काठमाडौं । नेपाल राष्ट्र बैंकको कडाइ र तरलता अभावका बाबजूद फागुन महिनामा घरजग्गा कारोबार ह्वात्तै बढेको छ । पुस यता ओरालो लागेको घरजग्गा कारोबार फागुनमा फेरि उकालो लागेको हो ।
भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुन महिनामा ७४ हजार ३६ घरजग्गा किनबेच (लिखत पारित) भएका छन् । यो चालु आर्थिक वर्षको दोस्रो धेरै हो ।चालु वर्षमा साउनमा सबैभन्दा धेरै साढे ७५ हजार घरजग्गा किनबेच भएको थियो ।
पछिल्लो समय बैंकिङ प्रणलीमा चरम तरलता अभाव हुँदा सहजै ऋण नपाउने अवस्था भए पनि घरजग्गा कारोबार भने उकालो लागेको छ । बैंकबाट ऋण नपाउने अवस्था र पाए पनि महँगो ब्याज तिर्नुपर्ने अवस्थामा पनि फागुनमा घरजग्गा कारोबार ह्वात्तै बढेको हो ।
भूमी व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारी विगतमा कोरोना महामारीका कारण बन्द रहेका मालपोत कार्यालयहरू समेत सञ्चालनमा आएकाले किनबेच बढेको बताउँछन् ।
‘विगतमा कोरोनाको त्रासले हाम्रा केही कार्यालयहरू पूर्ण रुपमा सञ्चालनमा आउन सकेका थिएनन् । पछिल्लो समय सबै कार्यालयहरू संञ्चालनमा आएसँगै घरजग्गा कारोबार बढेको हो । अरु खास कारण केही देखिँदैन,’ उनले भने ।
बैंकबाट सहज ऋण नपाउँदा र ब्याज समेत बढ्दा पछिल्लो समय घरजग्गाको मूल्यमा केही गिरावट आएको व्यवसायीहरू बताउँछन् । जग्गाको भाउ केही सस्तिँदा आफूसँग पैसा भएकाहरूले किन्न थाल्दा पनि कारोबार बढेको उनीहरूको भनाइ छ ।
यस्तै, पछिल्लो समय बैंकबाट ऋण नपाए पनि सहकारीहरूले ऋण दिन थालेका छन् । जसले कारोबार बढ्न सहयोग पुगेको देखिन्छ । त्यसैगरी, यसअघि सेयर बजारमा नाफा कमाएकाहरू समेत घरजग्गामा लगानी गर्न थालेको बताइन्छ । यस्तै, अनौपचारिक क्षेत्रबाट आएको पैसा घरजग्गा व्यवसायमा लगानी हुने गरेकाले पनि कारोबार बढ्न सहयोग पुगेको हो ।
रोजाइमा तराईका जिल्लाहरू
विशेषगरी पछिल्लो डेढ दशक यता मुख्यगरी संघीय राजधानी काठमाडौं उपत्यकामा मात्रै फस्टाएको घरजग्गा कारोबार अहिले तराईका जिल्लाहरूमा मौलाउँदै गएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

तराईका मुख्य क्षेत्रहरू झापा, सुनसरी, मोरङ, बाँके, चितवन, धनुषा, जनकपुर, बर्दिबास लगायतका क्षेत्रहरू घरजग्गा किनबेचको हटस्पट बन्दे गएका हुन् । विभागको तथ्यांक अनुसार काठमाडौँ उपत्यकापछि तराई जिल्लाहरूमा घरजग्गाको किनबेच बढेको देखिन्छ ।
विभागको तथ्यांक अनुसार चालु आवको ८ महिनामा सबैभन्दा धेरै घरजग्गा किनबेच हुने १० जिल्लामध्ये ७ जिल्ला तराईका जिल्लाहरू रहेका छन् ।
विकासको निमार्णको अस्थामा रहेका प्रदेशहरूमा मानिसको बाक्लो आवासका बन्दै गएको छ भने, पूर्वाधार विकास, औद्योगीकरण, रोजगारीका अवसर, सडक पूर्वाधारको सुविधा लगायतको विकासले मानिसको ध्यान आकर्षण गरेको देखिन्छ ।
यी हुन् सबैभन्दा धेरै घरजग्गा किनबेच भएका १० जिल्ला
चालु वर्षमा सबैभन्दा धेरै घरजग्गा किनबेच संघीय राजधानी काठमाडौंमा भएको छ । फागुन मसान्तसम्म काठमाडौंको डिल्लीबजार, साँखु, चाबहिल, टोखा, कलंकी र मनमैजु गरी कुल ३७ हजार ३३७ घरजग्गा किनबेच भएको हो ।
काठमाडौंपछि तराईका जिल्लाहरूमा धेरै घरजग्गा कारोबार भएको विभागको तथ्यांक छ । चालु वर्षमा धेरै घरजग्गा किनबेच हुने जिल्लामा मोरङमा दोस्रो स्थानमा रहेको छ । यस अवधिमा मोरङका मालपोत कार्यालयमार्फत ३६ हजार ९२४ घरजग्गा किनबेच भएका छन् । जिल्लाको विराटनगर रंगेली, बेलवारी मालपोत कार्यालयबाट उक्त संख्यामा घरजग्गा किनबेच भएका हुन् ।
त्यसैगरी तेस्रो सर्वाधिक घरजग्गा किनबेच सुनसरीमा भएको छ । सात महिनाको अवधिमा जिल्लाको धरान र इनरुवा मालपोत कार्यालबाट २८ हजार ३६७ घरजग्गा किनबेच भएको विभागको तथ्यांकले देखाउँछ ।
यसैगरी, झापामा दमक र भद्रपुर मालपोत कार्यालयगरी कुल २८ हजार २११, चितवनको खैरहनी, माडी, चनौली गरेर २० हजार ३३३, जनकपुरको धनुषा मालपोत कार्यालय मार्फत १८ हजार ४८८ घरजग्गा किनबेच भएको छ ।
बाँकेको नेपालगञ्ज मालपोत कार्यालयबाट १७ हजार ५५२,बाराको कलैया र सीमराबाट १४ हजार ४२१, ललितपुरको गोटिखेल र लगनखेलबाट १६ हजार ६०८, र भक्तपुरमा १६ हजार ६४२ घरजग्गा किनबेच भएका छन् ।
कुन महिनामा कति घरजग्गा किनबेच ?
विभागका अनुसार चालु वर्षको आठ महिना (फागुनसम्म) कुल ५ लाख २७ हजार ९४९ घरजग्गा किनबेच भएको छ । जसमा साउनमा सबैभन्दा धेरै ७५ हजार ४१७ घरजग्गा कारोबार भएको थियो ।
त्यसैगरी, भदौमा ७० हजार ९०, असोजमा ५९ हजार २२७, कात्तिकमा ५० हजार ८३, मंसिरमा ६९ हजार ४१२, पुसमा ७० हजार १६८, माघमा ५९ हजार ५१६ र फागुनमा ७४ हजार घरजग्गा खरिदविक्री भएको थियो ।