काठमाडौंको कुन ठाउँमा कति छ जग्गाको भाउ ? (मूल्यसहित)

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय, डिल्लीबजारले आर्थिक वर्ष २०७९/८० का लागि जग्गाको न्यूनतम मूल्यांकन दर सार्वजनिक गरेको छ । कार्यालयले आफ्नो क्षेत्रधिकार भित्र पर्ने काठमाडौंका विभिन्न ठाउँको जग्गाको न्यूनतम मूल्य सार्वजनिक गरेको हो ।

मालपोत कार्यालय डिल्लीबजारका अनुसार काठमाडौंमा जग्गाको मूल्य प्रतिआना ९ लाख ९० हजारदेखि अधिकतम प्रतिआना ६६ लाख रुपैयाँसम्म तोकिएको छ । अब काठमाडौंमा जग्गाको कारोबार गर्दा यही मूल्यका आधारमा कर तिर्नुपर्ने हुन्छ ।

कार्यालयले बाटो नपुगेको जग्गाको मूल्य प्रतिआना ९ लाख ९० हजार रुपैयाँ तोकेको छ भने काठमाडौंको मुटु मानिने दरबारमार्ग, न्यूरोड, इन्द्रचोक, पुतलीसडक, कान्तिपथ लगायत स्थानको जग्गाको मूल्य प्रतिआना ६६ लाख रुपैयाँ मूल्य तोकेको छ ।

यस्तै, मालपोत कार्यालयले गारेटो बाटो भएको स्थानको जग्गाको मूल्य प्रतिआना न्यूनतम १२ लाख १०, हजार, कच्ची मोटरबाटो भएको ठाउँको प्रतिआना १५ लाख ४० हजार रुपैयाँ तोकेको छ ।

मालपोतले तोकेको यो जग्गाको भाउ भने वास्तविक मूल्यभन्दा निकै कम हो । मालपोत कार्यालयले तोकेको मूल्यमा अहिले काठमाडौंको कुनै पनि ठाउँमा जग्गा पाउन सकिँदैन् ।

राजधानीकै मुटु मानिने न्यूरोड, दरवारबार मार्ग लगायतका ठाउँमा अहिले आनाकै २ करोडभन्दा बढीमा जग्गा कारोबार हुने गरेको छ । यस्तै, काठमाडौंका अन्य स्थानमा पनि अहिले आनाको ३० लाखभन्दा कममा जग्गा पाउनै मुस्किल छ ।

कुन ठाउँमा जग्गाको भाउ प्रतिआना कति ?

मालपोत कार्यालयले झन्डै २ दर्जन ठाउँको जग्गाको मूल्य प्रतिआन ६६ लाख रुपैयाँ तोकेको छ । जमल–रानीपोखरी–वीर अस्पताल–नेपाल वायुसेवा निगम–गोश्वारा हुलाक–त्रिपुरेश्वरसम्मको मूलसडकसँग जोडिएका जग्गा, रत्नपार्क–पुरानो बसपार्क–सहीदगेट हुँदै सुन्धारा चोकसम्म र सिहंदरबार पश्चिमगेट हुँदै भद्रकालीसम्म, केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूलबाटोमा जोडिएका जग्गा, हनुमानढोका, जिल्ला प्रहरी कार्यालय, पूर्वसूरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्व विश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटोसँग जोडिएका तथा महेन्द्र सालिकदेखि काठमाडौं प्लाजासम्म मूलसडकको जग्गको भाउ प्रतिआना ६६ लाख तोकेको छ ।

यसैगरी, हनुमानढोका पूर्व नयाँसडक, पुरानो नगरपालिका भवनको दक्षिणचोकबाट जुद्धशमशेर सालिक हुँदै इन्द्रचोकसम्म, न्युरोड पिपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो नगरपालिका भवन चोकसम्म, न्युरोड खिचापोखरी, धरहरासम्मको मूलसडकसँग जोडिएका जग्गाहरुको समेत प्रतिआना ६६ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

यस्तै, महाबौद्ध, इन्द्रचोक, रञ्जनामार्ग क्षेत्रमा ४४ लाख, वीर अस्पताल र ट्रमा सेन्टरबीचको महांकाल मन्दिर निस्कने बाटो क्षेत्रमा ३७ लाख ४० हजार, पुतलीसडक–बागबजार–रत्नपार्कसम्म र कुमारी बैंक चोकदेखि पुरानो बसपार्क हुँदै सभागृह चोकसम्मको मूलसडकसँग जोडिएको जग्गाको ४८ लाख ४० हजार, बालाजु रिङरोडलाई ३३ लाख, नारायणगोपाल चोकदेखि उत्तर सहिद गंगाल हृदयरोग प्रतिष्ठान हुँदै चाबहिल मालपोत क्षेत्रको मूलसडकमा २८ लाख ६० हजार तोकिएको छ ।

यसैगरी, धोबीखोला करिडोरसँग जोडिएका जग्गाहरु २४ लाख २० हजार, कोटेश्वर जडिबुटी चोकदेखि उत्तर पेप्सीकोला चोक हुँदै मनहरा पुलसम्मका मूलसडक क्षेत्रमा २२ लाख र नयाँ बसपार्क क्षेत्रमा प्रतिआना जग्गोको ३९ लाख ६० हजार, शंखमूल क्षेत्रमा २६ लाख ४० हजार, मीनभवन र नयाँ बानेश्वरको भरोसा अस्पताल, कृष्णटावर, बुद्धनगर क्षेत्रलाई २४ लाख २० हजार प्रतिआना तोकिएको छ भने जिल्ला प्रशासन कार्यालय काठमाडौंअगाडिको मूलसडकसँग जोडिएका जग्गाहरुको भने ३९ लाख ६० हजार रुपैयाँ निर्धारण गरेको छ ।

ठाउँ र जग्गाको मूल्य हेर्न यहाँ क्लिक गर्नुहोस् ।

 

स्पञ्ज आइरनमा भन्सार छुटको  प्रभाव : २० अर्बले घट्यो बिलेट आयात, थपिए ठूला उद्योग Read Previous

स्पञ्ज आइरनमा भन्सार छुटको प्रभाव : २० अर्बले घट्यो बिलेट आयात, थपिए ठूला उद्योग

उडेको ६ मिनेटपछि यतिको जहाज पोखरामा अवतरण Read Next

उडेको ६ मिनेटपछि यतिको जहाज पोखरामा अवतरण