घरजग्गा कारोबारले गति लिँदै, किनबेच गर्नेभन्दा रोक्का गर्ने धेरै

"१५ दिनमै उठ्यो १ अर्ब ३२ करोड राजश्व"

काठमाडौं । सरकारले लकडाउन खुकुलो बनाएसँगै जरजग्गा कारोबारले पनि गति लिन थालेको छ । असार १ गतेदेखि मालपोत कार्यालय खुलेपछि सेवाग्राहीको भीड बढ्न थालेको छ ।

 

मालपोत कार्यालयहरुबाट अत्यावश्यक कामहरुलाई सुचारु गरिएको भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक भरत गौतमले बताए । मालपोत कार्यालयमा धेरै भीड नहोस भनेर अत्यावश्यक कारोबार गरिने बताइए पनि पछिल्लो समय मालपोत कार्यालयहरुमा धेरै भीडभाड बढ्न थालेको उनको भनाइ छ ।

 

उनका अनुसार देशभरका मालपोत कार्याललयमा लिखत पारित, नामसारी, संशोधन, हाल साविक, रोक्का फुकुवा लगायतका कामका लागि सेवाग्रही आउने गरेका छन् ।

 

लकडाउन खुकुलो भएसँगै बैंक तथा वित्ती संस्थाको ऋण तिर्न तथा उद्योग संचालनका लागि ऋण लिने बढेपछि घरजग्गा रोक्का गर्नेको संख्या पनि बढेको बताइएको छ ।

 

विभागका अनुसार यस अवधिमा घरजग्गा किनबेच गर्नेभन्दा रोक्का गर्ने धेरै भएको धेरै रहेका छन् ।  साे अविधमा घरजग्गाको किनबेच भए पनि त्यसकाे संख्या न्यून मात्रमा रहेको विभागले जनाएको छ ।

 

देशभरका मालपोत कार्यालयबाट घरजग्गा सम्बन्धी ३९ हजार ८३८ वटा कारोबार भएकोमा ११ हजार ९१२ घरजग्गा रोक्का गरिएको छ । लकडाउन खुकुलो भएसँगै बैंक तथा वित्ती संस्थाको ऋण तिर्न तथा उद्योग संचालनका लागि ऋण लिने बढेपछि घरजग्गा रोक्का गर्नेको संख्या पनि बढेको बताइएको छ ।

 

लकडाउनको साढे २ महिना ठप्पै रहेको घरजग्गाको कारोबार पनि क्रमशः बढ्दै गएको विभागको भनाइ छ । अहिले यस अघि बैना गरिसकेका व्यक्तिहरुले घरजग्गा पास गर्ने गरेका छन् भने नयाँ घरजग्गा किनबेच पनि हुन थालेको गौतमले बताए ।

 

‘लकडाउनका बेला ठप्पै रहेको व्यावसायले अहिले गति लिन थालेको छ,’ साँखु क्षेत्रमा घरजग्गा किनबेच गराउँदै आएका एक व्यक्तिले भने, ‘पहिला दिनदिनै घर, जग्गा खोज्ने मानिस आउने भए पनि अहिले फाट्टफुट्ट मान्छेहरु घरजग्गा खोज्न थालेका छन् ।’

 

१५ दिनमै उठ्यो १ अर्ब ३२ करोड राजश्व

 

सेवाग्राहीको भीड बढेसँगै राजश्व संकलन समेत बढेको छ । विभागका अनुसार असार १ गतेदेखि यताको १५ दिनमा मात्रै १ अर्ब ३२ करोड ४५ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

 

विभागका अनुसार १५ दिनमा रजिष्ट्रेशन दस्तुर मार्फत ७६ करोड ६३ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन भएको छ । त्यस्तै, पूँजीगत लाभकर अन्तर्गत २९ करोड ७७ लाख २० हजार रुपैयाँ संकलन भएको छ ।

 

चाबहिल मालपोत कार्यालय प्रमुख कलक बहादुर खड्काका अनुसार मालपोत कार्यालय खुलेका केही दिनमा कारोबार गर्ने कम भए पछि २/३ दिनपछि कारोबारको संख्या बढेको उनले बताए ।

 

पछिल्लो समय मालपोत कार्यालयमा लिखत कारोबार गर्ने बढी भएकाले राजश्व संकलन बढ्न थालेको उनको भनाइ छ । ‘लिखत र रोक्काको कारोबार बढेकाले अलि राजश्व बढी उठेको हुन सक्छ,’ खड्काले चाणक्य पोष्टसँग भने ।

 

यस अवधिमा उपत्यकामा सबैभन्दा धेरै घरजगग्गा सम्बन्धी काम भएको पाइएको छ । विभागको तथ्यांक अनुसार उपत्यकाका मालपोत कार्यालयबाट मात्रै कुल ५३ करोड ४० लाख ७९ हजार रुपैयाँ राजश्व संकलन भएको छ । सो अवधिमा सबैभन्दा धेरै कलंकी मालपोत कार्यालयले ९ करोड ९१ लाख ५२ हजार रुपैयाँ राजश्व संकलन गरेको हो । डिल्ली बजार मालपोत कार्यालयबाट ८ करोड ११ लाख ९९ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

 

त्यस्तै, चाबहिल मालपोत कार्यालयबाट ७ करोड ५० लाख ५० हजार रुपैयाँ राजश्व संकलन भएको छ । साँखु मालपोत कार्यालयबाट २ करोड ५८ लाख ६ हजार रुपैयाँ राजश्व संकलन भएको छ ।

 

यस अवधिमा देशभरका मालपोत कार्यालयहरुबाट १५ हजार ५८ लिखत पारित, ४७२ वटा नामसारी, ६१५ वटा हाल साविक, ११ हजार ९१२ रोक्का, ७ हजार ३३६ वटा फुकुवा भएका छन् । यस्तै, ५३ वटा अपार्टमेन्टको लिखत पारित, २१ मोहियानी नामसारी, ९४ वटा मोही लगतकट्टा, ५१ वटा जग्गा बाँडफाँडको काम भएको छ ।

गरिमा विकास बैंकले असारको ब्याज पूरै छुट दिने Read Previous

गरिमा विकास बैंकले असारको ब्याज पूरै छुट दिने

काठमाडौंमा २८ सहित थप ४७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या साढे १४ हजार नाघ्यो Read Next

काठमाडौंमा २८ सहित थप ४७३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या साढे १४ हजार नाघ्यो