काठमाडौं । पाल्पास्थित सिद्धबाबा सुरुङमार्गको डिजाइन धमाधम भइरहेको छ । अहिले डिजाइनको काम भइरहेकाले आगामी पुस मसान्तसम्म सम्पन्न हने आयोजनाले बताएको छ ।
सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख होमबहादुर केसीले अबको दुई महिनाभित्र सुरुङमार्गको डिजाइन सकिने जानकारी दिए । ‘अहिले डिजाइनकै चरणमा छ, डेढ÷दुई महिनामा डिजाइन सकेपछि त्यसमा छलफल भएर निर्माण सुरू हुन्छ,’ केसीले चाणक्य पोष्टसँग भने ‘डिजाइनपछि १ महिना जतिमा निर्माण सुरू हुन्छ ।’
सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले ठेक्का पाएको छ । कम्पनीलाई डिजाइनका लागि ९ महिना (आगामी पुससम्म) समय दिइएको छ । डिजाइन सकेपछि त्यसमा छलफल गरेर स्वीकृत गरेपछि निर्माण सुरू गरिने केसीले बताए ।
उनले डिजाइन पछि स्वीकृत हुन र छलफल गर्न १ महिना हाराहारी समय लाग्ने बताए । उनका अनुसार डिजाइन पूरा भइसकेको १ महिना पछि निर्माण सुरू हुने छ ।उनले बताए । ‘डिसेम्बरदेखि जनवरीसम्म डिजाइन सकिन्छ, त्यस लगत्तै निर्माण गरिने छ,’ केसीले भने ‘यो वर्ष भित्र सुरुङ निर्माण सुरू हुन्छ ।’
कम्पनीलाई डिजाइन र निर्माणका लागि ५ वर्ष समय अवधि दिइएको छ । डिजाइन पछि ४ वर्ष ३ महिना निर्माणका लागि समय बाँकी हुने छ । आयोजना प्रमुख केसीले चालु आर्थिक वर्षभित्र डिजाइन पूरा गरेर निर्माण सुरू गर्ने लक्ष्य सहित काम गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको बताए ।
सुरुङमार्गको डिजाइन सन् २०२३ को जनवरीसम्ममा सक्नु पर्नेछ । चाइना स्टेट कन्स्ट्रक्सनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा निर्माण पूरा गर्ने गरी ठेक्का पाएको हो । कम्पनीले ५ वर्षभित्र उक्त सुरुङ निर्माण गरिसक्नु पर्नेछ ।
कम्पनीले सिद्धबाबा सुरुङमार्ग इन्जिनीयरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलमा निर्माण गर्न लागिएको हो । यसअनुसार सुरूङको डिजाइन पनि कम्पनीले नै तयार गर्नुपर्नेछ । ईपीसी मोडलमा निर्माण गर्दा आयोजनाले दिएको बेसलाई सर्भेका आधारमा विस्तृत डिजाइन, खरिद, निर्माण र तोकिएको समयसम्म सञ्चालन र मर्मतसम्भार समेत गर्नुपर्छ ।
उक्त सुरुङमार्ग एसियन हाइवे स्ट्याण्डर्डमा १.१२६ किलोमिटर निर्माण हुनेछ । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन खण्डमा सिद्धबाबाको मन्दिरको उत्तरतर्फ चिडियाखोला नजिकै सुरुङमार्गको एउटा पोर्टल रहनेछ । चिडियाखोलाको खोँच हुँदै दोभान नजिकै निस्कने छ । सुरुङमार्ग भित्र इमर्जेन्सी क्रस प्यासेज, टनेल भेन्टिलेसन,लाइटिङ, मनिटरिङ सिस्टम लगायत हुने बताइएको छ ।
सुरुङमार्गसँगै रक सेट निर्माणको पनि योजना रहेको छ । ’रक सेट’ पैदल यात्रु आवागमनका लागि हुनेछ । उक्त रक सेटमा आकस्मिक अवस्थामा त्यसबाट एम्बुलेन्स जस्ता अत्यावश्यक सवारी साधन चलाउन सकिनेछ । सुरुङमार्गसँगै बाहिर करिब ७८० मिटरको रक सेट बनाउन लागिएको हो ।