
नयाँदिल्ली । बढ्दो बैंक ब्याज दरका बावजूद भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि भएको छ । सन् २०२२ मा भारतको ‘रियलस्टेट’ क्षेत्रले दशकयताकै उच्च वृद्धिदर हासिल गरेको हालै सार्वजनिक एक प्रतिवेदनमा देखाइएको हो ।
नाइट फ्याङ्कले हालै प्रकाशन गरेका प्रतिवेदनअनुसार गत वर्ष भारतको ‘रियल्टी’ बजार ३४ प्रतिशतले बढेको थियो । घरको स्वामित्वप्रतिको मनोवृत्तिमा परिवर्तन, कार्यव्यापारलाई निरन्तरता दिने र आर्थिक स्थायित्व कामय गर्ने प्रयासका कारण घर जग्गा कारोबारमा वृद्धि भएको जनाइएको छ । यो वृद्धिलाई कोभिड–१९ महामारीपछि भारतीय अर्थतन्त्रमा खुलापनले प्रवेश पाएको दृष्टान्तका रुपमा चित्रण गरिएको छ ।
प्रतिवेदनका अनुसार गत वर्ष देशका शीर्ष ८ रियल्टी बजारमा कुल ३ लाख १२ हजार ६६६ आवासीय भवन बिक्री भएका थिए भने ३ लाख २८ हजार १२९ नयाँ भवन थपिएर ४१ प्रतिशतले वृद्धि भएको थियो ।
आवास बिक्रीमा मुम्बई अग्रस्थानमा रह्योभने त्यसपछि राष्ट्रिय राजधानी दिल्ली र आसपासका शहर र दक्षिणी सहर बेङेगलुरुमा अधिक कारोबार भयो । महामारीका कारण चुनौती उत्पन्न भए पनि कार्यालयका निम्ति पनि उत्तिकै स्थान खरिद भएको थियो ।
बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न देशको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाले सरकारी धितोमा अल्पकालका निम्ति उपलब्ध गराइने ऋणको दर ५ पटक बढाएको थियो भने आवास ऋणको ब्याज दरमा वृद्धि गरेको थियो । एजेन्सी