काठमाडौं । मंगलबार (आज) सेयर लगानीकर्ता नयाँ इन्स्योरेन्स कम्पनीको सेयरमा आकर्षित भएका छन् । पुराना बीमा कम्पनीको तुलनामा सेयर मूल्य कम भए पछि लगानीकर्ता नयाँ कम्पनीको सेयरप्रति आकर्षित भएका हुन् ।
आज लगानीकर्ता केही समय अघि आइपीओ जारी गरेका प्रभु लाइफ, रिलायन्स लाइफ, अजोड र सानिमा जनरल इन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् ।
आज यी सबै कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट अर्थात् भाउ करिब १० प्रतिशतले बढेको छ । यी कम्पनीको सेयर किन्न चाहनेको संख्या ह्वात्तै बढेको छ भने सबै कम्पनीमा विक्री कर्ता शून्य जस्तै थिए ।
लामो समयदेखि भाउ बढ्न नसकेका यी कम्पनीको भाउ आज ह्वात्तै बढेको हो । पुरान बीमा कम्पनीको सेयर मूल्य महँगो भए पछि लगानीकर्ता तुलनात्मक रुपमा सस्तो मूल्य भएका यी कम्पनीको सेयरमा झुम्मिएका हुन् ।
साथै, नयाँ बीमा कम्पनीले पनि पुराना कम्पनीलाई टक्कर दिँदै आक्रमक व्यवसाय विस्तार गर्न सफल भएकाले भोलिका दिनमा यी कम्पनीले राम्रै प्रतिफल दिने आशामा लगानीकर्ता आकर्षित भएका हुन् ।
पछिल्लो दुई साता यता निरन्त दैनिक १० प्रतिशतले बढ्दै आएको प्रभु लाइफको सेयर मूल्य आज पनि १० प्रतिशतले बढेर प्रतिकित्ता ९२४ रुपैयाँ पुगेको छ ।
यस्तै, लामो समय खासै बढ्न नसकेको रिलायन्सको सेयर मूल्य आज एकै दिन १० प्रतिशतले नै बढेर प्रतिकित्ता ७४४ रुपैयाँ पुगेको छ ।
यस्तै, सानिमा जनरल, जनरल र अजोड इन्स्योरेन्सको सेयर मूल्य करिब १० प्रतिशतले नै बढेको छ । यी कम्पनीको सेयर करिब मूल्य ७०० हाराहारीमा रहेको छ ।