काठमाडौं । पुस महिनामा चालु आर्थिक वर्षकै सर्वाधिक घरजग्गा किनबेच भएको छ । सरकारले गत जेठमा भूउपयोग नियमावली ल्याए यता ओरालो लागेको घरजग्गा किनबेच पुसमा ह्वात्तै बढेको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुस महिनामा ३८ हजार ८७१ पुगेको छ । यो चालु वर्षकै धेरै हो भने मंसिरको तुलनामा साढे ९ हजार बढी हो । यद्यपि, गत वर्षको सोही अवधिको तुलनामा भने झन्डै आधा कम हो । गत वर्षको पुसमा देशभर ७० हजार बढी घरजग्गा किनबेच भएको थियो ।
विभागका अनुसार पुसमा देशभरका मालपोत कार्यालयहरूबाट कुल १ लाख १३ हजार ८९८ घरजग्गा सम्बन्धी कारोबार भएको छ । चालु आवको असोजमा सबैभन्दा कम २५ हजार ७८९ घरजग्गा किनबेच भएको थियो । त्यस्तै, कात्तिकमा २७ हजार ९३९, साउनमा ३३ हजार ८३४, भदौमा ३४ हजार ७२० वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठमा सबै स्थानीय तहलाई मंसिर २३ भित्र जग्गाको वर्गीकरण गरिसक्न निर्देशन दिएको थियो । तर, स्थानीय तहले हालसम्म जग्गाको वर्गीकरण गरिसकेका छैनन् ।
यद्यपि, कित्ताकाटमा भएको सहजता, बैंक तथा वित्तीय संस्थामा तरलता सहज हुँदा सहजै ऋण पाउने अवस्था आएपछि घरजग्गा किनबेच बढेको व्यवसायीहरू बताउँछन् ।
नेपाल राष्ट्र बैंकको गत वर्षदेखि घरजग्गा लगानीमा कडाइ गदै आएको छ । जसको कारण पनि यस वर्ष बैंकहरूले रियल स्टेटमा धेरै कर्जा लगानी गर्न पाएका छैनन् ।
राजस्व संकलनमा सुधार
घरजग्गा किनबेच बढेसँगै राजस्व संकलनमा पनि सुधार आएको छ । विभागको तथ्यांक अनुसार मंसिरको तुलनामा सरकारले घरजग्गा कारोबार वापत १ अर्ब बढ राजस्व संकलन गरेको छ ।
गत मंसिरमा २ अर्ब ६४ करोड रुपैयाँ राजस्व संकलन गरेकोमा पुसमा बढाएर ३ अर्ब ७१ करोड रुपैयाँ पुर्याएको छ । कात्तिकमा ३ अर्ब, असोजमा २ अर्ब ५६ करोड, भदौमा ३ अर्ब ५६ करोड र साउनमा २ अर्ब ७४ करोड संकलन भएको थियो ।
विभागका अनुसार घरजग्गा कारोबार चालु वर्षको ६ महिनामा १८ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
यी ठाउँमा भयो धेरै किनबेच
पुसमा देशभर कुल ३८ हजार बढी घरजग्गा किनबेच भएको छ । सो मध्ये सबैभन्दा धेरै सुनसरीको इनरुवा मालपोत कार्यालयबाट भएको छ । यस कार्यालयबाट पुसमा १५६३ घरजग्गा किनबेच भएको छ ।
दोस्रोमा बाँकेको नेपालगञ्ज मालपोत कार्यालयबाट १५४६ घरजग्गा किनबेच भएको विभागको तथ्यांकले देखाएको छ । जनकपुर मालपोत कार्यालयबाट १२५३, मालपोत कार्यालय बेलवारी मोरङ, धनगढी कैलाली, तौलिहवा कपिलवस्तु, भद्र्रपुर झापा र मकवानपुर मालपोत कार्यालयबाट ११ सयबढी घरजग्गा किनबेच भएको छ ।