काठमाडौं । नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगति कछुवा गतिका छ । विसं २०६६ देखि थालनी भएको निर्माण १२ वर्ष बितिसदा जम्मा ३० किलोमिटर सडक मात्रै कालोपत्रे भएको छ ।
उक्त योजनाको सुरुआत बिन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा कामका लागि ठेक्का भए पनि रुख कटानको प्रक्रियाले काम नै सुरु हुन सकेको छैन ।
कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी र दार्चुलाको तिंकरसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत ४१३ किमी सडक पर्ने धेरै क्षेत्र रुख कटानको अल्झन्मा छ ।
महाकाली करिडोर दार्चुला तिंकर सडक योजनाका इञ्जिनीयर मिलन घतानीले करिडोर निर्माण अन्र्तगत सबैतिर ट्रयाक खोल्ने काम भइरहेको जानकारी दिए । कञ्चनपुरको ब्रह्मदेवदेखि उत्तर डडेल्धुराको जोगबुढा क्षेत्रसम्म १५ किमी ट्रयाक खोल्न गत वर्ष असारमा रु ५ करोड ५० लाखमा ठेक्का सम्झौता भए पनि काम भने हुन सकेको छैन ।
उक्त क्षेत्रको ट्रयाक खोल्ने काम दिवा–शनिदेव जेभीले पाएको थियो । दिवा–शनिदेव जेभीका सञ्चालक देवीदत्त भट्टले रुख कटानको आदेश नभएकाले एक वर्षदेखि आफूले काम गर्न नपाएको गुनासो पोखे । ‘रुख कटानको आदेश आएको भए अहिलेसम्म धेरै काम भइसक्थ्यो,’ उनले भने, ‘अब चाँडै आदेश आउछ भन्नेमा आशावादी हुनेबाहेक अरु केही छैन ।’
करिडोरअन्तर्गत कञ्चनपुर क्षेत्रमा मात्रै १ हजार नौ ५१ रुख कटान गर्नुपर्ने छ । उक्त १५ किमी ट्रयाक विसं २०८० भित्र खोलिसक्नुपर्ने भए पनि निर्माण पक्षले एक जर्ष काम गर्न पाएन् । त्यसैगरी ३० महिनामा निर्माण गरी कञ्चनपुरको हुलाकी सडक दोब्बर समय सकिदा पनि निर्माण अधुरै छ ।
डोके बजारदेखि बेलौरी हुँदै दैजीसम्म ६२ किमी सडक निर्माणका लागि २०७३ फागुनमा निर्माणको जिम्मेवारी दिइएको थियो । तर हालसम्म ३४ किमी सडक मात्रै कालोपत्रे भएको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकृत इन्जिनियर पदमबहादुर मडैले जानकारी दिए ।
उनका अनुसार तीन प्याकेजमा दिइएको ठेक्कामा कुल २८ किमी सडक कालोपत्र गर्न बाँकी छ । निर्माणमा ढिलाई गर्ने ठेकेदार कम्पनीलाई कारबाहीका लागि प्रक्रिया थाल्ने चेतावनी दिइए पनि अन्तः पाँचौं पटक निर्माणको म्याद थप भएको छ । ‘डोकेबजारदेखि बेलौरीसम्मको प्याकेजमा आगामी मङ्सिर र बाँकी दुई प्याकेजमा असारसम्मकै समय दिइएको छ ।’