काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।
गत जेठ २९ गते मन्त्री नियुक्त भएका मनाङेले असोज १८ गते आफ्नो सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका हुन् ।मन्त्री नियुक्त भएको ६० दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था रहे पनि मन्त्री मनाङेले साढे चार महीनापछि सम्पत्ति विवरण गरेका हुन् ।
मनाङेले बुझाएको सम्पत्ति विवरण अनुसार उनीसँग २२ तोला सुन, ४५ तोला चाँदी रहेको छ । २०५४ सालमा १५ तोला र २०७० मा ७ तोला गरी २२ तोला सुन रहेको विवरणमा उल्लेख । २०५४ मा वैदेशिक रोजगारी र २०७० मा व्यापार व्यवसायबाट सुन प्राप्ति गरेको मनाङेले स्रोत उल्लेख गरेका छन् ।
यस्तै, २०६८ किनेको ४५ तोला चाँदी रहेको छ । उनले सो चाँदी व्यवसायबाट किनेको बताएका छन् । पैतृक सम्पतिका रुपमा मुगाको माला ८३ तोला रहेको उनले उल्लेख गरेका छन् ।
यस्तै, मनाङेसँग साढे १० लाख नगद रहेको उल्लेख गरेका छन् । उनको एभरेष्ट बैंक पोखरामा १० लाख ४९ हजार ५३६ रुपैयाँ मौज्दात देखाएका छन् । उक्त रकम सांसद र मन्त्री हुँदा प्राप्त भएको उनले उल्लेख गरेका छन् ।
यस्तै, मनाङेले आफ्नो सम्पत्तिमा संघर्ष गाईभैंसी प्रालिमा भैंसी २० वटा र गाई ५ वटा रहेको उल्लेख गरेका छन् । त्यसमा ४० प्रतिशत सेयर हिस्सा रहेको बताएका छन् ।
मनाङेले आफ्नो साढे २ करोड ऋण तिर्न बाँकी रहेको उल्लेख गरेका छन् । विभिन्न व्यक्तिसँग विभिन्न समयमा लिएको २ करोड ४० लाख ऋण तिर्न बाँकी रहेको बताएका छन् ।
जग्गा जति अर्काको नाममा
मनाङेले सार्वजनिक गरेको सम्पत्ति विवरणमा आफ्नो नाममा जग्गा नरहेको उल्लेख गरेका छन् । आफ्नो नाममा नभएपनि केही जग्गा अर्कैको नाममा बैनापट्टा गरेको र संयुक्त लगानीमा समेत रहेको उनले बताएका छन् ।
मनाङेले प्रकाश, कृष्ण र श्याम महर्जनको नाममा काठमाडौं-२९ धर्मस्थलीमा क्रमशः कित्ता नम्बर २४, ६७, ७६ को जग्गा रहेको खुलाएका छन् । जग्गा प्रतिआना ९ लाख रुपैयाँमा किनेको उल्लेख गरेका छन् ।
यसैगरी मालती महतारासँगको संयुक्त लगानीमा चन्द्रागिरि-२ मा ३ रोपनी जग्गा रहेको मनाङेले उल्लेख गरेका छन् । पदमपोखरी मकवानपुरमा एक रोपनी ९ आना १० दाम संयुक्त जग्गामध्ये छोराको नाममा १५ आना जग्गा रहेको उनले बताएका छन् ।
यस्तो छ मनाङेको सम्पत्ति विवरण