सुस्तायो घरजग्गा कारोबार, किन घट्दै छ किनबेच ?

काठमाडौँ । पछिल्लो समय घरजग्गा कारोबार ओरालो लागेको छ । चालु आर्थिक वर्ष वर्षको सुरुका दुई महिना (साउन–भदौ)मा घरजग्गा कारोबारले गति लिए पनि त्यसयता भने सुस्त भएको हो ।

 

गत वर्ष कोरोनाका बाबजूद घरजग्गा कारोबारले ऐतिहासिक रेकर्ड (हालसम्मकै धेरै) बनाएको थियो । चालू आवको दुई महिना सोही गतिमा कारोबार भए पनि असोज यता घट्दो क्रममा रहेको छ ।

 

पछिल्लो समय बैंकिङ प्रणालीमा भएको चरम तरलता अभावको प्रभाव घरजग्गा कारोबारमा पनि परेको घरजग्गा व्यवसायीहरु बताउँछन् । तरलता अभावले सहजै ऋण पाउने अवस्था नहुँदा घरजग्गा किनबेच हुने क्रम पनि घटेको उनीहरुको भनाइ छ ।

 

‘पहिला मानिसले आफूसँग आधा पैसा भए पनि आधा बैंकबाट ऋण गरेर घरजग्गा किन्ने गर्थे,’ नेपाल जग्गा तथा आवास व्यवसायी महासंघका सदस्य विपिन चित्राकारले भने, ‘अहिले बैंकबाट सहजै ऋण पाउने अवस्था छैन । महिनौं कुनुपर्ने अवस्था छ । यस्तोमा आफूसँग पैसा हुने बाहेकले घरजग्गा किन्न सक्ने अवस्था छैन् । त्यसैले कारोबार ह्वात्तै घटेको हो ।’ बैंकबाट सहजै ऋण पाउने अवस्था भए फेरि कारोबारले गति लिने उनको भनाइ छ ।

 

यस्तै, पछिल्लो समय अर्थतन्त्र चलायमान हुँदा व्यक्तिहरुले बैंकमा जम्मा गरेर राखेको पैसा व्यापार व्यवसायमा लगाएकाले पनि कारोबारमा गिरावट आएको आकलन गरिएको छ । साथै, कित्ताकाट बन्द हुँदा भनेजस्तो टुक्रा जग्गा नपाउँदा पनि कारोबार केही घटेको व्यवसायीहरु बताउँछन् ।

 

ओरालो लाग्दै कारोबार

 

चालू आवको साउन र भदौमा घरजग्गा कारोबार बढ्दो क्रममा रहे पनि असोज र कात्तिकमा भने क्रमशः घट्दो क्रममा रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।

विभागका अनुसार चालू आवको साउनमा कुल १ लाख ९० हजार ७९ वटा घरजग्गा सम्बन्धी कारोबार भएकोमा कात्तिकमा आइपुग्दा घटेर १ लाख ६८ हजार ६०९ वटामा सीमित भएको छ । साउनको तुुलनामा घरजग्गाको कारोबार कात्तिकमा २२ हजारले घटेको हो ।

 

साउनमा ७५ हजार ४१७ वटा घरजग्गा किनबेच भएकोमा कात्तिकमा ५९ हजार २२७ वटा किनबेच भएको विभागले जनाएको छ ।

 

विभागका अनुसार भदौमा सबैभन्दा धेरै घरजग्गा कारोबार भएको छ । यस महिनामा कुल २ लाख ३६ हजार घरजग्गा कारोबार भएको छ । सोमध्ये ७० हजार किनबेच, ४७६३ नामसारी,६६ हजार ५५८ रोक्का र ३६ हजार ८२३ को कारोबार फुकुवा गरिएको छ ।

 

त्यस्तै, असोजमा कुल १ लाख ६८ हजार घरजग्गा कारोबार भएको छ । सोमध्ये ५९ हजार २२७ किनबेच, ३ हजार ९८८ नामसारी,५७ हजार ६१८ कारोेबार रोक्का र २९ हजार ८८० फुकुवा भएको छ ।

 

राजस्व पनि घट्दै

 

घरजग्गा कारोबारमा गिरावट आएसँगै राजस्वमा पनि गिरावट आएको छ । चालु आर्थिक वर्षको साउन महिनाको तुलनामा कार्तिकमा १ अर्ब ८४ करोड रुपैयाँले राजस्व संकलन घटेकोे हो ।

 

साउनमा घर जग्गा कारोबार मार्फत कुल ७ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन भएकोमा कात्तिकमा घटेर ५ अर्ब ४९ करोड रुपैयाँमा झरेको छ ।साउनमा सेवाकरबापत ३९ करोड, रजिस्ट्रेशन दस्तुुरबापत ४ अर्ब ७० करोड ३४ लाख रुपैयाँ र पूँजीगत लाभकरबापत २ अर्ब ४ करोड रुपैयाँ राजस्व संकलन भएको थियो भने कात्तिकमा सेवाकर २८ करोड, रजिष्ट्रेशन दस्तुर ३ अर्ब २२ करोेड र पूँजीगत लाभकर १ अर्ब ३ करोड रुपैयाँ भएको विभागको तथ्यांक छ ।

 

विभागका अनुसार भदौमा कुल ८ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको छ । जसमा सेवाकरबापत ४९ करोड ९२ लाख, रजिस्ट्रेशन दस्तुुरबापत ४ अर्ब ७० करोड ८६ लाख र पूँजीगत लाभकरबापत २ अर्ब ७ करोड रुपैयाँ संकलन भएको छ ।

 

त्यसैगरी, असोजामा सेवाकर ४० करोड ५५ लाख, रजिस्ट्रेशन दस्तुुर ४ अर्ब २३ करोड रुपैयाँ र पूँजीगत लाभकर १ अर्ब ७८ करोड गरी कुल ७ अर्ब ३३ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

 

चालू आवको ४ महिनामा घरजग्गा कारोबारबापत कुल २९ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

 

 

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

लघुवित्तले ऋणपत्र जारी गर्न पाउने, यस्ता छन् राष्ट्र बैंकले लघुवित्तलाई गरेका नयाँ व्यवस्था Read Next

लघुवित्तले ऋणपत्र जारी गर्न पाउने, यस्ता छन् राष्ट्र बैंकले लघुवित्तलाई गरेका नयाँ व्यवस्था