रसुवागढी नाकाबाट सामान आयात बढ्दो, १ अर्ब बढी भन्सार अशुली

काठमाडौं । नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने सामग्रीको परिमाण बढेसंँगै भन्सार अशुलीमा क्रमिक सुधार आउन थालेको छ ।

 

कोभिड– १९ का कारण बन्द अन्तरराष्ट्रिय रसुवागढी नाका गत असारदेखि पुनः सञ्चालनमा आएपछि चीनबाट आयात हुने मालसामग्रीको परिमाण केही मात्रामा बढ्न थालेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

 

आयातित सामानको परिमाण बढेसँंगै चालू आर्थिक वर्षको गत साउनदेखि हालसम्म भन्सार शुल्कवापत करिब १ अर्ब राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए । आयात भएका सामग्रीमा जुत्ता, चप्पल, तयारी पोशाक, शिशुका खेलौना, विद्युत्का उपकरणलगायत छन् ।

 

चिनियाँ व्यवसायीले दैनिक ५ ठूलो ट्रेलरमार्फत मितेरी पुलसम्म मालसामग्री ल्याउने गरेको जनाइएको छ । दैनिक स्वास्थ्य परीक्षण एवं सामाजिक दूरीको पालना गराई नेपाली कन्टेनरमा सामान लाद्न र रसुवागढीदेखि टिमुरेमा रहेको भन्सार हातासम्म कन्टेनर ल्याउन मजदूर तथा चालकको व्यवस्था गरिएको भन्सार कार्यालयले जनाएको छ ।

 

सामान लाद्नका लागि ३३ मजदूर एवं कन्टेनर सञ्चालन गर्न १७ चालकको व्यवस्था मिलाइएको छ ।केरूङदेखि रसुवागढीसम्म सामान ढुवानी गर्ने चिनियाँ भन्सार प्रतिनिधिले चर्को भाडा असुल्ने गरेका कारण व्यवसायी मर्कामा परेको गुनासो बढेको छ ।

 

रसुवागढी नाका पुनःसञ्चालनमा आएसंँगै चिनियाँ ढुवानीकर्ताले कायम गरेको केरूङदेखि रसुवागढीसम्मको भाडादर पछिल्लो समयमा भारी मात्राले वृद्धि गरेको हुँदा पुनरवलोकनका लागि पहल गरिदिन सम्बन्धित निकायसमक्ष आग्रह गरिएको स्थानीयवासी सुनामवाङ्दी तामाङले बताए ।

फूडमाण्डूले १० वटा स्टार्टअप कम्पनीसँग सहकार्य गर्दै Read Previous

फूडमाण्डूले १० वटा स्टार्टअप कम्पनीसँग सहकार्य गर्दै

सेयर बजार साढे ३ वर्ष यताकै उच्च विन्दुमा, यी ६ कम्पनीका लगानीकर्ता भए मालामाल Read Next

सेयर बजार साढे ३ वर्ष यताकै उच्च विन्दुमा, यी ६ कम्पनीका लगानीकर्ता भए मालामाल