महाधिवेशनले बढायो हवाई यात्रु, भरतपुरमा धमाधम उडान थप्दै एयरलाइन्स कम्पनी

भरतपुर । चितवनमा शुक्रबारदेखि सुरु हुने नेकपा (एमाले)को१०औँ राष्ट्रिय महाधिवेशनका लागि भरतपुर विमानस्थलमा यात्रुको भीड बढ्न थालेको छ ।

 

एमाले नेता तथा कार्यकर्ता विभिन्न जिल्लाबाट चितवन आउने क्रम बढ्न थालेसँगै विमानस्थलमा भीड बढ्न थालेको हो । भरतपुर विमानस्थलका सूचना अधिकारी दीपक विकले विमानस्थलमा बुधबारदेखि भीड बढ्न थालेको बताए।

 

उनले भने, ‘महाधिवेशन नजिकिएसँगै चितवनमा भिआइपी आउने र जाने क्रम बढ्न थालेको छ । विमानस्थलमा पनि भीडभाड बढेको छ ।’

 

बुद्ध एयरका प्रबन्धक भक्त बस्नेतले पनि महाधिवेशनका लागि विमानस्थलमा चहलपहल बढ्न थालेको जानकारी दिए । उनले भने, ‘काठमाडौँमा दैनिक १० उडान, पोखरा र भैरहवामा दुई उडान गरिरहेका छौँ । सबै जहाजमा यात्रु भरिएको छ । यात्रुको सङ्ख्या निरन्तर बढिरहेको छ ।’

 

असोज १ गतेदेखि काठमाडौँबाट यहाँसम्म उडान सुरु गरेको गुण एयरलाइन्सले एमाले महाधिवेशनलाई लक्ष्य गरी बुधबारदेखि पोखरामा पनि उडान सुरु गरेको छ । गुणले यसअघि काठमाडौँका लागि दैनिक तीनवटा उडान गर्दै आएको थियो ।

 

उक्त एयरलाइन्सका स्टेशन इन्चार्ज कुलराज शर्माले सबै विमान काठमाडौँबाट भरिएर आउन थालेको जानकारी दिए । उनले भने, ‘विमानस्थलमा चहलपहल बढेको छ । एमाले महाधिवेशनभरका लागि टिकट अग्रिम बुकिङ गर्नेको सङ्ख्या बढ्दो छ ।’रासस

नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसङ्घद्वारा अनुमोदन Read Previous

नेपाललाई अल्पविकसित देशबाट स्तरोन्नति गर्ने प्रस्ताव राष्ट्रसङ्घद्वारा अनुमोदन

नारायणगढ-बुटवल राजमार्गमा ठूला गाडी चलाउन रोक Read Next

नारायणगढ-बुटवल राजमार्गमा ठूला गाडी चलाउन रोक