घरजग्गा किन्नेबेच्ने भन्दा ऋण लिन रोक्का गर्ने धेरै, ३ महिनामै उठ्यो साढे ४ अर्ब राजश्व
चाणक्य पोष्ट
प्रकाशित : 12:12 pm, शुक्रबार, कात्तिक १४, २०७७

काठमाडौं । पछिल्लो समय घरजग्गा किनबेच गर्नेभन्दा रोक्का गर्नेको संख्या बढेको पाइएको छ । लकडाउन हटेसँगै क्रमशः अर्थतन्त्र चलायमान हुन थालेपछि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनका लागि घरजग्गा रोक्का गर्नेको संख्या बढेका हुन् ।

 

कोरोनाका कारण लामो समय ठप्प रहेको उद्योगधन्दा, व्यापार व्यवसाय सञ्चालनका लागि थप पूँजी जुटाउन बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनका लागि घरजग्गा रोक्का गर्ने क्रम बढेको हो । पछिल्लो समय ऋण लिएर नयाँ घरजग्गा किन्ने भन्दा घरजग्गा धितो राखेर ऋण लिनेको संख्या बढेको बैंकरहरु बताउँछन् ।

 

कोरोनाका कारण लामो समय ठप्प रहेका उद्योगधन्दा, व्यापार व्यवसाय सञ्चालनका लागि थप पूँजी जुटाउन बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनका लागि घरजग्गा रोक्का गर्ने क्रम बढेको हो ।

 

भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षको ३ महिनामा १ लाख ७० हजार घरजग्गा सम्बन्धी कारोबार भएको छ । असोज मसान्तसम्ममा कुल ५६ हजार ८३८ वटा घजग्गा किनबेच भएका छन् भने ५८ हजार ४७१ वटा घरजग्गा कारोबार रोक्का गरिएको छ । यस्तै, यस अवधिमा ३३ हजार ७८० घरजग्गा फुकुवा, ३ हजार ४८३ घरजग्गाको नामसारी, ४ हजार ५२ वटा संशोधनका कामहरु भएको विभागको तथ्यांकले देखाएको छ ।

 

विभागका सूचना अधिकारी विष्णुकुमार महतका अनुसार पछिल्लो समय घरजग्गा किनबेच भन्दा रोक्का/फुकुवा गराउने संख्या बढ्न थालेको छ । उनले उपत्यका भित्र विशेषगरी घरजग्गा रोक्का हुने क्रम बढेको बताए । ‘अहिले घरजग्गा किन बेच कमै छ, तर ऋण लिनका लागि धितो राख्न रोक्का गर्नेको संख्या भने दिनदिनै बढ्दै गएको छ,’ महतले भने ।

 

उनका अनुसार उपत्यकामा मात्रै असोजमा ६ हजार ९०८ घरजग्गा किनबेच भएको छ भने ७ हजार ४१८ घरजग्गा किनबेचमा रोक्का गरिएको छ ।

 

चालू आर्थिक वर्षको ३ महिना (साउन-असोज) मा भूमि कारोबार मार्फत ४ अर्ब ४२ करोड ३० लाख रुपैयाँ राजश्व संकलन भएको छ । विभागको तथ्यांक अनुसार चालू आवमा २ अर्ब ९१ करोड ५२ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको छ । १ अर्ब २२ करोड २१ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको हो ।

 

चालू आवको पहिलो त्रैमासिकमा उपत्यका भित्र मात्र २ अर्ब ३ करोड ५ लाख रुपैयाँ राजश्व संकलन भएको छ । घरजग्गा कारोबारका क्रममा उपत्यका भित्र १ अर्ब ३३ करोड ६८ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन गरिएको छ भने कुल ६४ करोड ७ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ ।

 

ललितपुरमा मात्र ४४ करोड ९ लाख रुपैयाँ राजश्व संकलन भएको छ । ललितपुर क्षेत्रमा घरजग्गा कारोबारबाट २८ करोड ७८ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको थियो । १५ करोड ५६ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो ।

 

भक्तपुरबाट मात्र ३२ करोड ६६ लाख रुपैयाँ कुल राजश्व संकलन भएको छ । घरजग्गा कारोबारका क्रममा २० करोड २१ लाख रुपैयाँ रजिष्ट्रेशन दस्तुर संकलन भएको थियो भने पूँजीगत लाभकर ११ करोड ४६ लाख रुपैयाँ संकलन भएको थियो ।

 

गत आर्थिक वर्ष २०७६/७७ मा कुल ३४ अर्ब ६८ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । सो आवमा ४ अर्ब १२ करोड १२ लाख रुपैयाँ पूँजीगत लाभकर संकलन भएको थियो भने रजिष्ट्रेशन मार्फत ९ अर्ब ९५ करोड २८ लाख रुपैयाँ संकलन भएको थियो ।

 

उपत्यका भित्र गत आव २०७६/७७ मा घरजग्गा कारोबारका क्रममा १४ अर्ब ३३ करोड रुपैयाँ राजश्व संकलन भएको थियो । आर्थिक वर्ष २०७५/७६ मा अनलाइन जडान भएका मलपोत कार्यालयहरूबाट कुल २६ अर्ब ३० करोड ६० लाख रुपैयाँ कूल राजश्व संकलन भएको थियो । सो आवमा रजिष्ट्रेशन दस्तुर मार्फत २३ अर्ब १८ करोड ३६ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।

 

अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा कुल ३६ अर्ब ९ करोड ५४ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन भएको थियो । रजिष्टेशन दस्तुरतर्फ २३ अर्ब १८ करोड ६६ लाख ७३ हजार रुपैयाँ संकलन भएको थियो ।देशभरका १३१ वटा मालपोत कार्यालय मध्ये हालसम्म १०९ मालपोत कार्यालय डिजिटलाइज गरिएको छ ।

 

Advertisement Section