फागुनमा यस वर्षकै दोस्रो धेरै घरजग्गा किनबेच, बैंकले ऋण नदिँदा कहाँबाट आयो पैसा ?

काठमाडौं । फागुन महिनामा घरजग्गा कारोबार ह्वात्तै बढेको छ । मंसिर यता ओरालो लागेको घरजग्गा कारोबार फागुनमा फेरि उकालो लागेको हो

 

भूमी व्यवस्थापन तथा अभिलेख विभागका अनुसार फागुन महिनामा ७४ हजार ३६ घरजग्गा किनबेच (लिखत पारित) भएका छन् । यो चालु आर्थिक वर्षको दोस्रो धेरै हो ।

 

चालु वर्षमा साउनमा सबैभन्दा धेरै साढे ७५ हजार घरजग्गा किनबेच भएको थियो । माघको तुलनामा फागुनमा १४ हजार ५२० वटा बढी घरजग्गा किनबेच भएको हो । फागुनमा किनबेच, रोक्का, फुकुवा गरी कुल १ लाख ६२ हजार ६७८ वटा घरजग्गाको कारोबार भएको विभागले जनाएको छ ।

 

असोज र कात्तिकमा सुस्ताएको घरजग्गा किनबेच मंसिर र पुसमा बढेको थियो । फेरि माघमा ओरालो लागेको कारोबार फागुनमा बढेको विभागको तथ्यांकले देखाएको छ ।

 

विभागका अनुसार चालु वर्षको आठ महिना फागुनसम्म) कुल ५ लाख २७ हजार ९४९ घरजग्गा किनबेच भएको छ । जसमा साउनमा सबैभन्दा धेरै ७५ हजार ४१७ घरजग्गा कारोबार भएको थियो ।

 

त्यसैगरी, भदौमा ७० हजार ९०, असोजमा ५९ हजार २२७, कात्तिकमा ५० हजार ८३, मंसिरमा ६९ हजार ४१२, पुसमा ७० हजार १६८ र माघमा ५९ हजार ५१६ घरजग्गा खरिद विक्री भएको थियो ।

 

बैंकले ऋण नदिँदा पनि कसरी बढ्यो किनबेच ?

 

पछिल्लो समय बैंकिङ प्रणलीमा चरम तरलता अभाव हुँदा सहजै ऋण नपाउने अवस्था भए पनि घरजग्गा कारोबार भने उकालो लागेको छ । बैंकबाट ऋण नपाउने अवस्था र पाए पनि महँगो ब्याज तिर्नुपर्ने अवस्थामा पनि फागुनमा घरजग्गा कारोबार ह्वात्तै बढेको हो ।

 

भूमी व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता कृष्णप्रसाद भण्डारी विगतमा कोरोना महामारीका कारण बन्द रहेका मालपोत कार्यालयहरू समेत सञ्चालनमा आएकाले किनबेच बढेको बताउँछन् ।

 

‘विगतमा कोरोनाको त्रासले हाम्रा केही कार्यालयहरू पूर्ण रुपमा सञ्चालनमा आउन सकेका थिएनन् । पछिल्लो समय सबै कार्यालयहरू संञ्चालनमा आएसँगै घरजग्गा कारोबार बढेको हो । अरु खास कारण केही देखिँदैन,’ उनले भने ।

बैंकबाट सहज ऋण नपाउँदा र ब्याज समेत बढ्दा पछिल्लो समय घरजग्गाको मूल्यमा केही गिरावट आएको व्यवसायीहरु बताउँछन् । जग्गाको भाउ केही सस्तिँदा आफूसँग पैसा भएकाहरुले किन्न थाल्दा पनि कारोबार बढेको उनीहरुको भनाइ छ ।

 

यस्तै, पछिल्लो समय बैंकबाट ऋण नपाए पनि सहकारीहरुले ऋण दिन थालेका छन् । जसले कारोबार बढ्न सहयोग पुगेको देखिन्छ । त्यसैगरी, यसअघि सेयर बजारमा नाफा कमाएकाहरु समेत घरजग्गामा लगानी गर्न थालेको बताइन्छ । यस्तै, अनौपचारिक क्षेत्रबाट आएको पैसा घरजग्गा व्यवसायमा लगानी हुने गरेकाले पनि कारोबार बढ्न सहयोग पुगेको हो ।

 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घरजग्गामा हुने ऋण लगानीलार्ई कडाइ समेत गरेको थियो । तर, त्यसको विपरीत फागुनमा घरजग्गा कारोबारमा उछाल आएको छ ।

 

राजस्व संकलनमा पनि उछाल

 

घरजग्गा कारोबार बढेसँगै राजस्व संकलन पनि बढेको छ । देशभरका विभिन्न मालपोत कार्यालयहरूबाट नामसारी, रोक्का, फुकुवा लगायत कारोबार बढ्दा राजस्व संकलनमा पनि बढेको हो ।

 

माघको तुलनामा फागुन महिनामा ७६ करोड रुपैयाँ बराबरको राजस्व संकलन बढेको छ । माघमा ५ अर्ब ५० करोड रुपैयाँमा सीमित भएको राजस्व संकलन फागुनमा बढेर ६ अर्ब २६ करोड पुगेको विभागले जनाएको छ ।

 

चालु आवको आठ महिनामा घरजग्गा कारोबारबाट सरकारले कुल ५४ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । विभागका अनुसार चालु वर्षमा घरजगग्गा कारोबारबाट भदौमा सबैभन्दा धेरै ८ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

 

त्यसैगरी, साउन र असोजमा समान ७ अर्ब ३३ करोड रुपैयाँ, कात्तिकमा ५ अर्ब ४९ करोड रुपैयाँ र मंसिरमा ७ अर्ब ६ करोड र पुसमा ६ अर्ब ७० करोड रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

 

फागुनमा यी ठाउँमा भएर धेरै घरजग्गा किनबेच

 

यस महिनामा देशभरका मालपोत कार्यालयहरूबाट कुल ७४ हजार घरजग्गाको किनबेच भएको छ । जसमध्ये सबैभन्दा धेरै सुनसरीको भूमि सुधार तथा मालपात कार्यालय इनरुवाबाट ३ हजार २८६ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

 

त्यसैगरी, फागुनमा धेरै जग्गा किनबेच हुने मालपोत कार्यालयहरूमा क्रमशः मालपोत कार्यालय बेलवारी, मोरङ २ हजार ८७२, झापाको मालपोत कार्यालय भद्रपुर २ हजार ७७२, जनकपुर मालपोत कार्यालय धनुषाबाट २ हजार ४९६ र मालपोत कार्यालय बाँकेको नेपालगञ्जबाट २ हजार ४४९ घरजग्गा किनबेच भएका छन् ।

 

त्यसैगरी,मालपोत कार्यालय ललितपुरको लगनखेल २१६७, भक्तपुर मालपोत कार्यालयबाट २०३६,मालपोत कार्यालय काभ्रेपलान्चोकबाट १९३०, मालपोत कार्यालय कलंकी १८३२,चितवन मालपोत कार्यालय १७५८ र मकवानपुर मालपोत कार्यालयबाट १७२२ वटा घरजग्गा किनबेच भएका छन् ।

 

८ मालपोत कार्यालयबाट भएन किनबेच

 

फागुनमा देशभरका १२९ मालपोतमध्ये ८ वटा कार्यालयबाट घरजग्गा सम्बन्धी अन्य कारोबार भए पनि किनबेच भने भएको छैन । विभागका अनुसार फागुनमा मालपोत कार्यालय सर्लाहीको बलरा, सिर्दिवास,मनाङ, बझाङको झोता मालपोत कार्यालय, चन्द्रौटा मालपोत कार्यालय र गरुडा रौतहट मालपोत कार्यालयबाट एउटा पनि घरजग्गा किनबेच भएको छैन ।

 

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् घट्दो बजारमा पनि धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको करेक्शन, यी हुन् घट्दो बजारमा पनि धेरै मूल्य बढ्ने १० कम्पनी

क्रिप्टोकोे अवैध कारोबार, दुई जनाले गरे पौने १० करोड हिनामिना Read Next

क्रिप्टोकोे अवैध कारोबार, दुई जनाले गरे पौने १० करोड हिनामिना