काठमाडौं । चक्रपथको कलंकी–नारायणगोपाल चोक ८.२ किलोमिटर सडक विस्तार अझै अघि बढ्न सकेको छैन । साइट क्लियरेन्सको काम नसकिँदा चिनियाँ कम्पनीले निर्माण सुरू सडक विस्तार सुरू नगरेको हो ।
चक्रपथ निर्माणका लागि चीनले साइट क्लियर भएपछि मात्र काम गर्ने भन्दै आएको छ । विगतमा पहिलो खण्डमा धेरै आलोचना खेपेको चिनियाँ कम्पनीले अब साइट क्लियर भएपछि मात्र काम अघि बढाउने भन्दै काम सुरू नगरेको हो ।
नेपालले सडक विस्तारका लागि भौतिक संरचना पन्छाउन सकेकोे छैन । साइट क्लियरेन्सको काम सुरू भएको ४ वर्ष भइसकेको छ । चक्रपथ सडकको सीमा चौडा ६२ मिटर कायम गरिएको छ । तर, महराजगन्ज चोकको करिब २४४ मिटर सडक खण्डमा ३० मिटर मात्रै कायम गरिएको छ । त्यहँ रहेका १९ वटा निजी संरचना र जग्गा पूरै अधिग्रहण गर्नुपर्नेछ ।
स्वयम्भूको चैत्य भने नभत्काउन सहमति भइसककेको छ । यसअघि कलंकीदेखि–धोबी खोलासम्मको ११.६ किलोमिटर विस्तार गर्ने योजना रहेको थियो । हाल नारायणगोपाल चोकसम्म ८.२ किलोमिटर सडक विस्तार गर्ने र बाँकी क्षेत्र तेस्रो खण्डमा निर्माण गर्ने योजना रहेको आयोजना उपनिर्देशक सजना अधिकारीले जानकारी दिइन् ।
‘अहिले सर्भिस ट्रयाकको काम भइरहेको छ, पाइप हाल्ने काम गरिरहेका छाैं,’ अधिकारीले चाणक्य पोष्टसँग भनिन् ‘काम कहिले सुरू हुन्छ थाहा छैन, हामी साइटमा काम गरिरहेका छाँै, चिनियाँ प्राविधिक कोही आएका छैनन् ।’
चीनको हेनान प्रोभेन्सियल कम्युनिकेसन प्लानिङ सर्भे एन्ड डिजाइन इन्स्टिच्युट कम्पनीको प्राविधिक टोली मंसिर २०७८ मा साइट भिजिट गर्न नेपाल आएको थियो ।
यो सडक चीन सरकारको अनुदानमा बनिरहेको छ । यसअघि चक्रपथ पहिलो खण्ड (कोटेश्वर–कलंकी १०.३९ किमि) ८ लेनमा विस्तार भइसकेको छ । पहिलो खण्ड गलत डिजाइनमा बनाइएको, सहरी सडकभन्दा पनि एक्सप्रेस हाइवे बनाइएको र ढिलो काम भएको भन्दै आलोचना भएको थियो ।
सवारी चाप व्यवस्थापनका लागि चालू आवमा कलंकी–नारायणगोपाल चोक क्षेत्रमा ढल, सर्भिस रोडका लागि एक अर्ब बजेट विनियोजन गरेको छ ।
दोस्रो चरणमा विस्तारका लागि साइट संरचना हटाउने काम ८० प्रतिशत सकिएको आयोजनाले जनाएको छ । सडक विस्तार गरिने क्षेत्रमा रहेका केही घर हटाउने बाहेक यहाँका अरू संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ ।
सडक निर्माणस्थलमा रहेका खानेपानीको पाइप, ढल, विद्युतको पोललगायतका संरचना सार्ने काम भइरहेको छ । त्यस्तै सो सडकमा रहेका दुई हजार एक सय रूख काटिएको छ । सडकको मुख्य भागबाट दुवैतर्फ ३१–३१ मिटरभित्र पर्ने केही घर हटाउन बाँकी छ । महाराजगन्ज क्षेत्रमा २० घर हटाउनुपर्ने भएकाले त्यसको प्रक्रिया अघि बढाइएको जनाइएको छ ।
आयोजनाका अनुसार सो घर भत्काउन आयोजनाले नै मूल्यांकन गरेर मुआब्जा दिइने छ । चक्रपथ पहिलो खण्डमा सडकमा रहेका संरचना हटाउनु पहिले नै निर्माण सुरू भएको थियो । सडक निर्माण सुरू भइसक्दा पनि संरचना हटाउन सकिएको थिएन ।
एकातिर सरकारी निकायले नै तुरुन्त युटिलिटी नहटाउने त अर्कातर्फ सडकमा रहेका घरटहरा नहट्दा निर्माणमा ढिलाइ भएको थियो । ०७१ मा सुरू भएको सडक निर्माण ०७२ मा नेपालमा आएको भूकम्प र त्यसपछिको नाकाबन्दीले गर्दा प्रभावित बनेको थियो । विभिन्न अवरोधका कारण सडक निर्धारित अवधिभन्दा केही ढिलो सम्पन्न भएको थियो ।
चक्रपथ पहिलो खण्डमा देखिएको समस्या दोस्रो खण्डमा नदोहोरियोस् भनेर चीन सरकारले निर्माण सुरू गर्नु पहिले नै निर्माणस्थल खाली गर्न सरकारलाई भनेको थियो । चीन सरकारले निर्माणस्थल खाली भएपछि नै विस्तृत अध्ययन गरेर सडक निर्माण सुरू गर्नेछ ।
निर्माण सुरू भएको तीन वर्षमा सम्पन्न हुने अनुमान गरिएको छ । कोभिड– १९ को संक्रमणका कारण देखाउँदै ४ वर्ष पर धकेलिएको चक्रपथ सडक विस्तार चिनियाँ प्राविधिक आए पछि मात्र अध्ययनको काम सुरू हुने बताइएको छ ।
चिनियाँ टोली अध्ययनका लागि आउने भने पनि पटक पटक कोभिडका कारण नेपाल आउन नसकेको आयोजनाले जनाएको छ ।