घरजग्गाबाट उठ्यो इतिहासकै धेरै कर, दैनिक १७०५ घरजग्गा किनबेच

काठमाडौं । गत आर्थिक वर्षमा घरजग्गा कारोबारले नयाँ रेकर्ड राखेको छ । कोरोनाका बाबजूद गत  आर्थिक वर्ष २०७७/७८  देशभरमा ६ लाख २२ हजार १११ वटा घरजग्गा बिनबेच भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ ।

 

गत वर्षमा कारोबार भएको घरजग्गाको संख्या अहिलेसम्मकै धेरै हो । कोरोनाका कारण अन्य क्षेत्रमा लगानीको अवसर नहुँदा व्यसायीले रियलस्टेटमा लगानी गरेको बुझिएको छ । तुलनात्मक रुपमा जग्गामा गरिएको लगानी सुरक्षित हुने भएपछि व्यवसायी यसतर्फ आकर्षित भएको देखिन्छ ।

 

यस्तै, बैंकको ब्याजदर ५ वर्ष यताकै सस्तो हुनु, सेयर बजारमा नाफा कमाएकाहरुले पनि जग्गामा लगानी गर्नु लगायत कारणले कारोबारले रेकर्ड राखेको व्यवसायीहरु बताउँछन् ।

 

विभागको तथ्यांक अनुसार गतवर्ष चैतमा सबैभन्दा धेरै ९१ हजार ४७६ र जेठमा सबैभन्दा कम ३८९ वटा घरजग्गा किनबेच भएका छन । यस्तै, साउनमा ३७ हजार ८३०, भदौमा १५ हजार ८७७, असोजमा ५८ हजार ७८२, कार्तिकमा ३५ हजार ७९८, मंसिरमा ६१ हजार ७१, पुसमा ८० हजार ८३४, माघमा ७९ हजार ३४०, फागुनमा ७३ हजार ६६७, वैशाखमा ४३ हजार ३९० र असार ४८ हजार ८१० घरजग्गा कारोबारको काम भएको छ ।

 

कोरोनाका कारण करिब डेढ महिना देशभरका मालपोत बन्द हुँदा बैशाख र जेठमा कारोबार प्रभावित भएको थियो । गत वर्ष औसतमा दैनिक १७०५ वटा घरजग्गा बिनबेच भएका छन् ।

 

उठ्यो इतिहासकै धेरै कर

 

घरजग्गा कारोबारमा रेकर्ड राखेको वर्ष राजश्व संकलनमा कीर्तिमान बनाएको छ । गत आवमा घरजग्गा कारोबारबाट ५७ अर्ब ६८ करोड ७ लाख ४२ हजार रुपैयाँ राजश्व संकलन भएको छ । यो हालसम्म कुनै आर्थिक वर्षमा संकलन भएको सबैभन्दा धेरै राजश्व हो ।

 

गत आर्थिक वर्षमा जरजग्गा कारोबारबाट प्राप्त हुने राजश्व दोब्बरभन्दा धेरै अर्थात् १०५.७२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो आव २०७६/७७ मा कुल २८ अर्ब २ करोड ८७ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।

 

गत आवमा देशभरका १२६ मालपोत कार्यालयहरूबाट प्रवाह भएका १७ लाख २८ हजार ५२९ सेवामार्फत उक्त राजश्व अशुली भएको हो ।उक्त कर रजिस्ट्रेसन दस्तुर, सेवा शुल्क, वाग्मती सभ्यता शुल्क, पूँजीगत लाभकर लगायत शिर्षकमा संकलन भएको हो ।

 

उपत्यकाका मालपोतबाट मात्रै १९ अर्ब राजश्व

 

विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७/७८ मा उपत्यकाका मालपोत कार्यालयहरूबाट कुल १९ अर्ब १३ करोड ९० लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

 

ललितपुरको लगनखेल मालपोत कार्यालयले सबैभन्दा धेरै ५ अर्ब ३० करोड ९० लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै, काठमाडौंको डिल्लीबजार मालपोतले ४ अर्ब ९ करोड ८० लाख, चाबहिलले ३ अर्ब १३ करोड, कलंकी कार्यालयले ३ अर्ब ४५ करोड ३१ लाख रुपैयाँ र भक्तपुरले गत आवमा ३ अर्ब १४ करोड ९२ लाख रुपैयाँ राजश्व संकलन गरेको विभागको तथ्यांकले देखाएको छ ।

 

यी हुन् उपत्यका बाहिर धेरै राजश्व उठाउने मालपोत

 

उपत्यका बाहिर कास्की, चितवन, विराटनगर, काभ्रे, सुनसरी, पर्सा लगायतका मालपोत कार्यालयहरूबाट सबैभन्दा बढी कारोबार भएको विभागको तथ्यांकले देखाएको छ ।

 

कास्कीले मालपोत कार्यालयले १ अर्ब ६४ करोड रुपैयाँ राजश्व संकलन गरेको हो । चितवन जिल्ला मालपोत कार्यालयबाट १ अर्ब ५५ करोड ६९ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

 

यस्तै, विराटनगरको मोरङ मालपोत कार्यालयबाट १ अर्ब २३ करोड ३७ लाख रुपैयाँ, काभ्रेपलाञ्चोक मालपोत कार्यालयबाट १ अर्ब १७ करोड ५० लाख रुपैयाँ, इनरुवाको सुनसरी मालपोतले १ अर्ब १३ करोड २३ लाख रुपैयाँ राजश्व संकलन भएको छ । पर्सा मालपोत कार्यालयबाट १ अर्ब रुपैयाँ राजश्व संकलन भएको छ ।

 

चलचित्र क्षेत्र डामाडोल, अझै कम्तीमा डेढ वर्ष प्रभावित हुने Read Previous

चलचित्र क्षेत्र डामाडोल, अझै कम्तीमा डेढ वर्ष प्रभावित हुने

सेयर बजारमा करेक्शन, यी १० कम्पनीका लगानीकर्ता भने मालामाल Read Next

सेयर बजारमा करेक्शन, यी १० कम्पनीका लगानीकर्ता भने मालामाल