमिन टुक्र्याएर ६० हजार ३६१ टुक्रा बनाइएको छ । यो २०७९ असार यताकै धेरै हो ।

फागुनमा घरजग्गा कारोबारमा गिरावट आए पनि कित्ताकाट भने बढेको हो । बैंकिङ प्रणालीमा भएको तरलता अभाव, ब्याजदर वृद्धि, अर्थतन्त्रमा आएको संकुचन लगायत कारण घरजग्गा कारोबार बढ्ने नसके पनि कित्ताकाट भने महिनैपिच्छे बढिरहेको हो ।

सरकारले २०७९ जेठमा भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएसंगै कित्ताकाट सुस्ताएको थियो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत मंसिर २३ सम्म सबै स्थानीय तहलाई आफ्नो क्षेत्रभित्रको जग्गा कृषि र गैरकृषि क्षेत्रमा वर्गीकरण गर्न निर्देशन दिएको थियो । मन्त्रालयको निर्देशन अनुसार पछिल्लो समय स्थानीय तहहरूले जमिन वर्गीकरण गरी गैरकृषि क्षेत्रको कित्ताकाट खुला गरेसँगै कित्तकाट बढ्न थालेको हो ।

विभागका सूचना अधिकारी विष्णुकुमार महतले स्थानीय तहहरूले जमिन वर्गीकरण गर्न थालेसँगै कित्ताकाट पनि बढ्न थालेको बताए । ‘भू नियमावली अनुसार स्थानीय तहहरूले धमाधम जमिनको वर्गीकरण गर्न थालेका छन् । कृषि र गैरकृषि क्षेत्र छुट्याएपछि कित्ताकाट गर्न पाइन्छ,’ उनले चाणक्य पोष्टसँग भने, ‘अहिले धेरैजसो सहरी क्षेत्रका पालिकाहरूले वर्गीकरण गरिसकेका छन् । ती क्षेत्रमा कित्ताकाट खुला भएसँगै समग्रमा कित्ताकाट बढ्न थालेको हो ।’

मंसिरभित्रै सबै तहले जमिन वर्गीकरण गर्नुपर्ने भए पनि हालसम्म करिब १७ प्रतिशत स्थानीय तहले मात्र कृषि र गैरकृषि क्षेत्र छुट्याएका छन् । सूचना अधिकारी महतका अनुसार एकीन विवरण नआए पनि हालसम्म करिब १२५ स्थानीय तहले मात्र जमिन वर्गीकरण गरिसकेका छन् । अझै ६०० बढी स्थानीय तहले जमिनलाई कृषि र गैरकृषि क्षेत्र छुट्याउन सकेका छैनन् ।

आगामी दिनमा जमिन वर्गीकरण गरी कित्ताकाट खुलाउने स्थानीय तहहरूको संख्या पनि बढ्दै जाने भएकाले कित्ताकाट झनै बढ्ने देखिन्छ ।जग्गा वर्गीकरण गरेका अधिकांश पालिकाले खेतीयोग्य जमिनलाई समेत गैरकृषि योग्य घोषणा गरेका छन् । यसले खेतीयोग्य जमिनको खण्डीकरण फेरि बढाउने देखिन्छ ।

कुन महिना कति कित्ताकाट ?

चालु वर्षको ८ महिना (फागुनसम्म) कुल १ लाख २५ हजार ६९० कित्ता जमिनलाई टुक्र्याएर २ लाख ७३ हजार टुक्रा पारिएको विभागको तथ्यांक छ । यद्यपि, यो गत वर्षको सोही अवधिको तुलनामा ७५ प्रतिशत कम हो । गत वर्षको फागुनसम्म ५ लाख कित्ता जमिन टुक्र्याएर ११ लाख टुक्रा पारिएको थियो ।

चालु वर्षको फागुनमा सबैभन्दा धेरै २७ हजार कित्ता जमिनलाई खण्डीकरण गरी ६० हजार टुक्रा बनाइएको छ । त्यसैगरी, माघमा २४ हजार ५६९ कित्तालाई ५४ हजार ७७८ टुक्रा, पुसमा २१ हजार ७८४ जग्गालाई टुक्रयाएर ४९ हजार १०४ टुक्रा, मंसिरमा १३ हजार २२१ वटा जग्गालाई कित्ताकाट गरी ३० हजार ८२७ टुक्रा बनाइएको थियो ।

त्यस्तै, चालु वर्षको साउनमा ८ हजार ७८५ जग्गालाई कित्ताकाट गरी १५ हजार ३०५ टुक्रा, भदौमा १० हजार ९२२ कित्ताकाट गरी २१ हजार ८७७ टुक्रा, असोजमा ९ हजार ४२६ जमिनलाई १९ हजार १७८ टुक्रा र कात्तिकमा १० हजार ५४४ जमिनलाई २२ हजार ३६५ टुक्रा पारिएको विभागको तथ्यांक छ ।

 

वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै, २२ लाख लाभान्वित हुने Read Previous

वैदेशिक रोजगारीमा गएका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै, २२ लाख लाभान्वित हुने

डीपीआरमै अल्झियो ८२८ मेगावाटको उत्तरगङ्गा जलाशययुक्त आयोजना Read Next

डीपीआरमै अल्झियो ८२८ मेगावाटको उत्तरगङ्गा जलाशययुक्त आयोजना