काठमाडौं । सरकारले खेतीयोग्य जमिनको खण्डीकरण रोक्नका लागि कडाइ गरे पनि कित्ताकाट भने बढ्दो छ । सरकारले २०७४ देखि जग्गाको कित्ताकाटमा रोक लगाए पनि कानुनी छिद्र प्रयोग गरेर कित्ताकाट गर्ने प्रवृत्ति मौलाएको हो ।
सहरी क्षेत्रमा भएको जनसंख्या वृद्धि, आवास निमार्णको तीव्र आकांक्षा र भूमाफियाको सक्रियताले जमिनको कित्ताकाट बढेको देखिन्छ । खेतीयोग्य जमिनलाई प्लटिङ गरेर टुक्रा–टुक्रा पारी विकी्र गर्ने भूमाफियाहरुका धन्दाले खण्डीकरण मात्र होइन मूल्य पनि उत्तिकै आकाशिएको छ ।
सरकारले खेतीयोग्य जमिनको खण्डीकरण भएको भन्दै त्यसलाई नियन्त्रण गर्न २०७४ साउन २६ मा कित्ताकाटमा रोक लगाएको थियो । त्यत्तिबेला कृषियोग्य जग्गा कित्ताकाट गरी घडेरीका रूपमा विक्री वितरण गर्न नपाइने भनिए पनि भूमाफियाहरुको कारोबार भने निकै मौलाएको थियो ।
त्यसको एक वर्षपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०७५ पुस २७ मा भूमिको वर्गीकरण र उपयोगसम्बन्धी कानुन तर्जुमा नहुन्जेल फर्म, संस्था वा कम्पनीले स्थानीय तहको स्वीकृति लिएर कित्ताकाट गर्न पाउने व्यवस्था गरेको थियो ।
जग्गा कित्ताकाटको लागि फिल्डबुकमा जग्गाको किसिम जे लेखिए पनि स्थानीय तहबाट खेतीयोग्य जमिन होइन भन्ने व्यहोरा आएमा कित्ताकाट गर्न सकिने मन्त्रालयले निर्देशनमा व्यवस्था गरेको थियो । सोही आधारमा टेकेर अहिले जग्गाको खण्डीकरण मौलाउँदै गएको सरकारकै तथ्यांकहरुले देखाएको छ ।
निष्प्रभावी र अस्थिर सरकारको नीतिका कारण बेला–बेलामा भूमाफियाहरु सक्रिय हुने गरेको आवास व्यवसायीहरुले नै बताउने गरेका छन् । अनुत्पादक क्षेत्रमा लगानी बढेको भन्दै बैंक तथा वित्तीय संस्थाहरुलाई रियल स्टेटमा कर्जा प्रवाह गर्न नेपाल राष्ट्र बैंकले कडाइ गरेको थियो ।
बैंकले गत पुसमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घरजग्गाको कर्जामा जोखिम भार बढाएको थियो । तर, यसको विपरीत किनबेचसँगै भूमि टुक्रिनेक्रम दिनानुदिन बढ्दो छ ।
सरकारी अधिकारीहरु भने जग्गा कित्ताकाट बढ्नुको अन्य खास कारण नभएर जनसंख्या वृद्धि र घडेरी खरिद प्चलन रहेको बताउँछन् । जग्गा खरिद विक्री, बकस पत्र, अंशबण्डा, नामसारी, अदालतको फैसला, अधिग्रहण, प्राकृतिक प्रकोप आदि कारणले जग्गाको स्वामित्वमा आंशिक परिवर्तन भएमा जग्गा कित्ताकाट हुने गर्छ ।
९ महिनामै साढे १३ लाख टुक्रा पारियो, चैतमा सबैभन्दा धेरै
चालु आर्थिक वर्षको ९ महिना (साउन–चैत)मा मात्रै जग्गालाई १३ लाख ४३ हजार ६६५ टुक्रा पारिएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार यस अवधिमा ५ लाख ८१ हजार १३४ कित्ता जग्गा टुक्रयाएर साढे १३ लाख टुक्रा पारिएको हो ।

जसमा चैतमा चालु वर्षको सबैभन्दा धेरै जग्गा कित्ताकाट भएको छ । भूमि विभागका अनुसार चैतमा महिनामा ७३ हजार ८०५ जग्गालाई टुक्र्याएर १ लाख ७२ हजार ७९७ टुक्रा बनाइएको छ । यो चालु वर्षकै सबैभन्दा धेरै हो ।
त्यसैगरी, फागुनमा ६८ हजार ९५१ जग्गालाई टुक्र्याएर १ लाख ६१ हजार ७०२ टुक्रा बनाइएको थियो भने माघमा ५६ हजार ९९८ जग्गालाई कित्ताकाट गरी १ लाख ३४ हजार ८९६ कायम बनाइएको थियो ।
विभागका अनुसार साउनमा ७३ हजार १५९ जग्गालाई १ लाख ६५ हजार ७०० टुक्रा, भदौमा ६४ हजार ९४२ जग्गालाई १ लाख ४८ हजार १६८, असोजमा ५५ हजार ४६३ जग्गालाई १ लाख २७ हजार ८०३ टुक्रा पारिएको थियो ।
यस्तै, कात्तिकमा भने चालु वर्षको सबैभन्दा कम ४८ हजार ९३२ जग्गालाई खण्डीकरण गरी १ लाख १० हजार ८३९ कायम गरिएको थियो भने मंसिरमा ६८ हजार ६३६ जग्गा टुक्रा पारी १ लाख ५८ हजार ३१० बनाएको छ । यस्तै, पुसमा ७० हजार २४८ जग्गाको कित्ताकाट गरेर १ लाख ६३ हजार ४५० बनाइएको विभागको तथ्यांकले देखाएकोे छ ।