मंसिरमा बढ्यो घरजग्गा किनबेच, राजस्व भने घट्यो

काठमाडौं । मंसिर महिनामा घरजग्गा कारोबारमा सुधार आएको छ । कात्तिकको तुलनामा मंसिर महिनामा १ हजार बढी घरजग्गा किनबेच भएकाे हाे ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार मंसिरमा २९ हजार १८४ वटा घरजग्गा किनबेच भएकाे छ। यो कात्तिकको तुलनामा १ हजार २४५ वटाले धेरै हो । कात्तिकमा २७ हजार ९३९ वटा घरजग्गा किनबेच भएको थियो ।

चालु आर्थिक वर्षको कात्तिकको तुलनामा मंसिरमा घरजग्गा कारोबारमा झिनो सुधार आए पनि गत वर्षको तुलनामा भने आधाभन्दा धेरैले घटेको छ । गत वर्षको मंसिरमा ६९ हजार ४१२ वटा घरजग्गा किनबेच भएको विभागको तथ्यांक छ ।

नेपाल राष्ट्र बैंकको कडाइ, तरलता अभाव, ब्याजदर वृद्धि, कित्ताकाटमा लगाइएको रोक लगायत कारणले गत वैशाखदेखि घरजग्गा लगातार ओरालो लागेको छ । चालु वर्षको असोजसम्म लगातार घटेको घरजग्गा कारोबार कात्तिक र मंसिरमा भने झिनो मात्रमा बढेको हो ।

चालु आवको असोजमा सबैभन्दा कम २५ हजार ७८९ वटामा घरजग्गा कारोबार भएको छ । त्यस्तै, साउनमा ३३ हजार ८३४, भदौमा ३४ हजार ७२० वटा घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

राजस्वमा गिरावट

कात्तिकको तुलनामा घरजग्गा कारोबारमा झिनो सुधार आए पनि राजस्वमा भने गिरावट आएको छ । कात्तिकको तुलनामा मंसिरमा राजस्व संकलन ३६ करोडले घटेको छ ।

विभागका अनुसार घरजग्गा कारोबार बापत कुल २ अर्ब ६४ करोड राजस्व संकलन भएको छ । कात्तिकमा ३ अर्ब राजस्व संकलन भएको थियो ।
चालु आवको असोजमा घरजग्गा कारोबार वापत २ अर्ब ५६ करोड, भदौमा ३ अर्ब ५६ करोड र साउनमा २ अर्ब ७४ करोड संकलन भएको थियो ।
चालु आवको ५ महिनामा घरजग्गा कारोबारबाट १४ अर्ब ५० करोड राजस्व संकलन भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा आधाभन्दा कम हो ।

यी ठाउँमा भयो धेरै किनबेच

मंसिरमा देशभर कुल २९ हजार बढी घरजग्गा किनबेच भएका छन् । सोमध्ये मालपोत कार्यालय नेपालगञ्जबाट सबैभन्दा धेरै १ हजार ३८२ वटा घरजग्गाको लिखत पारित भएको छ।

मंसिरमा जम्मा ३ वटा मालपोत कार्यालयबाट मात्र १ हजार बढी घरजग्गा किनबेच भएका छन् । नेपालगन्ज बाहेक मालपोत कार्यालय इनरुवाबाट १ हजार २३३ र बेलबारीबाट १ हजार २४ वटा घरजग्गा किनबेच भएका हुन् ।

मंसिरमा धेरै घरजग्गा किनबेच हुने मालपोत कार्यालयहरूमा क्रमशः भद्रपुर ८२३, धनगढी ८०१, चितवन ७९०, तुलसीपुर ७८६, बुटवलमा ७४१, लगनखेलमा ७१५, घोराहीमा ७०७ वटा रहेका छन् ।

९ महिनापछि बैंकहरूले खोल्न थाले गाडी आयातका लागि एलसी Read Previous

९ महिनापछि बैंकहरूले खोल्न थाले गाडी आयातका लागि एलसी

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाइट’ नतिजा सकारात्मक, नियमित उडान कहिलेदेखि ? Read Next

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ‘क्यालिब्रेसन फ्लाइट’ नतिजा सकारात्मक, नियमित उडान कहिलेदेखि ?